१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नोह स्मिथ
२०७५ पौष ७ शनिबार १०:०१:००
Read Time : > 2 मिनेट
अर्थ

विश्व अर्थतन्त्र : नम्बर १ मा चीन कि अमेरिका ?

Read Time : > 2 मिनेट
नोह स्मिथ
२०७५ पौष ७ शनिबार १०:०१:००

दुई दशकको समयमा कत्रो भिन्नता ? सन् १९९७ मा अमेरिकाको ११ प्रतिशत रहेको चिनियाँ कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०१७ मा ६३ प्रतिशतमा उक्लिएको छ । तर, चीनमा मूल्य कम भएका कारण यसले दुई राष्ट्रको जीवनशैलीबीचको भिन्नतालाई बढाइचढाई गरेर बताइएको छ । क्रयशक्ति समता (पिपिपी)का आधारमा सन् २०१३ मै चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनिसकेको थियो । 

त्यसो भए वास्तवमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रचाहिँ कुन हो त ? यसको उत्तर हो, यी दुई राष्ट्रमध्ये कुनै एक । यदि चीनले आफ्नो पुँजी नियन्त्रणको निवारण र आफ्नो मुद्रा विदेशी अनुमानका लागि खुला राख्ने हो भने युआनको भाउ उकालो लाग्न सक्ने सम्भावना प्रबल छ । साथै यसले चिनियाँ जिडिपीलाई बजार विनियमदरमा पिपिपी संख्या बराबर ल्याउन सक्ने सम्भावना पनि उत्तिकै छ । अर्को शब्दमा भन्ने हो भने चीन र अमेरिकाको अर्थतन्त्रमा अहिले धेरै हदसम्मको समानता छ । अमेरिकी जनसंख्याको तुलनामा चार गुणा बढी जनसंख्या रहेको चीनमा वृद्घिको सम्भावना धेरै छ भने चीन विश्वकै ठूलो म्यानुफ्याक्चरर र निर्यातक राष्ट्र बनिसकेको छ । 

चीन छिट्टै नै विश्वको ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ । तर, यसको अर्थ के हो ? विश्व र अमेरिकी नीतिका चिनियाँ आर्थिक वर्चस्वले कस्तो प्रभाव पार्छ त ? यसको सबैभन्दा ठूलो प्रभाव के हो भने चीन समूह प्रभावको प्रमुख लाभार्थी बन्नेछ, जसलाई अर्थविद्हरूले ‘एंग्लोमेरेसन इफेक्ट्स’को नाम दिएका छन् । अर्थात् एउटा कम्पनीको कामदार अर्को कम्पनीको ग्राहक हुन सक्ने भएकाले व्यवसायहरू एउटै क्षेत्रमा एकसाथ आउँछन् । दुई दशकअघि अर्थविद्हरू पाउल क्रुग्म्यान, मासाहिसा फुजिता र एन्थोनी भेनेबल्सले देखाएअनुसार सबैभन्दा धेरै एकाग्र आर्थिक गतिविधि हुने क्षेत्रमा मात्रै एंग्लोमेरेसनले फाइदा ल्याउँछ । 

र, त्यो क्षेत्र अमेरिका होइन, चीन हो । चिनियाँ बजार ठूलो भएका कारण बहुर्राष्ट्रिय कम्पनीहरू आफ्नो कारखाना र कार्यालय त्यहाँ खोल्न चाहन्छन् । त्यसैले सम्पूर्ण सप्लाइ चेन पनि चीनतिरै सर्छन् । विशाल म्यानुफ्याक्चरिङ प्रतिभाको भण्डार चीनमा थुप्रिन्छ र यो प्रक्रिया थप तीव्र बन्छ । विदेशी कम्पनीप्रति चीनको शत्रुताले यो प्रक्रिया केही सुस्त पारे पनि चीन विश्वको ठूलो अर्थतन्त्र बन्ने बाटोमा बाधा ल्याउन भने कठिन नै देखिन्छ । 

यसको अर्थ के पनि हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्धको व्यापार युद्धमा कठिन लडाइँ लड्नेछन् । दुई राष्ट्रबीच श्रम लागतको सामना गर्ने मात्र मुद्दा नभई चिनियाँ बजारलाई नै बाहिर निकाल्नुपर्ने भएकाले चीनबाट कम्पनी हटाउन अमेरिकी महसुल एकदमै धेरै हुनुपर्छ । अधिकांश कम्पनीले आफू चीनबाट बाहिरिन तयार रहेको बताए पनि वास्तविकता भने अर्कै हुन सक्छ । उदाहरणका लागि गत वर्ष अमेरिकी कम्पनी फोर्डले आफ्नो अर्को पुस्ताको कार चीनमा निर्माण गर्ने घोषणा गरेको थियो । 

चीनको नयाँ आर्थिक उचाइको अर्को परिणाम हो, अमेरिकाले दोस्रो विश्वयुद्धपछि विश्व अर्थतन्त्रलाई नियमन गर्न निर्माण गरेका संस्थाहरू अर्थहीन र शक्तिहीन बन्ने । उदाहरणका लागि चीनले विकासशील राष्ट्रमा ऋणको ओइरो लगाउन थालेपछि गरिब राष्ट्रहरूलाई आर्थिक सहयोग गर्दै आएको विश्व बैंकले आफूलाई पाखा लागेको सम्झन थालेको छ । 

अमेरिकी नेतृत्वमा रहेका सबैभन्दा महत्वपूर्ण संस्थामध्ये डलर पनि एक हो । दशकौँसम्म डलर विश्वको सञ्चित मुद्राका रूपमा रहँदै आएको छ । विश्वका राष्ट्रहरूले आफ्नो विदेशी सञ्चिति पनि डलरमै राख्छन्, कतिले डलरमा आधारित ऋणपत्र जारी गर्छन् र तेललगायतका कमोडिटिजको भाउ पनि डलरमै तोकिएको हुन्छ । यसैकारण अमेरिकी अर्थतन्त्रमा क्षति पुगेको धेरैको अनुमान छ । डलरको बढ्दो मागले मुद्रालाई थप महँगो पारेको र अमेरिकी व्यापार घाटामा पनि योगदान पुगेको छ । 

यदि यो सिद्धान्त सही हो भने चिनियाँ अर्थतन्त्र बढेसँगै विश्वको सञ्चित मुद्राका रूपमा रहिरहन आवश्यक पुँजी प्रवाहको व्यवस्थापन गर्ने अमेरिकी क्षमता पनि घट्दै जान्छ । केही दशकअघि बेलायतबाट अमेरिकाले विश्वकै सञ्चित मुद्रा रहेको राष्ट्रको पद्वी खोसेजस्तै चीनले पनि अमेरिकाबाट यो पदवी उम्काउनु राम्रै कुरा देखिन्छ । तर, चीनले पुँजी नियन्त्रणको आफ्नो अडान कायम राख्ने कुरामा जोड दिइरहेकाले चीनभित्र र बाहिर पैसा चलाउन गाह्रो भइराखेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा डलरलाई विस्थापित गर्ने युआनको बाटोमा बाधा उत्पन्न गर्छ । तर, आकारमा चीनले अमेरिकालाई उछिन्दै गएका कारण अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा थप अस्थिरता आउँछ ।  

चीनको आर्थिक उदयको अन्तिम प्रभाव हो भू–राजनीतिक । कुनै वेला अमेरिकी बजारमा पहुँच हासिल गर्न अमेरिकी सैन्य र राजनीतिक मामिलामा समर्थन गर्ने राष्ट्र अब चीनतर्फ सहयोगी हात बढाउन चाहन्छन् । यो विशेष गरी चिनियाँ बजारसँग नजिक पूर्वी एसियाली राष्ट्रका लागि चरम हुने अनुमान गरिएको छ । 

अमेरिकाले चीन बर्जित अन्य पूर्वी एसियाली राष्ट्रसँग व्यापार सम्बन्ध स्थापना गरेर यो प्रक्रियाको सामना वा यसलाई सुस्त बनाउन सक्थ्यो । राष्ट्रपति बाराक ओबामाले ट्रान्स–प्यासिफिक पार्टनरसिपमा ठ्याक्कै यस्तै गर्ने प्रयास गरेका थिए, तर ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नेबित्तिकै यो योजना तुहाइदिए । 

त्यसैले चीन कुनै पनि वेला विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ भन्ने कुराको धेरै महत्वपूर्ण अर्थ छ । यसको अर्थ के हो भने अमेरिकाले लगानी र भू–राजनीतिक बुद्धिमता सुनिश्चित गर्न ठूला बजारहरूमा निर्भर हुन अब सक्दैन । यदि चीनले निकट भविष्यमा विदेशी कम्पनीमाथि प्रतिबन्ध, सरकारी नियन्त्रणमा उत्पादकत्वमा कमी वा आन्तरिक तनाव बढाउनेजस्ता खराब कदम चालेन भने उसले कुनै वेला अमेरिका (चिनियाँ प्रमुख प्रतिद्वन्द्वी)ले आनन्द उठाएका अधिकांश लाभ उसलाई हुनेछ ।

स्टोनी ब्रुक विश्वविद्यालयमा फाइनान्सको सहायक प्राध्यापकसमेत रहिसकेका नोह स्मिथ ब्लुमबर्गका विचार स्तम्भकार हुन् ।