१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडौं
२०७९ बैशाख १८ आइतबार १०:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडपछि तंग्रिदै हेलिकोप्टर व्यवसाय 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७९ बैशाख १८ आइतबार १०:०१:००

पर्यटक बढेपछि ६० प्रतिशत व्यवसाय ‘रिभाइभ’ 

वसन्त ऋतुको आगमनसँगै सुरु भएको पर्यटकीय सिजनमा कोभिड महामारीले थलिएको हेलिकोप्टर व्यवसाय तंग्रिन थालेको छ । कोभिडअघिको तुलनामा हेलिकोप्टर व्यवसाय करिब ६० प्रतिशतले रिभाइभ भएको नेपाल वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले बताए । 

कोभिडले सुस्ताएको व्यवसायमा ‘स्प्रिङ सिजन’ले आशा जगाइदिएको उनको भनाइ छ । हेलिकोप्टरको उडान संख्या ६० प्रतिशत रिभाइभ भए पनि नाफा भने बढ्न नसकेको महासचिव कार्कीले बताए । ‘कोभिडअघि ६६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अहिले एक सय ५६ रुपैयाँ पुगिसकेको छ, हेलिकोप्टर उडाउँदा ४० प्रतिशत लागत तेलको मात्रै हुन्छ,’ उनले भने, ‘तेलको मूल्य अढाई सय प्रतिशतसम्म बढिसक्दा पनि पहिलेकै भाडामा यात्रु बोक्नुपर्दा आम्दानी हुन सकेको छैन ।’ 

यस वर्ष पर्यटन विभागबाट २५ हिमाल आरोहणका लागि ७३ देशका आठ सय ८६ आरोहीहरूले अनुमति लिइसकेका छन् । उनीहरू काठमाडौं हुँदै गन्तव्यतिर लागिरहेका छन् । पछिल्लो समय दैनिक दुई हजार पर्यटक आइरहेको बताइन्छ । मार्च महिनामा ४२ हजार पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । त्यसमाथि स्थानीय तहको चुनाव पनि नजिकै आइसकेको हुँदा नेताहरूले हेलिकोप्टर प्रयोग गर्न थालेका छन् । 

सोही कारण पनि व्यवसायमा धेरै सुधार भइरहेको र सुधारोन्मुख अवस्थामा रहेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे बताउँछन् । उनले पनि महँगो तेलका कारण उडानमा नाफा निकाल्न मुस्किल परिरहेको बताए । ह्वात्तै बढेको तेलको मूल्यले उडान लागत बढाएको उनको भनाइ छ ।

अहिले ११ कम्पनीका ३३ वटा हेलिकोप्टरले सेवा दिइरहेको पाण्डेले बताए । फिस्टेल एयर, एयर डाइनेस्टी, अल्टिच्युड एयर, हेली एभरेस्ट, कैलाश हेलिकोप्टर, मनाङ एयर, प्रभु हेलिकोप्टर, श्री एयर, सिम्रिक एयरलगायत कम्पनीले हेलिकोप्टर सेवा प्रदान गर्दै आइरहेका छन् । ‘दुई वर्षमा खासै व्यापार नभए पनि अहिले बढेको छ, स्प्रिङ सिजन छोटो हुन्छ, मे सेकेन्ड विकदेखि पर्यटक आउन कम हुन्छ,’ महासचिव कार्कीले भने, ‘आगामी अटम सिजनमा पनि पर्यटकको बढ्दो ट्रेन्ड कायम रह्यो भने हामीले पक्कै राहत पाउनेछौँ ।’ अहिले आएका पर्यटक र भइरहेको बिजनेसले दुई वर्षको घाटा धान्न नसक्ने उनको भनाइ छ । उनका अनुसार अहिले पनि हेलिकोप्टर फुल फ्लेज उड्न पाएका छैनन् । अहिले धेरै हेलिकोप्टर हिमाली भेग र पोखरामा पर्यटक बोक्न व्यस्त रहेको उनले बताए । 

अहिले नेपालमा हिमाल आरोहण गर्ने र भारतीय धार्मिक पर्यटक बढी आइरहेका छन् । भारतमा ‘स्कुल होली डे’ सुरु भएको हुँदा भारतीय पर्यटक धेरै आएको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहको भनाइ छ । यस्तै, अमेरिका, युके, बंगलादेशलगायत मुलुकबाट पनि पर्यटक आगमन बढ्दै छ । महासचिव कार्कीले भने, ‘फेरि कुनै समस्या आएन भने पर्यटक बढ्ने संकेत देखिएको छ ।’ 

स्थानीय तहको निर्वाचन नजिकै आइपुगे पनि हेलिकोप्टर व्यवसायमा खास प्रभाव नपरेको वायुसेवा सञ्चालकहरूले बताए । अहिले निर्वाचनलाई भनेर हेलिकोप्टर बुकिङ नगण्य रहेको उनीहरूको भनाइ छ । ‘भर्खर उम्मेदवारको मनोनयन दर्ता भएको छ, चुनावको चहलपहल पनि बढ्दै छ,’ उनले भने, ‘अहिलेसम्म हेलिकोप्टर चढेर हिँड्ने नेताहरू निकै कम छन्, हेलिकोप्टर बिजनेसमा अझै चुनाव लागिसकेको छैन ।’ त्यसो त हेलिकोप्टर सञ्चालकलाई नेता बोक्नभन्दा पर्यटक बोक्न नै लाभदायक छ । चुनाव र पर्यटकीय सिजन पनि एकैपटक परेको छ । कुनै नेतालाई बोकेर एक घण्टाका लागि गए पनि कार्यक्रम समयमा नहुँदा तीन–चार घण्टासम्म कुर्नुपर्ने हुन्छ । त्यसैले नेतालाई बोक्न त्यति लालायित नहुने हेलिकोप्टर सञ्चालकको भनाइ छ ।