मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १५ बिहीबार ११:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रको बाह्य क्षेत्र सुधार गर्न थप उपाय अपनाउँछौँ : गभर्नर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १५ बिहीबार ११:०९:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी सन्तुलन कायम गर्न तथा विदेशी विनिमय सञ्चिति बढाउन थप उपाय अपनाइने बताएका छन् । राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको चाप अझै केही समय कायम रहने भन्दै त्यसलाई सुल्झाउन नीतिगत उपाय अवलम्बन गरिने बताएका हुन् । 

‘आर्थिक पुनरुत्थानको क्रममा कर्जा प्रवाह र आयात बढ्न गई शोधनान्तर घाटा बढ्दै जाँदा विदेशी विनिमय सञ्चितिमा चाप परेको स्थिति छ, जुन अझै केही समय कायम रहन सक्छ,’ उनले भने, ‘यसैलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिति पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको छ, बाह्य क्षेत्रको अवस्था हेरी यसको स्थायित्वका लागि आगामी दिनमा थप उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ ।’

अर्थतन्त्र पुनरुत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरुवाती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण शोधनान्तर स्थिति घाटामा रहन गएको उनले बताए । उक्त घाटा क्रमशः बढ्दै गएकाले विदेशी विनिमय सञ्चिति घट्न गएको उनको भनाइ छ ।

विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई कम गर्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न समीक्षा अवधिमा विभिन्न नीतिगत प्रयास गरिएको उनले जानकारी दिए । बाह्य क्षेत्र स्थायित्वका लागि बैंकिङ प्रणालीमार्फत आएको रेमिट्यान्सको निक्षेपमा एक प्रतिशत बिन्दुले बढी ब्याज दिने, केही वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने, गैरआवासीय नेपाली र उनीहरू संलग्न विदेशी संस्थालाई विदेशी मुद्रामा निक्षेप खाता खोल्न सहजीकरण, विदेशी लगानी तथा विदेशी मुद्रा आप्रवाहलाई सहजीकरण गर्न ‘विदेशी लगानी तथा विदेशी विनिमय व्यवस्थापन विनियमावली, २०७८’ जारी, विदेशी मुद्राको नन्डेलिभरेबल फरवार्ड कारोबारको सीमा घटाउने, चाँदी आयातका लागि विदेशी मुद्रा सटही सीमा तोक्ने, सुन आयातको कोटा घटाउनेलगायत कार्य गरिएको उनले बताए । 

राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले अर्थतन्त्र दुर्घटाउन्मुख भएको बताउँदै त्यसलाई सबै मिलेर रोक्नुपर्ने बताएका छन् । राष्ट्र बैंकको वार्षिकोत्सवमा बोल्दै रावलले अर्थतन्त्र जटिल अवस्थामा रहेको र यसलाई दुर्घटना हुनबाट जोगाउन समन्वयको आवश्यक रहेको बताए । ‘अर्थतन्त्रको अहिलेको अवस्था कोही व्यक्ति वा अर्थमन्त्रीले सिर्जना गरेको होइन, सबैको कारण हो,’ उनले भने, ‘अर्थतन्त्रलाई दुर्घटनाबाट जोगाउन समन्वय गर्नुपर्छ, विवाद वा ढाकछोप होइन, सबैले आफ्नो सीमा र दायरामा बसेर काम गर्नुपर्छ ।’