१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत ३० बुधबार ११:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँसहरको लमजुङ दरबार प्रवर्द्धनमा निजी क्षेत्रको चासो

सातौ लमजुङ महोत्सवको अवसरमा दरवार पर्वद्धनसम्बन्धी गोष्ठी

Read Time : > 1 मिनेट
२०७८ चैत ३० बुधबार ११:५५:००

शाहवंशीय राजाहरूको उदगमस्थलको रूपमा परिचित गाउँसहर दरबार र सँगै रहेको कालिका मन्दिर संवर्द्धन र प्रवर्द्धनमा निजी क्षेत्रले चासो दिएको छ । पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको अवसरमा गाउँसहरको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरूको सहभागितामा कार्यशाला गोष्ठी गरिएको हो । 

मन्दिरको दीर्घकालीन विकास र प्रवर्द्धनका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । 
कार्यक्रममा पर्यटन अभियन्ता कृष्णराज ओलियाले जिल्लाको पर्यटकीय सम्भाव्यता र वर्तमान विषयवस्तुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । ओलियाले ऐतिहासिक लमजुङ दरबार र समग्र पर्यटन, पर्यटन उद्योगको विकासक्रम, वर्तमान अवस्था, पर्यटन विकासमा होमस्टे कार्यक्रमका आधारहरू, जिल्लाको पर्यटकीय विशेषताहरूलगायतका विषयवस्तु आफ्नो प्रस्तुतिमा राखेका थिए । 

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रोहितचन्द्र थापाले ऐतिहासिक लमजुङ दरबार र समग्र पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने बताए । कार्यक्रममा पुरातात्विक इन्जिनियर सम्पत घिमिरे, इतिहासविद् डा. बमबहादुर अधिकारी, पूर्वराजदूत महेश दाहाललगायतले ऐतिहासिक गाउँसहर दरबारको दीर्घकालीन विकासका सम्भाव्यताबारे आफ्ना सुझाव राखेका थिए । 

१६औँ शताब्दीतिर मुलुक बाइसे–चौबीसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्म शाहले राज्य गर्थे । गाउँसहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्द्रसम्म आइपुग्यो । 

शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रूपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझेलमा परेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए ।

 ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँसहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।

मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुइँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनको कमी भएको सरोकारवालाहरूको बुझाइ छ । फस्टाउँदो पर्यटन व्यवसाय र प्रशस्त सम्भावना भएकाले अब स्थानीय सरकारले दरबारको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने स्थानीय  देवप्रसाद गुरुङको धारणा छ । मन्दिर तथा दरबारको हेरचाहका लागि सरकारले लमजुङ स्मारक तथा दरबार हेरचाह कार्यालय स्थापना गरेको छ ।