मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पोखरा रंगाशाला, फाइल तस्बिर
२०७९ बैशाख १३ मंगलबार ०६:५७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीका ११ जिल्लाका खेलस्थल प्रस्ताव

३९ वर्षअघि १२ चैत ०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । सोे प्रतियोगिता नौ दिनसम्म चलेको थियो ।

Read Time : > 2 मिनेट
२०७९ बैशाख १३ मंगलबार ०६:५७:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थलहरू प्रस्ताव भएको छ । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदशेमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रदेशका ११ जिल्लाका खेलस्थान प्रस्ताव गरेको हो । 

राष्ट्रिय खेलकुदले गत साता खेल संख्या निर्धारित गरेको थियो । जसमध्ये ३६ मध्ये अधिकांश खेल कास्कीमै खेलाउन सकिने उल्लेख थियो । कास्कीमै धेरै खेल आयोजना हुन सक्ने सम्भावना छ । कास्कीमा पुरुष फुटबलसँगै महिला र पुरुषतर्फका एथलेटिक्स प्रतियोगिताको प्रस्ताव गरिएको राखेपका बोर्ड सदस्य राजेशकुमार गुरुङले बताएका छन् । यसैगरी, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, हयान्डबल, हक्की, स्क्वास र सुटिङ खेलको प्रस्ताव पनि भएको छ ।

कुन–कुन जिल्लामा हुँदै छ राष्ट्रिय खेलकुद 
प्रतियोगिताका खेल ? 
कास्कीमा जिम्न्यास्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलन खेलाइने प्रस्ताव भएको गुरुङले बताए । नवलपुरमा महिला र पुरुष कबड्डी, कुस्ती र खो खो खेलको प्रस्ताव भएको छ । गोर्खामा महिला र पुरुष जुडोसँगै सेपाकताक्रो रहेको छ । स्याङ्जामा महिला फुटबलसँगै महिला र पुरुषका फुलकन्ट्याक्ट कराते खेलको आयोजना गर्न प्रस्ताव पठाइएको उनले बताए । 

बाग्लुङमा महिला र पुरुष तेक्वान्दो, लमजुङमा महिला र पुरुष कराते, मुस्ताङमा महिला र पुरुष टेबलटेनिस र तनहुँमा महिला र पुरुष बास्केटबल खेलको प्रस्ताव भएको छ । मनाङमा महिला र पुरुष बुद्धिचाल, म्याग्दीमा महिला र पुरुष आइटिएफ तेक्वान्दो खेलको प्रस्ताव गरिएको छ ।पर्वतमा महिला र पुरुष फेन्सिङ खेलका लागि प्रस्ताव भएको गुरुङले जनाएका छन् । गण्डकी प्रदेशमा रहेका ११ जिल्लामा कम्तीमा एक खेलको प्रस्तावनासहित राखेप अघि बढेको गुरुङले बताए ।  ‘प्रतियोगिताका लागि आवश्यक पूर्वाधार र त्यसको स्तरोन्नतिसमेत आवश्यक छ,’ उनले भने ।

कास्कीमा पुरुष फुटबलसँगै महिला र पुरुषतर्फका एथलेटिक्स प्रतियोगिताको प्रस्ताव गरिएको छ । यसैगरी, कस्कीमै बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्यान्डबल, हक्की, स्क्वास र सुटिङ खेलको पनि प्रस्ताव भएको छ ।

राजेशकुमार गुरुङ, सदस्य, राखेपका बोर्ड 

 

 पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता
पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । परिषद्ले ४ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै प्रतियोगिताका लागि आवश्यक लोगो, मस्कट, खेलकुद गीत र नारा पेस गर्न आह्वानसमेत गरेको छ । वैशाख ०७६ मा लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदपछि गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको अवधारणाअनुसार यो प्रत्येक दुई–दुई वर्षमा आयोजना हुनुपर्छ ।  तत्कालीन राखेप सदस्यसचिव शरदचन्द्र शाहको परिकल्पनाअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो । यसको पहिलो तीन संस्करण दुई–दुई वर्षकै अन्तरालमा भयो । त्यसयता प्रतियोगिता निर्धारित समयमा हुन सकेको छैन । पोखराले २०४० सालमा दोस्रो संस्करणको आयोजना गरेको थियो । 

 पोखरामै सम्पन्न भएको थियो दोस्रो संस्करण 
१२ चैत २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । नौ दिनसम्म चलेको प्रतियोगिताको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए । यो संस्करणमा तीन खेल थप भएका थिए । दोस्रो संस्करणमा कबड्डी र तारो हान्ने खेल हटाइएको थियो भने मार्सल आर्टस, टेनिस तथा सुटिङ थप भएका थिए । 

पोखरा संस्करणदेखि महिलातर्फ फुटबल र भलिबल खेल थपिएका थिए । समग्रमा यसपटक १९ खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एक सय ११ स्वर्ण, एक सय ११ रजत तथा एक ३२ काँस्यका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कुल तीन सय ७० पदक समावेश थिए ।

पहिलोमा जस्तै बागमतीले दोस्रो संस्करणमा पनि एकाधिकार जमाउँदै च्याम्पियनसिप ट्रफी उचालेको थियो । बागमतीले सर्वाधिक ५० स्वर्ण, ३३ रजत तथा २५ काँस्य हात पारेको थियो । आयोजक पोखराले २१ स्वर्ण, सात रजत तथा नौ काँस्य जित्दै दोस्रो स्थानमा कब्जा जमायो ।