Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
डा. चन्द्रमान श्रेष्ठ
२०७५ फाल्गुण २९ बुधबार ०७:५९:००
Read Time : > 2 मिनेट
साहित्य

उपन्यासमा सगरमाथा आरोहणको कथा

Read Time : > 2 मिनेट
डा. चन्द्रमान श्रेष्ठ
२०७५ फाल्गुण २९ बुधबार ०७:५९:००

सरल सहयात्री जनयुद्धमा सैन्य कमान्डरको भूमिका निर्वाह गरेका योद्धा हुन् । शान्ति प्रक्रियापछि उनले फरक कीर्तिमान कायम गर्न साथीहरुसँग सगरमाथाको सफल आरोहण गरे । सगरमाथा आरोहणको त्यही अनुभवलाई उनले आख्यानीकरण गरी औपन्यासिक संरचनामा प्रस्तुत गरेका छन् । उनको उपन्यास ‘शिखरको ढुङ्गा’ जनयुद्धलाई पृष्ठभूमिमा राखिएको हिमाल आरोहणसम्बन्धी उपन्यास हो । उपन्यासमा हिमाल आरोहणको जटिलतालाई जनयुद्धका कठिन र चुनौतीपूर्ण क्षणहरूसँग तुलना गरिएको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथालगायत अधिकांश अग्ला हिमाल नेपालमै भए पनि हिमाल आरोहणसम्बन्धी कृति नेपाली साहित्यमा नगन्य मात्रामा छन् । जति लेखिएका छन् ती पनि हिमाल आरोहणमा प्रत्यक्ष संलग्न भएकाभन्दा अरूका अनुभव सुनेर लेखिए । आरोहीहरूले नलेख्ने र लेखकले आरोहण नगर्ने परम्पराको अन्त्य गर्दै सगरमाथा आरोहणमा प्रत्यक्ष संलग्न सरल सहयात्रीद्वारा लेखिएको यस उपन्यासले नेपाली पाठकलाई सगरमाथा आरोहणको साहसिक र रोमाञ्चक मात्र होइन, त्रासद पक्षसँग पनि परिचित गराउने काम गरेको छ ।

आरोहणको तयारी, अपनाउनुपर्ने सावधानी, आरोहणका उपकरणहरूको प्रयोग आदिका बारेमा विस्तृत जानकारी पाइने हुनाले उपन्यास आरोहणका लागि गाइड बुक बनेको छ । सगरमाथा आरोहण आममानिसले सोचेभन्दा निकै कठिन र चुनौतीपूर्ण छ । सगरमाथा आरोहण यति चुनौतीपूर्ण छ कि जसले मृत्युलाई सहज रूपमा आत्मसात् गर्न सक्छ, उसले मात्र हिम्मत जुटाउन सक्छ । हिँड्दाहिँड्दै कतिवेला हिमपहिरोमा परिने त्रास, आँखैअगाडि आफ्नो साथी गुमाउनुको पीडा, मृत्युसँग सङ्घर्ष गरिरहेका साथीहरूलाई पनि कुनै सहयोग गर्न नसक्नु, बाटामा लडिरहेका वीभत्स लासहरूलाई नाघ्दै हिँड्नु आरोहीहरूका लागि सामान्य लाग्छ । एक सेकेन्ड मात्रको ढिलो–चाँडोले पनि जीवन नै गुम्ने खतरा रहन्छ । तसर्थ आरोहीहरू हरेक पल जीवन र मृत्युको दोसाँधमा हुन्छन् । यस्तो चुनौतीको सामना गरेर सगरमाथाको उचाइ चुमेको क्षण आरोहीहरूका लागि अवर्णनीय र अविस्मरणीय रहेको हुन्छ । 

शिखरको ढुङ्गा उपन्यासले सगरमाथा आरोहणको रोमाञ्चक यात्राका साथसाथै जनयुद्धका विविध आयामलाई पनि उद्घाटित गरेको छ । उपन्यासमा जनयुद्धका घटना पूर्वस्मृतिका रूपमा आएका छन् । हिमाल आरोहणका क्रियाकलाप र जनयुद्धका घटना तुलना गर्दै उपन्यासमा कथानकको विन्यास गरिएको छ । जनयुद्धको मार्गलाई आत्मसात् गर्ने निर्णय गरेदेखि शान्ति प्रक्रियाको पछिल्लो अवस्थासम्म आइपुग्दाका विभिन्न आरोह अवरोहलाई उपन्यासले उद्घाटित गरेको छ।

जनयुद्धको मार्गलाई आत्मसात् गर्ने निर्णय गरेदेखि शान्ति प्रक्रियाको पछिल्लो अवस्थासम्म आइपुग्दाका विभिन्न आरोह अवरोहलाई उपन्यासले उद्घाटित गरेको छ  ।

सर्वहारा जनताको मुक्तिका लागि आफ्नो ज्यानलाई हत्केलामा राखेर हिँडेका जनयुद्धका छापामार योद्धाहरूको उत्साह, त्याग र वलिदानीको गाथा, सांस्कृतिक विचलनका नाममा पार्टीभित्र भएका कारबाही, शान्ति प्रक्रियामा आइसकेपछि नेतृत्व वर्गमा देखिएको नैतिक विचलन, विलासी प्रवृत्ति, उनीहरूमा मौलाउँदै गएको नातावाद, क्षेत्रवाद र कृपावाद, त्यसले गर्दा कार्यकर्ता र छापामार योद्धामा देखिएको निराशाको भाव उपन्यासमा देख्न सकिन्छ । अञ्जना सगरमाथा आरोहणमा जान लागेको आफ्नो पति आजादलाई सोध्छे, ‘तपाईं कतै राजनीतिबाट फ्रस्टेड त हुनुहुन्न नि ?’ अञ्जनाको यस प्रश्न आजादलाई मात्र नभएर सिङ्गो कार्यकर्ता पङ्क्तिप्रति लक्षित छ । 

उपन्यासमा हिमाली क्षेत्रका शेर्पा समुदायका मानिसहरूको जीवनावस्थालाई समेत राम्रोसँग चित्रण गरिएको छ । हिमालमा बाटो बनाउने, आरोहीको भारी बोकिदिने, खाने–बस्ने प्रबन्ध मिलाइदिने, सम्भावित खतराप्रति सचेत गराउँदै सुरक्षित रहन सिकाउने, कुशल पथप्रदर्शन गर्दै सफल आरोहणका लागि मृत्युसँग खेल्न पनि पछि नपर्ने शेर्पाहरूको जीवनमा भने कुनै परिवर्तन नदेखिएको कुरा उपन्यासमा प्रस्तुत गरिएको छ । डरलाग्दा चुनौतीहरूसँग खेल्ने शेर्पाहरूको आकाङ्क्षा भने सामान्य रहेको कुरा आइसफल डाक्टर निमा लाक्पाजस्ता पात्रको भनाइबाट बुझ्न सकिन्छ । 

उपन्यासको शीर्षक प्रतीकात्मक छ । सगरमाथा आरोहणमा जाने वेला आजादले आफ्नी सानी छोरी आभालाई ‘शिखरको ढुङ्गा’ ल्याइदिने वाचा गरेको छ । तर, शिखरको ढुङ्गा छोरीलाई हस्तान्तरण गर्नुअघि नै उसको मृत्यु हुन्छ । शिखरको ढुङ्गालाई गणतन्त्रको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । हजारौँ योद्धाहरूको बलिदानीपछि मात्र गणतन्त्र आएको र नयाँ पुस्ताले त्यसलाई फलाउँदै फुलाउँदै लानुपर्ने विषयलाई उपन्यासमा गज्जबसँग बुनिएको छ ।

बाहिरी कभरमा राखिएको चित्रले उपन्यासको विषयवस्तुलाई न्याय गरेको छ । देवेन्द्र थुम्केलीले बनाएको सो चित्रमा निलो आकाशमा फरफराइरहेको लुङ्दारका मुनि सगरमाथाको आकृति र आरोहीहरूको ताँती देख्न सकिन्छ । यसले सगरमाथा आरोहणसम्बन्धी उपन्यासको मूल कथावस्तुलाई अभिव्यक्त गरेको छ । चित्रमा प्रयोग गरिएको लुङ्दारले शेर्पाहरूको जीवनशैली, रहनसहन, संस्कार र विश्वासलाई उजागर गरेको छ, जुन कुरा उपन्यासमा पाउन सकिन्छ । 

उपन्यासमा कमजोरी नै नभएको भन्ने होइन । कतिपय भाषिक त्रुटि उपन्यासमा पाइन्छन् । हिमाल आरोहणको एकोहोरो वर्णन भएकाले एउटै कुरा दोहोरिएको जस्तो लाग्छ । कतै विवरणहरू जबरजस्ती थोपरिएजस्तो लाग्छ । हिमाललाई पटक–पटक सुन्दर युवतीसँग तुलना गरिएको छ । आजाद भन्छ, ‘बेहोरा नभएकी सुन्दरीजस्ती रैछ हिमाल । हेर्नका लागि राम्रो । भोग्नचाहिँ साह्रै गाह्रो,’ (पृ. १९८) । नारीलाई भोग्याका रूपमा चित्रण गएिको यस्तो अभिव्यक्ति समतामूलक समाजका लागि लडेका लेखकबाट नआएको भए राम्रो हुन्थ्यो ।