मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रत्येक अवाले
२०७५ फाल्गुण २९ बुधबार ११:४७:००
Read Time : > 3 मिनेट
सेयर बजार

बुलिस बन्दै बजार, १.७८ प्रतिशत बढ्यो नेप्से

Read Time : > 3 मिनेट
प्रत्येक अवाले
२०७५ फाल्गुण २९ बुधबार ११:४७:००

मंगलबार नेप्से परिसूचक १ दशमलव ७८ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । यस दिन बजारमा ५० करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । नेप्से र कारोबार रकम दुबै बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । यस दिन नेप्से ६० दिनको मुभिङ एभरेजलाई काटेर माथि लागेको छ । नेप्सेको ६० दिनको मुभिङ एभरेज बिन्दु १ हजार १ सय ५५ रहेको छ । सो बिन्दुभन्दा माथि पुगेर बजार बन्द हुनलाई विश्लेषकले सकारात्मक रूपमा लिएका छन् । यसले आगामी दिनमा बजार बढ्ने संकेत गरेको उनीहरूको भनाइ छ । यद्यपि, भोलि बजारमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ । बजार बढेपछि अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्ने भएकाले बजारमा करेक्सन हुने गर्छ । 

बजार सारांश
नेप्से परिसूचक यस दिन २० दशमलव ३३ अंक बढेर १ हजार १ सय ६३ दशमलव २६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ४ दशमलव २१ अंक बढेर २ सय ४७ दशमलव ४७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव ४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ अंक बढेर बन्द भएको छ । यस दिन १ सय ७६ कम्पनीको ७ हजार ५ सय ३० पटकको कारोबारमा ५१ करोड ८३ लाख ९५ हजार रुपैयाँबराबरको १९ लाख २२ हजार ८ सय ३५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : यस दिन नेप्सेको १४ दिने आरएसआई ६५ दशमलव ७० स्केलमा पुगेको छ । बजार बढे पनि आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन रहेको छ । सो दिन कारोबारमा आएका १ सय ७६ कम्पनीमध्ये १ सय ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

सिनर्जी पावरमा सर्किट
यस दिन सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ । त्यसैगरी, सपोर्ट माइक्रो फाइनान्स र हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा बढेको छ । कालिका पावर र नेसनल हाइड्रोपावरको सेयर मूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सेयर मूल्य घट्ने दर न्यून रहेको छ । यस दिन कुनै पनि कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन । सिटिजन्स म्युचुअल फन्डको एकाइ मूल्य यस दिन १ दशमलव ९२ प्रतिशत घटेको छ ।

माछापुच्छ्रे र एनसिसीको कारोबार रकम ३ करोड नाघ्यो
यस दिन कारोबारमा आएका माछापुच्छ्रे बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकको ३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, प्रभु बैंक, अपर तामाकोसी, नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसियाको कारोबार रकम २ करोड नाघेको छ । सेयर संख्याका आधारमा पनि एनसिसी र माछापुच्छ्रे नै अगाडि रहेको छ । एनसिसीको यस दिन १ लाख ४४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ भने माछापुच्छ्रेको १ लाख ४३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको यस दिन ५ सय ६९ पटक सेयर कारोबार भएको छ । 

जलविद्युत् समूहको परिसूचक सर्वाधिक बढ्यो
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ७७ प्रतिशत बढेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको परिसूचक २ दशमलव २७ प्रतिशत, व्यापार समूहको २ दशमलव १७ प्रतिशत, उत्पादनमूलक समूहको १ दशमलव ६१ प्रतिशत, होटेल समूहको १ दशमलव ३२ प्रतिशत, विकास बैंक र जीवन बिमा समूहको १ दशमलव ३ प्रतिशत बढेको छ । कारोबारमा आएको अन्य समूहको परिसूचक १ दशमलव १ प्रतिशत, वित्त समूहको शून्य दशमलव ८७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव ५४ प्रतिशत बढेको छ । 

नेप्सेको पिभट बिन्दु यस दिन १ हजार १ सय ५६ दशमलव ४८ रहेको छ । बुधबार बजार ओरालो लागे नेप्सेको पहिलो टेवा बिन्दु १ हजार १ सय ४९ दशमलव ७० रहेको छ भने दोस्रो टेवा बिन्दु १ हजार १ सय ३६ दशमलव १५ रहेको छ । त्यसैगरी, बजार उकालो लागे, नेप्सेको पहिलो प्रतिरोध बिन्दु १ हजार १ सय ७० दशमलव शून्य ३ र दोस्रो प्रतिरोध बिन्दु १ हजार १ सय ७६ दशमलव ८१ रहेको छ । 

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले फागुन २३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने म्याद फागुन २८ गते सकिएको छ । कम्पनीले १८ लाख १६ हजार ११० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको आइपिओलाई इक्रा नेपालले औसतभन्दा कम आधार जनाउने ‘इक्राएनपी आइपिओ ग्रेड ४’ रेटिङ दिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ५ लाख ६६ हजार १ सय १० कित्तासहित सो आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । निष्कासन गरेको कुल सेयरमध्ये ३६ हजार ३ सय २२ कित्ता सेयर कर्मचारीलाई र ४० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत १९ करोड ८२ लाख २७ हजार १ सय ६८ दशमलव १० रुपैयाँ रहेको छ भने कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८ सय ३१ रुपैयाँ रहेको छ । कम्पनीले विद्युत् विकास विभागबाट ०७० साउन ९ गते विद्युत् उत्पादन अनुमतिपत्र पाएको थियो । कम्पनीको विद्युत् उत्पादन अनुमति अझै ३० वर्ष बाँकी रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ८ दशमलव १७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० दशमलव ७२ वर्ष रहेको छ ।

जेबिल्सको संस्थापक सेयर लिलामीमा
जेबिल्स फाइनान्स लिमिटेडले संस्थापक समूहको ३ लाख ४० हजार ९ सय ५५ दशमलव ५० कित्ता सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले पुस १० गतेदेखि १७ गतेसम्म बोलकबोलमार्फत निष्कासन गरेको ६ लाख ६५ हजार ९ सय ५५ दशमलव ५० कित्ता सेयरमा आवेदन नपरेको सेयर पुनः लिलाम बिक्री गर्न लागेको हो । लगानीकर्ताले चैत ५ गतेदेखि १३ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सेयर रजिस्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले सनराइज क्यापटल, कमलपोखरीबाट बोलपत्र पेस गर्न सक्नेछन् । 

सपोर्टको साधारणसभा
सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले चैत २३ गते होटेल त्रियुगा, इटहरीमा चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ३ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने, संस्थाको नाम परिवर्तन गर्ने, केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, मर्जर–एक्विजिसन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।