पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुईजनाले मनोनयन फिर्ता लिएका छन्। यसअघि मेयरमा उम्मेदवारी दिएका नन्दुप्रसाद तिवारी र ऋषिराम सापकोटाले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन फिर्ता लिएका हुन्।
मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरूको कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए। त्यस्तै तिवारीले भने कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरूको दायित्व भएको बताए।