१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एङ्स रोक्सबर्ग
२०७९ बैशाख १६ शुक्रबार ०८:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सशस्त्र अनुदानले युक्रेन युद्ध अन्त्यमा सघाउँदैन 

युक्रेनलाई ठूलो परिमाणमा हतियार उपलब्ध गराएर पश्चिमी नेताहरूले द्वन्द्वलाई लम्ब्याइराखेका छन्, जब कि वार्ता यो समस्या समाधानको उत्तम उपाय हो

Read Time : > 2 मिनेट
एङ्स रोक्सबर्ग
२०७९ बैशाख १६ शुक्रबार ०८:०४:००

युक्रेनले न्यायसंगत युद्ध लडिरहेको छ भन्नेमा पश्चिममा कमैले मात्र आशंका गरेका होलान् । युक्रेनले कुनै आक्रामक व्यवहार नगरी रुसले उसमाथि आक्रमण गर्‍यो । नेटो पूर्वतर्फ फैलिँदै गएको वा युक्रेनले डोनबास क्षेत्रका रुसीभाषीमाथि दुव्र्यवहार गरेकामा रुसी गुनासो रहे पनि युक्रेनले रुसमाथि आक्रमण गरेको थिएन । न त उसको त्यस्तो योजना नै थियो । भ्लादिमिर पुटिनको आक्रामकता र विस्तारवादी मानसिकता नै यस युद्धको कारण बन्यो । युक्रेनमाथि अन्याय भएको भन्दै युक्रेनलाई सघाउनुपर्छ भन्ने भाष्य पश्चिममा बलियो छ । तर, युक्रेन राष्ट्रलाई बचाउन कुन प्रकारको सहयोग दिनु (वा नदिनु) सही हो भन्ने स्पष्ट भइसकेको छैन । यो युद्ध जति लामो समयसम्म चल्छ, त्यति नै थप युक्रेनी तिनको मातृभूमि छाडेर भाग्न बाध्य हुनेछन् । साथै, तिनको घर, सहर, उद्योग र अर्थतन्त्रको विनाशको स्तर बढ्दै जानेछ । 

युक्रेनलाई समर्थन गर्ने वर्तमान पश्चिमी रणनीतिको केन्द्रमा आक्रमणकारी शक्तिलाई हराउने उद्देश्य देखिन्छ । यसका लागि युक्रेनमा ठूलो परिमाणमा हतियार सहयोग दिइँदै छ । तथापि, पश्चिमले रुससँगको प्रत्यक्ष सैन्य मुठभेड पन्छाउन सावधानीपूर्ण कदम चालिरहेको छ । यस रणनीतिले युद्ध लम्ब्याउने निश्चित छ । रुसको सैन्य प्रगति सुस्त हुन सक्ला, तर उसलाई पूर्ण रूपमा रोक्न सकिने सम्भावना कम छ । उसलाई युक्रेनबाट बाहिर धकेल्न सक्ने सम्भावना त झनै कम छ । यस्तोमा पश्चिमी हतियार सहयोगले युक्रेनभित्र विनाश र युद्ध अपराध बढाउन मात्र सघाउँछ । हिजोआज कोही न कोही पश्चिमी शीर्ष राजनीतिज्ञले युक्रेन ‘सफल’ हुनेछ र रुस ‘हारिरहेको छ’ नभनेको दिन हुँदैन । यो पक्कै पनि मनोबल बढाउने प्रयास होला, तर साथमा यो उत्तिकै बकवास पनि हो । यथार्थ के हो भने दिन बित्दै जाँदा थप नगर र सहर रुसी कब्जामा आउनेछन् । 

गत दुई महिनामा रुसी नियन्त्रणमा रहेको भूभाग झन्डै पाँच गुणाले बढ्यो । युद्धअघि दोनबासका केही भागमा मात्र रुसी नियन्त्रण थियो । यदि रुसले यही गतिमा ‘पराजय’को सामना 

गरिरह्यो भने अर्को दुई महिनामा युक्रेनका सम्पूर्ण दक्षिण भेग ध्वस्तप्रायः हुनेछन् । ओडेसाजस्ता सहर मारिउपोलजस्ता बन्नेछन् । हजारौँ हजार युक्रेनी जनता मर्नेछन् । अझ दुःखद के हुनेछ भने युद्ध जारी रहँदा र थप सहरहरू ध्वस्त भएपछि देश छाडेर भागेका युक्रेनी देश फर्किने सम्भावना कम हुँदै जान्छ । हुन पनि उनीहरूले फर्केर जाने घर वा कार्यस्थल नै बाँकी रहनेछैनन् । मारिउपोलका कति नागरिक फर्केलान् ? यदि रुसको उद्देश्य युक्रेनलाई ध्वस्त पार्ने थियो भने पश्चिमले अपनाएको रणनीतिले उसलाई मद्दत गरिरहेको छ ।

निःसन्देह, युक्रेनी जनताको जीवनप्रति पश्चिमी मुलुक साँच्चै चिन्तित छ भने तिनले पहिले युद्ध रोक्न तत्काल पहल गर्नुपर्छ । युक्रेनीलाई जसरी पनि युद्धलाई निरन्तरता दिन प्रोत्साहन गर्नु तिनको देश नष्ट गराउन सघाउनु हो । युक्रेनमा जारी युद्धलाई छिट्टै रोक्ने दुइटा मात्र उपाय छन्, जुनमध्ये कुनै पनि धेरै पश्चिमी नेतालाई रुचिकर नलाग्न सक्छ । एउटा उपाय, युद्धमा नेटोको प्रवेश गराउने र रुसको आक्रमणकारी फौजलाई निस्तेज बनाउने गरी द्रुत, ठूलो र निर्णायक हमला गर्ने । रुसको आक्रमणविपरीत अन्तर्राष्ट्रिय कानुनअन्तर्गत नेटोलाई त्यस्तो कदम उठाउने अधिकार छ ।

पुटिनले सिरियाली गृहयुद्धमा सहभागिता जनाउने वेलामा उनले आफूसँग सिरियाको वैध र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले सहयोग मागेको तर्क दिएका थिए । पश्चिमले युक्रेनमा पनि त्यस्तै गर्न सक्छ । पुटिनसँग त्यसवेला कुनै तर्क बाँकी रहनेछैन । तर, यस्तो संलग्नताको एक स्पष्ट जोखिम छ, तेस्रो विश्वयुद्ध सुरु हुने सम्भावना । यसैले, पश्चिमले प्रत्यक्ष हस्तक्षेप गर्न अस्वीकार गरिरहेको छ । अर्को विकल्प रुसलाई विस्तृत शान्तिवार्तामा निम्तो दिएर तत्काल युद्धविराम लागू गर्न पुटिनलाई मनाउनु हो । पश्चिमी नेताहरू पुटिनसँग वार्ता गर्न इच्छुक छैनन् भनिरहेका छन् । तर, तिनले विगतमा सर्बियाली नेता स्लोबोदान मिलोसेभिकसँग वार्ता गरेको दृष्टान्त छ, त्यो पनि स्रेब्रेनिकाको नरसंहारको केही महिनापछि नै । वार्ताको परिणामस्वरूप डेटन सम्झौता भयो, जसले सन् १९९५ मा बोस्नियामा जारी युद्ध अन्त्य गर्‍यो ।

पुटिनलाई वार्ताको टेबुलमा ल्याउन, सबै विषयमा छलफल खुला हुनुपर्छ । यसमा युक्रेनको सिमाना, रुसको वर्षौं पुरानो सुरक्षा चिन्ता पनि पर्छन् । साथमा हिजो सोभियत संघ रहँदाको समयका उसका आन्तरिक सिमानामा नयाँ व्यवस्था गर्नेबारे बहस गर्न सकिन्छ । वार्ताको नतिजा पूर्वनिर्धारित हुनु आवश्यक छैन । महत्‍वपूर्ण कुरा लडाइँलाई वार्तामा बदल्ने भन्ने हो । 

पश्चिमी नेताहरू यी मुद्दामा छलफल गर्ने कष्ट उठाउन तयार देखिँदैनन् । किनकि यसले बलपूर्वक नक्सा बदल्ने प्रयास गरेका पुटिनलाई सही देखाउने सम्भावना बढ्छ । पश्चिमी नेताहरू बरु लड्न चाहन्छन्, अझ सही रूपमा भन्ने हो भने युक्रेनलाई लडिरहन सहयोग गर्न चाहन्छन् । युद्धमा रुस कतै हारि पो हाल्छ कि भन्ने तिनमा थोरै आशा पनि छ । तर, पुटिनले पराजय स्विकार्ने सम्भावना अहिले नै देखिँदैन । किनकि, उनी यस युद्धमा यति धेरै फसिसकेका छन् कि उनी केही न केही जित देखाउने कुरा नभई पछाडि फर्किनेछैनन् । यदि पश्चिमी नेताहरूले युक्रेनमा ठूलो परिमाणमा हतियार पठाएर युक्रेनी सेनालाई जिताउन सकिन्छ भन्ने सोच्छन् भने तिनले पुटिनको मनसाय र संकल्पलाई बुझ्न सकिरहेका छन् । युक्रेनको भलाइका लागि पश्चिमले पुटिनलाई कुनै न कुनै तरिकाले रोक्नुपर्छ । अन्यथा, बचाउन चाहेको देश नै बाँकी नरहन सक्छ । द गार्जियनबाट