मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ६ मंगलबार १६:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ कामको थालनीलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले निर्वाचन सुधार असहज भयो : प्रमुख निर्वाचन आयुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ६ मंगलबार १६:३८:००

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा नयाँ कामको थालनी गर्दा निर्वाचन आयोगप्रति शंकाको दृष्टिले हेरिँदा निर्वाचन सुधारका काममा असहज हुने गरेको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनलक्षित मिडियासँगको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन सुधारका लागि गरेका नयाँ कामहरूलाई स्वार्थको सेरोफेरोबाट हेरिँदा आयोगलाई काम गर्न अप्ठ्यारो भएको बताएका हुन्।

‘निर्वाचन तयारीमा जुटिरहँदा अहिले हामीले के महसुस गरेका छौँ भने कुनै पनि सुधारलाई शंकाको दृष्टिले हेरिदिने, कुनै पनि किसिमको परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहज रूपमा पचाउन पनि नसक्ने र कुनै किसिमको नयाँ थालनी हामीले गर्‍याैँ भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्नेजस्ता प्रवृत्तिहरूका कारण निर्वाचन सुधारका कामहरूलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि कहीँ कतै असहज तथा अप्ठ्यारो भएजस्तो महसुस हुँदोरहेछ, ’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई उनीहरूकै चूनाव चिह्न दिने प्रस्ट आधार नभए पनि आयोगले जोखिम उठाएर सो व्यवस्था गरेको उनको भनाइ थियो। उनले संविधानमा भएको सामाजिक न्यायको सवाललाई स्मरण गर्न सबै राजनीतिक दलहरूलाई आग्रहसमेत गरे।

हरेक खालका शंका र संशयलाई चिर्दै अहिले सबैजना सम्पूर्ण विश्वासका साथ वैशाख ३० गते निर्वाचन गर्ने दृढसंकल्प लिएर अगाडि बढेको पनि उनले बताए। ‘स्थानीय तह निर्वाचनका सम्बन्धमा आज हामी जहाँ आइपुग्यौँ, त्यो आयोगको एकल प्रयासले सम्भव भएको होइन,’ उनले भने,  ‘त्यसको निम्ति आमसञ्चार क्षेत्रको निरन्तर खबरदारी र निर्वाचनप्रतिको निष्ठाको प्रतिफलको रूपमा आयोगले महसुस गरेको छ।’

त्यसैगरी, कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनका वेला गलत सूचना सम्प्रेषण हुने जोखिम रहने बताइन्। उनले सञ्चारमाध्यमहरूले दिएको सूचनाले आममतदातालाई प्रभाव पार्ने भएकाले सत्यतथ्य जाँच गरी संवेदनशील भएर सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरिन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका वेला सावधानी अपनाउनुका साथै तटस्थता कायम गरेर विश्वसनीय सूचना सम्प्रेषण गर्नुपर्ने बताए।