मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ बैशाख १ बिहीबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘गाउँका सिंहदरबार’मा पनि प्रशासनिक अस्थिरता : पाँच वर्ष नपुग्दै १३ पटकसम्म फेरिए प्रमुख प्रशासकीय अधिकृत

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ बैशाख १ बिहीबार ०६:२८:००

कहाँ कति फेरिए ?

  • हंसपुर नगरपालिका (धनुषा) : १३ 
  • सोलु–दूधकुण्ड नगरपालिका (सोलुखुम्बु) : १३
  • राप्ती–सोनारी गाउँपालिका (बाँके) : ११
  • सोरु गाउँपालिका (मुगु) : १० 
  • राजदेवी नगरपालिका (रौतहट) : ८
  • सुन्दरहरैँचा नगरपालिका (मोरङ) : ७ 

मन्त्रीको लहडमा सिंहदरबारभित्र सचिवदेखि अधिकृत तहका कर्मचारीको छिटोछिटो सरुवा गर्ने गलत अभ्यास नयाँ होइन । अब त गाउँ पुगेको ‘सिंहदरबार’मा पनि यस्तै प्रशासनिक अभ्यास सरेको छ । 

स्थानीय तहका जनप्रतिनिधिले पहिलो पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउँदै स्थानीय तह प्रशासनिक रूपमा अस्थिर देखिएका छन् । यो अवधिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही स्थानीय तहमा १३ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिदिएको छ । 

अधिकांश तहमा जनप्रतिनिधिसँगको विवादका कारण देखाएर प्रमुख प्रशासकीय अधिकृत फेरिने गरेका छन् । खटाएको ठाउँमा हाजिरै गर्न नगएका कारण पनि अर्कोलाई पठाउनुपरेको मन्त्रालयको दाबी छ । 

अस्वाभाविक सरुवा स्थानीय तहको स्वायत्ततामै हनन हो : अशोक व्याञ्जू अध्यक्ष, नगरपालिका महासंघ 

स्थानीय तहमा किन यति धेरै सरुवा गरेको भनेर संघीय सरकारका मन्त्री र सचिवलाई सोध्नुपर्छ । हामीले त मन्त्रालयले राजनीतिक उद्देश्यले काम गर्नुहुँदैन, जथाभावी सरुवा गर्नुहुँदैन भनिरहेका छौँ । कर्मचारीको कार्यसम्पादन राम्रो नभए, समस्या आए स्थानीयस्तरमै समाधान गर्नुपर्छ । अस्वाभाविक सरुवा हुनु स्थानीय तहको स्वायत्ततामै हनन हो । 

धनुषाको हंसपुर र सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिकामा १३ प्रशासकीय अधिकृत फेरिए 
धनुषाको हंसपुर नगरपालिका र सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिकामा १३ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । १२ प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका हंसपुरमा अहिले १३औँ प्रमुख प्रशासकीयको रूपमा सूर्यप्रसाद दाहाल छन् । मेयर र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा समस्या देखिएको दाहालको भनाइ छ । सोलु–दूधकुण्डमा पनि १३औँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पुरुषोत्तम अधिकारी रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत दोर्जी शेर्पाले बताए । 

बाँकेको राप्ती–सोनारी ११ र मुगुको सोरु गाउँपालिकामा १० जना फेरिए     
बाँकेको राप्ती–सोनारी गाउँपालिकामा हाल रहेका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी ११औँ हुन् । करिब एक सातादेखि उनी उक्त जिम्मेवारीमा आएका हुन् । गाउँपालिकाका प्रशासन शाखाका जीवन न्यौपानेका अनुसार १० जना सरुवा भएपछि डाँगी आएका हुन् । त्यस्तै, मुगुको सोरु गाउँपालिकामा १०औँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पूर्णबहादुर सेजुवालले जिम्मेवारी सम्हालिरहेका छन् । पदाधिकारीहरूसँगको विवाद, मुद्दामामिला, खटाइएका कर्मचारी हाजिरै हुन नआउनेलगायत कारण देखाउँदै चाँडोचाँडो सरुवा गरिएको हो । 

रौतहटको राजदेवी नगरपालिकामा आठौँ र मोरङको सुन्दरहरैँचा नगरपालिकामा सातौँ प्रशासकीय अधिकृत
रौतहटको राजदेवी नगरपालिकामा कार्यरत प्रमोद शाह आठौँ प्रमुख प्रशासकीय अधिकृत हुन् । सूचना अधिकारी दीपक खत्रीका अनुसार यसअघि सातजना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका छन् । त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिकामा अहिलेका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई सातौँ हुन् । यसअघि ६ जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको भट्टराईले बताए । 

इलामको देउमाई र मकवानपुरको थाहा नगरपालिकामा पाँचै वर्ष एउटै प्रशासक
इलामको देउमाई नगरपालिका र मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्लभ उदाहरण हुन्, जसले पाँचै वर्ष प्रशासन चलाउन पाए । देउमाई नगरका सूचना अधिकारी गोविन्दराज बास्तोलाका अनुसार सुरुदेखि नै प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दाहालले जिम्मेवारी सम्हाल्दै आएका छन् । नगरपालिकाको चुनाव हुँदा दाहाल नै निर्वाचन अधिकृत थिए । 

थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पनि पाँचै वर्ष नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाले । ‘म पहिलोपटक ०७१ फागुनदेखि ०७२ फागुनसम्म यही नगरपालिकाको प्रमुख प्रशासकीय थिएँ,’ पुरी भन्छन्, ‘निर्वाचनपछि ०७४ को असोजदेखि हालसम्म यहीँ छु ।’ 

अधिकांश तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भइरहँदा उनी कसरी लामो अवधिसम्म रहन सके त ? उनी भन्छन्, ‘यहाँ जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सौहार्द छ । जनप्रतिनिधिले कर्मचारीलाई आफ्नो तरिकाले काम गर्न दिनुभएको छ, सहज वातावरण छ । कर्मचारीमा पनि जनप्रतिनिधिसँग मिलेर, समन्वय गरेर काम गर्नुपर्छ भन्ने भावना छ । यहाँ जनप्रतिनिधि र कर्मचारीबीच राम्रो समन्वय छ ।’ 

त्यस्तै, इलामको माङ्सेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी गाउँपालिकामै कार्यरत रहेको तीन वर्ष पूरा भएर चार वर्ष लाग्यो । उनी भन्छन्, ‘स्थानीय तह प्रशासन र राजनीतिक नेतृत्वको कम्बिनेसन हो । दुवैले आ–आफ्नो सीमा बुझेर आपसी समझदारीमा काम गरे समस्या आउँदैन ।’ सर्लाहीको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल पनि साढे तीन वर्षदेखि एकै ठाउँमा छन् । ‘सुरुमा नगरपालिका स्थापना हुँदा यहीँ थिएँ, पछि पुनः फर्केर आएँ । म यहाँ कार्यरत रहेको साढे तीन वर्ष भयो,’ उनी भन्छन् ।

दुई सय ३० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन 
अहिले पनि दुई सय ३० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका अनुसार नगरपालिकामा एक सय २७ र गाउँपालिकामा एक सय तीन प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी खाली छ । त्यस्तै, ७७ जिल्ला समन्वय समितिमध्ये ३४ मा जिल्ला समन्वय अधिकारी खाली छन् ।