मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत २८ सोमबार ०९:००:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहकारीको सहयोगमा फेरियो जीवनस्तर

Read Time : > 4 मिनेट
२०७८ चैत २८ सोमबार ०९:००:००

कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियाकी राजुकुमारी रोकायाको कमाइ सिजनमा ६०–७० हजार नाघ्छ । साना किसान बहुउद्देश्यीय सरकारीबाट डेढ लाख ऋण लिएर पाँच वर्षअघि सुरु गरेको डेरी व्यवसाय दिनप्रतिदिन फस्टाउँदै गएको छ । लम्कीमा रहेको उनको डेरीमा दैनिक तीन सय लिटर दूध खपत हुन्छ । डेरीबाट भएको आम्दानीले उनले गत वर्ष ११ लाख रुपैयाँमा १० धुर जग्गा जोडेकी छन् । ५० वर्षीया राजुकुमारीको विगतको अवस्था भने निकै फरक थियो । छाक टार्न धौ–धौ हुन्थ्यो । ‘आफ्नो जग्गा थिएन । साँझ–बिहान के खाउँ भन्ने समस्या हुन्थ्यो,’ उनले विगत सम्झिन्, ‘राम्रो खाने–लाउने त सपनाजस्तै थियो ।’ श्रीमान् भारतमा मजदुरी गर्थे । चिनीमिलमा काम गर्ने वेला मेसिनमा नसा काटिएर एक हात नचल्ने भयो । कमाउने मान्छे काम गर्न नसक्ने भएपछि आर्थिक अवस्था झन् नाजुक भयो । राजुकुमारी गाउँमा किसान सहकारीको समूहमा आबद्ध थिइन् । समूहमा रहेर किसान सहकारीबाट सहज रूपमा ऋण पाइने बुझेकी उनले व्यवसाय सुरु गर्ने सोच बनाइन् ।

‘सहकारीले सजिलै ऋण दिएपछि सानो डेरी सुरु गरेँ । कारोबार बिस्तारै बढ्दै गयो,’ उनले खुसी पोखिन्, ‘पहिले गाउँमा सय रुपैयाँ ऋण पनि पत्याउँदैनथे । अहिले स–सानो खर्चका लागि हात फैलाउनु पर्दैन ।’ किसान सहकारीबाटै थप तीन लाख ऋण लिएर उनले व्यवसाय विस्तार गरिन् । डेरीमा उनलाई छोराबुहारीले पनि सघाउँछन् । घरमा दुई भैँसी र एउटा गाई पनि पालेकी उनले उत्पादित दूध आफ्नै डेरीबाट बेच्छिन् । ‘गाउँमा सय–दुई सय पनि पत्याउँथेनन्, सहकारीले विश्वास गरेर ऋण दियो,’ उनले भनिन्, ‘त्यही सहयोगले यहाँसम्म पुर्‍यायो ।’

जानकी गाउँपालिका–८, भोक्सीकी इमानी थरुनी तरकारी खेती गर्छिन् । किसान बहुउद्देश्यीय सहकारीबाट तीन लाख रुपैयाँ ऋण लिएर उनले गत वर्षबाट १४ कठ्ठा जमिनमा तरकारी खेती लगाउन थालेकी हुन् । आफ्नै खेतबाट उत्पादित अन्नले खान पुग्ने भए पनि आम्दानीको स्रोत नहुँदा घरखर्च चलाउन समस्या थियो । तरकारी खेती सुरु गरेपछि भने घरखर्च चलाउन निकै सहज भएको उनको अनुभव छ । नुन, तेल किन्ने जस्ता घरायसी खर्चको समस्या टरेको उनले सुनाइन् । तरकारी बिक्रीबाट हुने आम्दानीले नियमित बचत पनि गर्न थालेकी छन् ।

‘अन्न किन्नुपर्थेन, तर नुन–तेल, औषधि–उपचार खर्चको जोहो गर्न निकै समस्या थियो । तरकारी खेतीले सहज भएको छ,’ इमानीले भनिन्, ‘सहकारीबाट लिएको ऋणले बिउ, मललगायत आवश्यक सामग्री किनेर तरकारी लगाउन सुरु गरेँ । त्यहीँबाट हुने आम्दानीले घरखर्च र बैंकको किस्ता तिर्न पुगेको छ,’ उनले उत्पादित तरकारी टीकापुर, लम्की, चिसापानी बजारमा बिक्री गर्ने गरेको बताइन् । लम्की–चुहा नगरपालिका–४, बलियाकी शोभादेवी चौधरी किराना र नास्ता पसल चलाउँछिन् । साना किसान सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएर उनले व्यवसाय सुरु गरेकी हुन् । त्यही पैसाबाट पसलको संरचना पनि बनाएकी उनले चार लाख रुपैयाँ ऋण तिरिसकेकी छन् । श्रीमान् पनि बेरोजगार थिए । सामान्य घरखर्च चलाउन समस्या थियो । अहिले भने व्यवसायबाट आम्दानी हुन थालेपछि उनले आफ्ना दुवै छोरा बोर्डिङ स्कुल भर्ना गरेकी छन् ।

‘व्यवसाय सुरु गर्न गाउँमा ऋण खोज्दा कसैले पत्याएनन्,’ उनले भनिन्, ‘आफ्नै व्यवसाय गर्न चाहन्छु भनेपछि किसान सहकारीले पत्यायो र सजिलै ऋण पाएँ ।’ किसान सहकारीको समूहमा आबद्ध भएपछि सजिलैसँग ऋण लिएर व्यवसाय गर्न सकिने बुझेको उनी बताउँछिन् । पसलबाट हुने आम्दानीले बैंकको किस्ता तिर्न, घरखर्च र छोराछोरीको पढाइ खर्च धानेको उनले सुनाइन् । ‘स–सानो खर्चका लागि पनि पहिलेको जस्तो अभाव भोग्नुपरेको छैन,’ शोभा भन्छिन्, ‘व्यवसाय पनि ठीकै चलेको छ ।’ मासिक २०–२५ हजार आम्दानी हुने गरेको उनी बताउँछिन् । किसान सहकारीअन्तर्गत गाउँको महिला समूहमा नियमित बचत पनि गर्ने गरेको उनले बताइन् ।

कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिएर महिलाहरू उद्यमी बनेका यी केही प्रतिनिधि उदाहरण हुन् । यो सहकारीबाट ऋण लिएर धेरै महिला उद्यमी बनेका छन् । सहकारीबाट सहजै ऋण पाएपछि व्यावसायिक तरकारी खेती, बंगुरपालन, कुखुरापालन, किराना पसल, सिलाइकटाइजस्ता उद्यममा लाग्ने महिलाको संख्या ठूलो छ । किसान सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले सहकारीबाट करिब ३० हजार जनाले ऋण लिएकोमा तीमध्ये करिब २९ हजार महिला रहेको जानकारी दिए । ऋण लिएका महिलामध्ये करिब ४० प्रतिशत उद्यमी बनेका उनले बताए । ‘आर्थिक अवस्था न्यून भएका दिदीबहिनीहरूलाई ऋण लगानी गरेर कृषि, पशुपालन, सिलाइकटाइ, व्यापार आदिमार्फत उद्यमी बन्न प्रोत्साहन र सहयोग गरिरहेका छौँ,’ महाप्रबन्धक शाह भन्छन्, ‘हाम्रो सहकारीबाट ऋण लिएर राम्रो प्रगति गरेका थुप्रै उदाहरण छन् ।’ विनाधितोसमेत सहकारीले ऋण प्रवाह गर्ने गरेको उनले बताए । महिलालाई उद्यमसँग जोड्नेसँगै गाउँगाउँमा समूह गठन गरेर बचत गर्नका लागि प्रोत्साहन पनि गर्ने गरेको सहकारीले जनाएको छ । 

मुख्यतः कृषि र पशुपालनलाई प्राथमिकता दिएर लगानी गरिरहेका छौँ : डम्बरबहादुर शाह

महाप्रबन्धक, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कैलाली

किसान बहुउद्देश्यीय सहकारीले कुन–कुन क्षेत्रमा लगानी गरेको छ, प्राथमिकताका क्षेत्र के हुन् ?
हामीले मुख्यतः कृषि र पशुपालनलाई प्राथमिकता दिएर लगानी गरिरहेका छौँ । कोरोना संक्रमणपछि यी क्षेत्रमा आकर्षण पनि बढेको छ । बढी रोजगार र स्वरोजगार सिर्जना गर्ने सम्भावनाको क्षेत्र पनि यही हो । यसबाहेक नवीकरणीय ऊर्जालाई पनि प्राथमिकता दिन्छौँ । सन् २०३० सम्म गरिबी र बेरोजगारी अन्त्य गर्ने तथा २०५० सम्म कार्बन उत्सर्जन न्यूनीकरणको बिन्दुमा झार्ने दिगो विकासको लक्ष्यअनुरूप नवीकरणीय ऊर्जाअन्तर्गत सोलार पावरलगायतमा काम गरिरहेका छौँ । विद्यार्थी, विद्यालयहरूसँग पनि समन्वय गरेर नवीकरणीय ऊर्जामा काम गरिरहेका छौँ । इन्डक्सन चुलोमा पनि लगानी गर्ने कि भनेर अध्ययन गरिरहेका छौँ । लगानीको अवस्था हेर्दा कृषि र पशुपालनमै बढी छ । बेमौसमी तरकारी खेती गर्ने, दूध उत्पादन बढाउने ।

लगानी गर्दा के कुरामा ध्यान दिनुहुन्छ ?
सबैभन्दा पहिले त इच्छाशक्ति हेर्छौं । कामको अनुभव हेर्छाैं । काम गर्न चाहेको क्षेत्रबारे अनुभव, दक्षताको कमी भए तालिम उपलब्ध गराउँछौँ । तालिमका लागि प्राविधिक जनशक्ति हामीसँग छ । मूलतः जोस, जाँगर इच्छाशक्ति र आँट हेर्छौं । केही गर्ने इच्छाशक्ति, जोस, जाँगर भए विनाधितो पनि ऋण उपलब्ध गराउँछौँ ।

किसान सहकारीको अवस्था कस्तो छ ? कति सेयर सदस्य छन् ?
हाम्रो सहकारीमा ६८ हजार सेयर सदस्य हुनुहुन्छ । सात जिल्लामा ३८ सेवा केन्द्रबाट सेवा दिइरहेका छौँ । कामकारबाही र सेवा प्रवाह सहज र पारदर्शी बनाउन अत्याधुनिक प्रविधि प्रयोग गरिरहेका छन् । मोबाइल एप्स प्रयोगमा ल्याएका छौँ । आफ्नो रकमको विवरण सेयर सदस्यले त्यसमा हेर्न सक्नुहुन्छ । रकम झिक्दा शुल्क नलाग्ने गरी एटिएमको सुविधा दिइरहेका छौँ । हाम्रा सेयर सदस्यहरूले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि आगामी १ वैशाखबाट किसान मार्ट सञ्चालनमा ल्याउँदै छौँ । जानकी गाउँपालिकामा साढे दुई बिघा जमिन भाडामा लिएर खेती गर्न चाहनेलाई कृषि सिकाइरहेका छौँ ।

गत वर्ष हाम्रो वासलात पाँच सय करोड थियो । चार सय ४० करोड लागनी, तीन सय ८० अर्ब बचत र १५ करोड मुनाफा भएको थियो । ०५२ सालमा स्थापना भएको यो सहकारीले ०६४ बाट प्रत्येक वर्ष आफ्ना सेयर सदस्यहरूलाई लाभांश वितरण गर्दै आएका छौँ । हामीले सामाजिक कार्यलाई पनि निरन्तरता दिएका छौँ । कोरोनाका वेला लम्की, टीकापुर, भजनी अस्पतालमा अक्सिजन बैंक स्थापना गरेर अक्सिजन आपूर्तिमा सहयोग गरेका थियौँ । कोरोनाको वेला स्थानीय तहमार्फत खाद्यान्न, नगद सहयोग गर्‍यौँ ।

तपाईंको सहकारीबाट सेयर सदस्यले कसरी लाभ लिइरहेका छन् ?
ऐन, नियमावलीबमोजिम १८ प्रतिशत डिबेन्ट दिन्छौँ । प्रविधिको प्रयोग गरेर काम गरिरहेका छौँ, जसले गर्दा कुनै सेवाका लागि सदस्य कार्यालय आइराख्नु पर्दैन । आफ्नो घरमा बसेर नै सामान्य मोबाइलबाटै हाम्रा संस्थाका थुप्रै सेवा लिन सक्नुहुन्छ । हामी एकदमै प्रविधिमैत्री छौँ । सदस्यको मृत्यु भएमा परिवारलाई सहयोगस्वरूप २५ हजार रुपैयाँ दिने गरेका छौँ । सेयर सदस्य र अन्य नागरिकका लागि पटक–पटक स्वास्थ्य शिविर सञ्चालन पनि गर्दै आएका छाैँ ।

सहकारीले चर्को ब्याज असुल्ने गरेको आमगुनासोप्रति तपाईंहरू कति सजग हुनुहुन्छ ?
केही वित्तीय संस्थाले गर्दा सबैलाई हेर्ने नजर उस्तै हुनुहुँदैन । यो गुनासोप्रति हामी एकदमै सचेत छौँ । हामी ग्राहक सुरक्षण सिद्धान्तअन्तर्गत स्मार्ट सर्टिफाइड संस्था हौँ । स्मार्ट सर्टिफाईको सर्टिफिकेट त्यत्तिकै पाइँदैन, संस्थाका मान्छे आएर, निरीक्षण, अध्ययन गरेर, हाम्रा सदस्यसँग अन्तक्र्रिया गरेर मात्र दिइन्छ । हामी एकदमै पारदर्शी छौँ । हामीले लिने ब्याज कुनै लुकाउनुपर्ने छैन । कुनमा कति ब्याज छ भनेर हरेक सेवा केन्द्रमा बडापत्र राखेका छौँ । लुकाएर गर्नुपर्ने केही छैन । एकदमै पारदर्शी रूपमा काम गरेको हुनाले नै हामीलाई हजारौँ सदस्यले विश्वास गर्नुभएको छ । हामी यही विश्वास कायम राखिराख्न चाहन्छौँ ।