Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत २५ शुक्रबार २१:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा नवनियुक्त मन्त्रीले लिए शपथ

Read Time : > 1 मिनेट
२०७८ चैत २५ शुक्रबार २१:२१:००

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा गएको हो । केन्द्रमा भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका केही मन्त्री फिर्ता बोलाएर ठाउँ खाली गरिदिएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेस र नेकपा एकीकृत समाजवादीका केही मन्त्री थप गरेर शुक्रबार बेलुकी मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहाेरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका आउजी सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यसअघि समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले राजीनामा दिएका थिए ।

त्यस्तै समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामा तामाङ र सोही मन्त्रालयको राज्यमन्त्री माया तामाङ बोहाेरालाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा पार्टीबाट नयाँलाई पठाएको छ । समाजवादीबाट आर्थिक मामिलामन्त्री प्रकाश रावल र राज्यमन्त्री माया तामाङ बोहाेरा नियुक्त भएका छन् । समाजवादीले भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमार चौधरीलाई पनि फिर्ता बोलाएको छ । उनको ठाउँमा समाजवादीकै कुलबीर चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । 

नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले शुक्रबार साँझ नै शपथग्रहणसँगै पदबहाली गरेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ गराएका थिए । चार राज्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डलमा माओवादीबाट मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री, समाजवादीबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । 

सुदूरपश्चिममा यसअघि माओवादी र समाजवादीको सरकार थियो । यसअघि, नेपाली कांग्रेसले प्रदेश सरकारमा सहभागिता जनाउने इच्छा व्यक्त गर्दै आए पनि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले मानेका थिएनन् । तर, स्थानीय तहमा चुनावी तालमेलको समीकरण मिलाउनका लागि कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।

आगामी स्थानीय तहको चुनावमा सुदूरपश्चिममा गठबन्धनका लागि प्रदेश सरकारमा आफूलाई पनि सहभागी गराउनुपर्ने माग कांग्रेस सुदूरपश्चिमका नेताहरूले गर्दै आएका थिए । शुत्रबार रातिबाट निर्वाचन आचारसंहिता लाग्ने भएपछि हतारहतार बेलुकी मन्त्रिमण्डल पुनर्गठन गरिएको हो । हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा १४ सदस्यसहित नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल छ । प्रदेश सभामा माओवादीका १३, कांग्रेसका १२, एमालेका ११ तथा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीका एक/एक सदस्य छन् । कांग्रेस सरकारमा सहभागी भएपछि सुदूरपश्चिम प्रदेश सभामा अब प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भएको छ ।