मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा प्लान्टमा बिहीबार विस्फोट हुँदा छेउमा रहेको घरका सिसा फुटेका र पर्खाल भत्किएका छन् ।
टेकराज थामी काठमाडौं
२०७९ बैशाख ९ शुक्रबार ०९:११:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोनाकालमा अक्सिजन दिएर धेरैको ज्यान  बचाउने बृजमोहन आफैँ विस्फोटमा बिलाए

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ बैशाख ९ शुक्रबार ०९:११:००

ललितपुरको औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा विस्फोट

भारत पश्चिम चम्पारणस्थित रतनपुरुवाका ४५ वर्षीय बृजमोहन महतो सहयोगी २५ वर्षीय राजकुमार महतोसँगै सदाझैँ नियमित काममा थिए । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा प्लान्टमा बिहीबार एक्कासि अक्सिजन सिलिन्डर विस्फोट भयो । बृजमोहनको शरीर टुक्राटुक्रा भएर उछिटिए । सहयोगी राजकुमारको हात र खुट्टा उछिटिएर दुई सय मिटर पर पुगे । 

बिहीबार बिहान १० बजे भएको भयानक विस्फोट सम्झिँदै घटनाका प्रत्यक्षदर्शी दीपक घिमिरेले भने, ‘आचनक भयानक आवाज आयो । उद्योगका जस्तापाता अकासमा उडेको देखिए । घरका सिसा टुक्राटुक्रा भएर फुटे । तुरुन्तै घटनास्थल छिरेँ । हेर्दा राजकुमार ढलिरहेका थिए । बृजमोहन टुक्राटुक्रामा परिणत भएका थिए ।’

प्लान्टका सुपरभाइजरसमेत रहेका घिमिरेका अनुसार बिहीबार अक्सिजनका प्रायः सबै सिलिन्डर भरिसकेका थिए । त्यसैले प्लान्ट पनि बन्द थियो । भरिएको सिलिन्डर मिलाउन मात्रै बृजमोहन सहयोगी राजकुमारसहित प्लान्टनजिक पुगेका थिए । यहीक्रममा सिलिन्डर अचानक विस्फोट भयो । सिलिन्डर भर्दाभर्दै विस्फोट भएको भए प्लान्टमा कार्यरत २५ मजदुरको एकै चिहान हुने थियो । ‘भरिएको सिलिन्डर मिलाउन मात्रै बृजमोहन र राजकुमार भित्र गएका थिए । त्यसैले विस्फोटमा उनीहरू मात्रै परे । सिलिन्डर भर्दाभर्दैको क्रममा विस्फोट भएको भए प्लान्टमा काम गर्ने २५ जनाको एकै चिहान हुने थियो । धन्न उनीहरू बाँचे,’ घिमिरेले भने ।

प्रहरीका अनुसार विस्फोटबाट उछिटिएको शरीरको टुक्रा तीन सय मिटर टाढासम्म पुगेको छ । शरीरका टुक्राटुक्रा मांशपेसी र अस्थिपञ्जर संकलन गर्न प्रहरीले बिहीबार साँझसम्म पनि सकेको थिएन । यसका लागि महानगरीय प्रहरी परिसर ललितपुरले घटनास्थलको पाँच सय मिटर रेडियसआसपास उछिटिएका टुक्रा संकलन गर्न टोली परिचालन गरेको थियो ।

‘विस्फोट भयानक देखिन्छ । शरीरका टुक्रा ठाउँठाउँ छरिएका छन् । एउटा टुक्रा त औद्योगिक क्षेत्र प्रवेश गर्ने गेटमा भेटिएको थियो । उछिटिएका सबै टुक्रा अझै संकलन गरिसकिएको छैन । पाँच सय मिटरको रेडियसमा टोली परिचालन गरिएको छ,’ ललितपुर परिसरका डिएसपी शरद थापाले भने । प्लान्टका मालिक हुन्, ललितपुर महानगरपालिका–१४ का नारायण तिमल्सिना । उनले पाँच वर्षदेखि प्लान्टमा अक्सिजन भर्ने ठेक्का बृजमोहनलाई दिँदै आएका थिए । प्लान्टमा सबै मजदुर उनैले ल्याएका थिए । कोभिड–१९ अवधिभर अक्सिजनको माग उच्च रह्यो । बृजमोहनले बजारको माग धान्न कोभिड अवधिभर प्लान्ट चौबीसै घन्टा चलाए । उनले कोभिडका कैयौँ बिरामीको ज्यान जोगाए । तर, अक्सिजनकै कारोबार गर्ने क्रममा उनको प्लान्टमा विस्फोट भयो । 

‘कोभिडको अवधिमा अक्सिजनको माग उच्च रह्यो । बजारको माग धान्न बृजमोहन रातभर खटिए । बिरामीलाई अक्सिजन दिए । उनै व्यक्ति विस्फोटमा मारिए । घटनाले अत्यन्तै मर्माहत बनाएको छ,’ तिमल्सिनाले नयाँ पत्रिकासँग भने ।

तिमल्सिनाका अनुसार केही मजदुर प्लान्टनजिकै रहेको घरमा बस्थे । घरको सिसा र पर्खाल भत्कने क्रममा उनीहरू पनि घाइते हुन पुगे । घाइते हुनेमा पर्साका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीय दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ का २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगाका २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरी नगरपालिका–२ का ४९ वर्षीय गंगाराज शर्मा छन् । अधिकांशको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । ‘घटनामा दुईजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । उपचारपछि सबै डिस्चार्ज भइसकेका छन् । सबैको अवस्था सामान्य रहेको सूचना छ,’ ललितपुर परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले भने ।

विस्फोटको छानबिन गर्न उद्योग मन्त्रालयद्वारा ६ सदस्यीय समिति गठन
गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् । उनले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् । 

अक्सिजन प्लान्ट विस्फोट घटना छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि छुट्टै ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित समितिले घटनाको सम्पूर्ण विवरण सात दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ । मन्त्रालयका अनुसार समितिले अक्सिजन प्लान्टको अवस्था, सिलिन्डरको क्षमता, अधिकारप्राप्त निकायबाट तोकिएको अवधिभित्र अनुगमन भए/नभएकोलगायतका विषयमा अध्ययन गर्नेछ । 

मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मन्त्रालयबाट गठित समितिले घटनाको छानबिन गर्ने जानकारी दिए । ‘अक्सिजन प्लान्टमा भयानक विस्फोट भएको छ । यसमा छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको छ । समितिले सात दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्नुपर्नेछ,’ उनले भने ।

अक्सिजन प्लान्ट उद्योगहरू उद्योग मन्त्रालयअन्तर्गत दर्ता भएर सञ्चालन हुने गर्छ । प्लान्टबाट उत्पादन हुने अक्सिजन, सिलिन्डरको क्षमता तथा गुणस्तर मापन गर्न जिम्मा उद्योग मन्त्रालयमातहत रहने गुणस्तर तथा नापतौल विभागको हो । यसका लागि विभागले यस्ता प्लान्टको वेलाबखत अनुगमन पनि गर्ने गर्छ । तर, विस्फोटका पछिल्ला घटनाले गुणस्तर अनुगमन गर्ने गुणस्तर विभागकै अनुगमनप्रति प्रश्नचिह्न खडा गरिदिएको छ । 

विस्फोटको कारण अझै खुलेन 
बिहीबार बिहान १०:०५ बजे अक्सिजन प्लान्टमा विस्फोट भयो । तत्काल घटनास्थल पुगेर प्रहरीले आवश्यक दसी प्रमाण पनि सबै संकलन गर्‍यो । तर, विस्फोटको खास कारण बिहीबार साँझसम्म खुल्न सकेको छैन । ललितपुर परिसरका प्रवक्ता एसपी शाहले विस्फोटको कारण खुल्न नसकेको बताए । ‘विस्फोटलगत्तै प्रहरी घटनास्थल पुग्यो । आवश्यक सबै दसी प्रमाण संकलन भयो । टुक्राटुक्रामा विभाजित शरीर संकलन गर्न समय लाग्यो । विस्फोटको कारण खुल्न सकेको छैन । प्राविधिक काम भएकाले केही समय लाग्न सक्छ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार सिलिन्डरमा अक्सिजनको मात्रा अत्यधिक भएकाले चाप धान्न नसकेपछि विस्फोट भएको हो । तर, प्लान्ट सञ्चालिका सविता तिमल्सिना प्रहरीको यो भनाइमा सहमत छैनन् । सिलिन्डर विस्फोटबाट मात्रै भयानक क्षति नहुने उनको दाबी छ । ‘शरीर टुक्राटुक्रा भएका छन् । तीन सय मिटर टाढासम्म शरीरको भाग उछिटिएर गएका छन् । उद्योगका जस्तापाता सबै उडेका छन् । सिसा मात्र होइन, घरका पर्खालसमेत भत्किएका छन् । त्यसैले सिलिन्डरका कारण मात्रै विस्फोट भएको होइन । यसमा गहन अनुसन्धान हुन जरुरी छ,’ उनले भनिन् ।

२२ करोडको लगानी एक विस्फोटमा भयो सबै खरानी : नारायण तिमल्सिना, सञ्चालक, सगरमाथा अक्सिजन प्लान्ट
०७१ मा २२ करोड लगानीमा प्लान्ट खोलेको हुँ । सुरुका दिनमा प्लान्ट ठिकै चल्यो । कोभिड–१९ को महामारी अवधिमा भने यसको उपादेयता निकै बढ्यो । बिरामीलाई अक्सिजन आवश्यक पर्ने भयो । हामीले प्लान्टलाई चौबीसै घन्टा चलाएर अक्सिजन उपलब्ध गरायौँ ।

हामीकहाँ ३० भन्दा धेरै मजदुर प्रत्यक्ष रूपमा रोजगारमा छन् । आज अचानक कारखानामा विस्फोट भयो । दुई मजदुरसँगै प्लान्टका सबै उपकरण क्षतविक्षत भएका छन् । बैंकको ऋण तिर्न सकिएको छैन । अब कसरी अघि बढ्ने केही सोच्न सकिएको छैन ।
 
घटनाको मिहिन अनुसन्धान हुनेछ, पीडितले क्षतिपूर्ति पाउनेछन् : घनश्याम उपाध्याय, प्रमुख जिल्ला अधिकारी, ललितपुर 
अक्सिजन प्लान्टमा अप्रत्यासित तवरले ठूलो विस्फोट भयो । घटनामा दुईजनाको मृत्यु भयो । ६ जना घाइते भए । उपचारपछि सबै अस्पतालबाट डिस्चार्ज भएको मैले सूचना पाएको छु । पीडितलाई नियमअनुसार सरकारले आवश्यक क्षतिपूर्ति दिनेछ ।

घटनाका सम्बन्धमा मिहिन ढंगले अनुसन्धान हुनेछ । प्रहरीको विषय विज्ञ प्राविधिक टोली अनुसन्धानमा खटिएका छन् । अनुसन्धानको नजिता आएपछि घटनाको बारेमा थप विवरण बाहिर आउला ।