मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ फाल्गुण २९ बुधबार ०७:५०:००
Read Time : > 5 मिनेट
फिचर

गणतन्त्रमा गाउँ

Read Time : > 5 मिनेट
२०७५ फाल्गुण २९ बुधबार ०७:५०:००

गणतन्त्रअघि गाउँमा बाटो थिएन । पिउने पानी थिएन । राम्रो स्कुल थिएन । गतिलो स्वास्थ्य चौकी थिएन । टेलिफोन थिएन । टेलिभिजन पनि थिएन । तर, गाउँभरि मान्छे थिए ।  गणतन्त्रपछि बाटो बन्यो । घरघरमा पानी आयो । उच्च मावि बन्यो । गाउँमै दुईवटा एम्बुलेन्स थपिए । हातहातमा मोबाइल थपिए । ‘सबथोक छ गाउँमा,’ वडा अध्यक्ष हस्तबहादुर मोक्तान निराश हुँदै भन्छन्, ‘तर, मान्छे छैन ।’

मध्यमाघको चिसो साँझ । राजधानीबाट हुँइकिएको बसले करिब ४ घन्टामा सिन्धुपाल्चोकको लिसंखु पाखर पु-यायो । काकलिङ बजारको पुछार, छ्योइफेल कुन्दलिङ गुम्बाको आँगनमा भेटिए लिसंखु पाखर गाउँपालिका–२ का अध्यक्ष मोक्तान । उनी निराश थिए । गाउँको कथा सुनाइरहँदा उनको अनुहारमा उदासी थियो । खिन्न थिए, उनी । भन्दै थिए, ‘युवाहरू गाउँ नबस्नु नै यहाँको मुख्य समस्या हो ।’

०६८ सालको जनगणनाअनुसार २ नम्बर वडामा करिब २१ सय जनसंख्या छ । ४४६ घरधुरी छन् । तर, एउटै घरबाट पाँचजनासम्म वैदेशिक रोजगारमा गएपछि गाउँ रित्तियो । छरिएका पहाडी घरहरूमा शून्यता छायो । प्रायः ६० कटेका बुढाबुढी मात्रै गाउँमा देखिन थाले । मोक्तानले फेरि भने, ‘शून्य छ गाउँ ।’

देशमा गणतन्त्र आएपछि गाउँगाउँमा सरकार पुग्यो । टोलटोलमा जनप्रतिनिधि चुनिए । तर, जति समय बित्दै गयो, उति ताल्चा लाग्न थाल्यो घरमा । चकमन्न गाउँ, झार उम्रिएको आँगन, खुइलिएको लुङ्दार, नागबेली बाटोमा धुलो उडाउँदै गुड्ने गाडी । त्यही गाडी हेर्दै टोलाइरहेका बुढाबुढी । गाउँको परिचय फेरिएको स्थानीय बताउँछन् । वडा अध्यक्ष मोक्तानले भने, ‘२ नम्बर वडाबाट मात्रै करिब १२ सयजना वैदेशिक रोजगारमा गएका छन् । विदेशमा नजानेहरू पनि काठमाडौंतिरै बस्छन् ।’ अधिकांश घरमा बुढाबुढी मात्रै रहेको र दर्जनौँ घरमा ताला नै लागेको उनी बताउँछन् । वर्षदिनअघि गाउँमा लास उठाउने मान्छेसमेत नभएको घटना उनको आँखामा ताजै छ । त्यस दिनको घटना सम्झिँदै उनले भने, ‘लास उठाउने मान्छे नभएर दुई दिनसम्म त्यतिकै राख्नुप-यो ।’ 

वृद्धाश्रमजस्तो गाउँ
काकलिङ बजारदेखि पूर्वी पाखोमा छ, पाटङ गाउँ । त्यो गाउँमा पनि बुढाबुढी मात्रै थिए । भूकम्पले चर्काएका घरहरू केही बने, केही बन्दै छन् । जीर्ण घरको दलानमा धुलो बढारिरहेकी थिइन्, ७२ वर्षीया पुनमाया श्रेष्ठ । मक्किएको काठको ढोका अघिल्तिर टुक्रुक्क बसेर उनले सुनाइन्, ‘बाँदर लखेट्नेसम्म मान्छे छैन ।’ पिँढीको डिलमा बस्दै आफ्ना सन्तान गनिन् र लामो श्वास फेर्दै भनिन््, ‘५ भाइ छोरा छन् । २ बहिनी छोरी छन् । पनाति पनि भइसक्यो । जम्मा २५ जनाको परिवार छ मेरो ।’ तर, घरमा अहिले उनी एक्लै छिन् ।  पुनमाया घरमा एक्लै बस्न थालेको दशक बितिसक्यो । औँला भाँच्दै सुनाइन्, ‘१३ वर्ष भएछ ।’ 

बितेको १३ वर्ष पुनमायाले उराठलाग्दा दिनहरू बिताइन् । श्रीमान्को निधन भएको पनि तेह्रै वर्ष भयो । श्रीमान्सँगको वियोगका दिनहरू गन्दै बिताइन् । सन्तानको बाटो हेर्दै बिताइन् । पाखोबारीमा बाँदर लखेट्दै बिताइन् । श्रीमान्ले संसार छाडेर एक्लै बनाए । छोराछोरीले गाउँ छाडेर एक्लै बनाए । जति नै एक्लो भए पनि श्रीमान्को सम्झना गाँसिएको गाउँ छाड्न सकिनन् । छोराछोरीलाई कोक्रोमा बोकेर लेकबेँसी गरेको ठाउँ छाड्न सकिनन् । पर चिहाउँदै उनले सुनाइन्, ‘घर छाडेर जान पटक्कै मन लाग्दैन ।’ 

अहिले बुढेसकालको साथी भएको छ, १५ सय रुपैयाँको चाइनिज मोबाइल । पुनमायाको पोल्टामा मोबाइल टुट्दैन । छोराछोरीले कहिलेकाहीँ फोन गर्छन् । अनुहारको झझल्को आवाजले मेट्छिन् । मोबाइलको घन्टी बजेको पल पुनमायालाई औधी रमाइलो लाग्छ । हतारहतार उठाउँछिन्, अनि सन्तानसँग गफिन्छिन् । कहिलेकाहीँ त हप्तौँसम्म मोबाइल बज्दैन । ‘बिग्रियो कि क्या भन्दै’ ओल्टाइपल्टाइ गर्छिन् । पाँच भाइमध्ये एक छोराले अहिलेसम्म फोन गरेका छैनन् । तर, निष्ठुरी छोरालाई गाली गर्दिनन्, पुनमाया । भन्छिन्, ‘आमा सम्झिएर फोन गर्ला नि कुनै दिन ।’

पुनमाया हँसिली छिन् । ठट्यौली छिन् । बुढेसकालमा चाउरिएको अनुहार चिन्ताले थप चाउरिन दिएकी छैनन् । हँसिमजाक गर्छिन्, वेलावेला । हाँस्दै सुनाउँछिन्, ‘बाँदर लखेट्न भए पनि छोराछोरी आइदिए हुन्थ्यो जस्तो लाग्छ नि ।’ 

पुनमायाको घरसँगै जोडिएको छ, छविलाल श्रेष्ठको घर । उत्तरी कुनामा जोडिएको छ, छविलालका भाइ हस्तबहादुरको घर पनि । लहरै जोडिएको पाँच घरअघि पारिलो घाम लाग्छ । बुढाबुढी त्यहीँ घाम ताप्दै गफिन्छन् । ६५ वर्षीय छविलालको एकजना मात्रै छोरा छन् । उनी कतार गएको १० वर्ष बित्यो । गत वर्ष मात्रै छोराले बिहे गरे । अहिले बुहारी र नातिनी छन्, साथमा । ५८ वर्षीय हस्तबहादुरको पनि एउटा छोरा र एउटी छोरी छिन् । छोरी बिहे गरेर गइसकिन् । छोरा मलेसियामा छन् । अहिले बुढाबुढी मात्रै छन्, घरमा । एउटी बालिका, एउटी बुहारी अनि पाँचजना बुढाबुढीबाहेक गाउँमा अरू छैनन् । हस्तबहादुर सुस्तरी भन्छन्, ‘सबै परिवारसँगै बस्न पाए त राम्रो हुन्थ्यो नि । तर, कमाउनु पनि प-यो ।’ 

वडामा अहिलेसम्म दुईजनाको लास कफिनमा बन्द भएर आयो । जसमध्ये एक हुन्, २० वर्षीया तारा श्रेष्ठका बुबा तीर्थ श्रेष्ठ । तीर्थका बुबाको गत वर्ष मलेसियामा निधन भयो । तारा अहिले घरमा आमासँगै बस्छिन् । प्लस टु पास गरेकी उनलाई काठमाडौं जान मन छैन । गाउँमै ब्याचलर पढ्न क्याम्पस पनि छैन । ५५ वर्षीया आमाको साथी भएकी छिन्, तारा । भन्छिन्, ‘पढ्न मन छ । तर, आमा एक्लै हुनुहुन्छ यहाँ ।’

वडा नम्बर २ को प्रायः घर भूकम्पले चर्कायो । केही घर भत्कियो पनि । चर्किएको घर बनिसकेको छैन । बनिसकेको घर पनि रित्तो छ । ७६ वर्षीय सानुपासाङ याङ्गोको घर पनि भूकम्पले भत्कायो । ७५ वर्षीया श्रीमती कान्छी डोल्मा योन्जन घाइते भइन् । उपचारपछि कान्छी डोल्मा त तंग्रिइन्, तर घर कहिल्यै तंग्रिएन । दुई छोरी बिहे गरेर गइसकेपछि बुढीबुढी मात्रै बस्दै आएका उनीहरूको ओत लाग्ने ठाउँ बन्यो, हरियो टिनको छाना । त्यही छानामुनि बस्न थाले बुढाबुढी । 

बुढाबुढीले घर बनाउन सरकारी पैसा ५० हजार लिए । तर, बुढो शरीरले घरको जग हाल्न सकेनन् । बुढाबुढीले कुनै सहायता पाएनन्, कुनै एनजिओ÷आइएनजिको नजर पनि परेन । गाउँमा युवा पनि कोही थिएनन् । टहरामै बित्यो हिउँद, टहरामै बित्यो वर्षा । टहरामै पल्टिरहेको एक साँझ बुढाबुढीले निर्णय गरे, ‘यो बुढेसकालमा भो अब घर नबनाउने ।’ 

भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत टहरामै छन्, बुढाबुढी । अब बुढाबुढी दोस्रो निर्णयमा पुगेका छन् । माघको साँझ अँगेनाछेउमा आगो तापिरहेका सानुपासाङले भने, ‘अर्काको पैसा किन राख्नु । अब फिर्ता दिन्छु ।’  ‘सरकार तपाईंको पनि त हो नि ?’ सानुपासाङ खिस्स हाँसे । एकछिन बोलेनन् । झरेर आधा मात्रै बाँकी रहेको दाँत अँध्यारोमा टल्कियो । अँगेनामा आगो ठोसे । अनि भने, ‘अर्काको पैसा किन राख्नु !’

देशमा गणतन्त्र आएपछि गाउँगाउँमा सरकार पुग्यो । टोलटोलमा जनप्रतिनिधि चुनिए । तर, जति समय बित्दै गयो, उति ताल्चा लाग्न थाल्यो घरमा । चकमन्न गाउँ, झार उम्रिएको आँगन, खुइलिएको लुङ्दार, नागबेली बाटोमा धुलो उडाउँदै गुड्ने गाडी । त्यही गाडी हेर्दै टोलाइरहेका बुढाबुढी । 

विकास गाउँमा, युवा परदेशमा 
सिन्धुपाल्चोकको रमणीय स्थान हो, लिसंखु । पर्यटकीय गन्तव्य बन्न सक्ने लिसंखु तामाङ योन्जनहरूको उद्गम थलो मानिन्छ । लिसंखुलाई तामाङहरू ‘ह्रिस्याङ्खु’ भन्छन् । लिसंखुबाट गौरीशंकर हिमाल, शैलुङको लेक प्रस्ट देखिन्छ । राजधानीबाट १०४ किलोमिटरको दूरीमा छ, लिसंखु । बसको यात्राबाट ४ घन्टामै पुगिन्छ । तामाङ भेषभुषा, खानपान र संस्कृतिमा पर्यटकहरू रमाउन सक्छन् । होमस्टे र रिसोर्टहरू सञ्चालन गरी पर्यटकीय स्थल बनाउन सकिने स्थानीय बताउँछन् । पर्यटकीय स्थल बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष नेपालको भनाइ छ । तर, लिसंखु बन्दै छ, मान्छेविनाको गाउँ । वडा अध्यक्ष मोक्तान निराश हुँदै भन्छन्, ‘गाउँमा मान्छे नै छैन । मेरो पनि घरमा अस्तिसम्म बुढाबुढी मात्रै थियौँ । अहिले मलेसियाबाट छोरा आइपुगेको छ ।’ 

गाउँपालिकाको नारा छ, ‘हाम्रो गाउँ राम्रो बनाऔँ, युवा विदेश पलायन रोकौँ, आयआर्जनमुखी उत्पादन रोजाँै ।’ तर, युवाले गाउँ छाड्ने क्रम रोकिएन । गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपाल युवा गाउँमा नहुनु नै मुख्य समस्या भएको स्विकार्छन् । भन्छन्, ‘युवालाई गाउँ फर्काउने योजना ल्याएका छौँ । कृषि पेसामा लाग्ने युवालाई अनुदानको व्यवस्था गरेका छौँ । तर, युवा गाउँ फर्किएकै छैनन् ।’ 

लिसंखुमा कुनै समय ६५ प्रतिशत मानिस कृषिमा निर्भर हुने गरेको वडा अध्यक्ष मोक्तान बताउँछन् । तर, अहिले खेतीयोग्य जमिन बाँझो छ । धानखेतमा झार उम्रेको छ । मकै फल्ने बारी जंगल बनेको छ । अहिले ४० प्रतिशत मानिस मात्रै कृषिमा निर्भर हुने गरेको वडा अध्यक्ष मोक्तानको भनाइ छ । कृषिपछि त्यहाँको पेसा थांका बनाउने र काठको मखुन्डो बनाउने हो । जीविकोपार्जन गर्ने पेसा बनेको थियो, तर यो पेसा पनि अचेल थला परेको छ । गाउँमा मखुन्डो र थांका खोज्न आउनेको संख्या घटेको छैन । तर, बनाउने मान्छे छैन । मखुन्डो बनाउँदै गरेका साइँला याङ्जो तामाङ भन्छन्, ‘मखुन्डो खोज्न आउने धेरै छन् । तर, बनाउने मान्छे नै छैन ।’  गणतन्त्र आयो । देशले नयाँ संविधान पायो । तर, गाउँ रित्तिने क्रम रोकिएन । गणतन्त्रपछि गाउँ छाड्ने युवाको लस्कर घटेन, बरु बढेको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को २०१८ को मानव विकास सूचकांकअनुसार नेपाल रेमिट्यान्स भित्र्याउने दक्षिण एसियाकै पहिलो देश हो । 

गाउँ रित्तिएर भित्रिएको रेमिट्यान्सले नेपाललाई दीर्घकालीन रूपमा असर पर्ने अर्थशास्त्रीहरूको भनाइ छ । ‘यस्तो प्रकृतिको बसाइँसराइले एउटै समाजमा बाँधिएर बसेको सभ्यता र संस्कृतिमा ठूलो विचलन ल्याउँछ,’ अर्थशास्त्री डा. कृष्ण पौडेल भन्छन्, ‘परिवारबाट लामो समय बाहिर बसेपछि त्यसले अस्थिरता निम्त्याउँछ । त्यो अस्थिरताले सामाजिक मूल्यमा विघटन ल्याउँछ ।’