१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७५ फाल्गुण २८ मंगलबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार

पर्यटक लोभ्याउन टोलैपिच्छे घट्ट र जाँतो 

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २८ मंगलबार १७:५३:००

अछामका विभिन्न ठाउँमा अहिले पनि घट्टबाट अन्न पिस्ने चलन रहेकाे छ । जिल्लाकाे भटाकाटिया, शान्तडा र बाटुलासैनलगायतका खोलामा घट्ट रहेकाे छ । आधुनिक विद्युतीय तथा डिजेलबाट चल्ने मिल देख्नसमेत पाउदैन । ‘हरेक खोलामा घट्ट र घरमा जाँतो देख्न पाइन्छ,’ नेटाकोटका लालबहादुर साउदले भने, ‘पर्यटक लोभ्याउन यो उपाय गरिएको हो ।’ 

गाउँमा पुग्ने सबै पर्यटकले घट्ट र जाँतोबारे जिज्ञासा राख्ने गरेको उनले बताए । धार्मिक पर्यटकीय क्षेत्र बडीमालिका, रामारोशन र खप्तड जानेहरुले बाटोमा पर्ने खोला र गाउँमा पुगेर घट्ट र जाँतोको अवलोकन गर्ने गरेको रामारोशन गाउँपालिका, ५ का वडाध्यक्ष लक्ष्मण दमाईले बताए । 

पर्यटकको रुचिमा घट्ट र जाँतोमा पिसेको खानेकुरा पर्ने गरेको छ । रामारोशन गाउँपालिकाका ७ वटा वडामा एक सयभन्दा बढी घट्ट छन् । प्रत्येक टोलका अधिकांस घरमा परम्परागत जाँतो संरक्षण गरेर राखिएको छ । स्थानीय होटलमा पाहुनाका लागि घट्ट र जाँतोबाटै पिसेको अनाजबाट परिकार बनाउने गरिएको छ ।

‘पाहुनालाई घट्ट र जाँतोबाट पिसेको अनाजका परिकार दिने चलन छ,’ गज्जडबजारका होटल सञ्चालक रामबहादुर रावलले भने, ‘घट्ट र जाँतोमा पिसेको खानेकुरा स्वादिलो हुन्छ, पर्यटकले त्यही माग गर्छन ।’ घट्ट र जाँतोबाट पिसेको खाना मीठो हुनुका साथै स्वास्थ्यका लागि फाइदा जनक भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए । 

घट्ट र जाँतो संरक्षणका लागि गाउँपालिकाले समेत योजना निर्माण गरेको छ । कुलो बनाउने, पथ्थर निकाल्ने, छानो लगाउने र पाइप व्यवस्थापनमा सहयोग गरी घट्ट र जाँतो निर्माणमा सहुलियत दिने योजना रहेको गााउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताए । पर्यटक आकर्षित गर्ने सबैखाले नयाँ योजनामा गाउँपालिकाले सहयोग गर्ने उनले जानकारी दिए ।