१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गत कात्तिकमा आएको बेमौसमी वर्षाले भिजाएको धान स्याहार्दै जुम्लाका किसान । फाइल तस्बिर
२०७८ चैत २३ बुधबार ०८:४८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीले १९ लाखभन्दा बढीको धानबाली क्षति, राहत रकम पाँच लाख

Read Time : > 2 मिनेट
२०७८ चैत २३ बुधबार ०८:४८:००

गत कात्तिक पहिलो साता जुम्लामा बेमौसमी वर्षासँगै आएको बाढीले ठूलो मात्रामा धानबाली क्षति गर्‍यो । बाढीबाट तिला र तातोपानी गाउँपालिकाका किसान धेरै मारमा परे । बाढीले धानबालीमा क्षति भएपछि किसानले राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला विपद् व्यवस्थापन समितिमा निवेदन दिए । तर, अहिलेसम्म पनि उनीहरूले राहत पाएका छैनन् ।

बेमौसमी वर्षाले तिला र तातोपानी गाउँपालिकाका ११ सय १२ किसानको १८ सय ७३ कट्ठामा लगाएको मार्सी धानमा क्षति पुगेको तथ्यांक छ । जसकारण संसारको उच्च स्थानमा फल्ने नामले परिचित मार्सी धान लोप हुने खतरा देखिएको छ । जिल्ला प्रशासन कार्यालयले पीडित किसानका लागि १९ लाख ३५ हजार चार सय ६५ रुपैयाँ गृह मन्त्रालयसँग माग गरेको थियो । तर, गृहले पाँच लाख रुपैयाँ मात्र उपलब्ध गरायो । क्षतिभन्दा कम रकम प्राप्त भएपछि किसानहरू आक्रोशित भएका छन् ।

‘गृह मन्त्रालयले पठाएको रकम भागबन्डा गर्दा एकजना किसानको भागमा चार सय १२ रुपैयाँ मात्र पर्छ । यति सानो रकम किसानको खातामा पठाउन पनि सकिएको छैन । नपठाउने हो भने फ्रिज हुने चिन्ता, पठाउने हो भने यो रकमले एक छाकसमेत टर्दैन । निकै समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले भनिन्, ‘कर्णाली प्रदेश सरकारसँग पहल भएकाले पर्खाइमा छौँ । यदि उसले सहयोग गरेमा संयुक्त रूपमा किसानलाई उपलब्ध गराउनेछौँ ।’ पछिल्लो समय जलवायु परिवर्तनका कारण कहिले धेरै वर्षा भइदिने र कहिले सुक्खा खडेरी हुने भएकाले विपद्का घटना बढिरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताइन् ।

विपद्ले सातजनाको मृत्यु
जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्षमा विपद्बाट सातजनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा आएको बेमौसमी बाढीका कारण पातारासी गाउँपालिकामा एक, हिमामा एक, तातोपानीमा तीन र हिमपहिरामा परेर तातोपानी गाउँपालिकामा दुई गरी सातजनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । विपद्का कारण मृत्यु भएका ६ जनाको परिवारलाई जनही दुई लाख गरेर १२ लाख र एकजनालाई एक लाख गरेर १३ लाख रुपैयाँ राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिइन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रसाईंले जुम्लामा विपद्का घटना बढिरहेको बताइन् ।

आवास नष्ट भएका ८९ जनालाई राहत प्रदान
बाढीपहिरो, वर्षा र आगलागीका कारण निजी आवास नष्ट भएका ८९ घरधनीलाई तत्काल २५ हजार रुपैयाँ, १२ घरधनीलाई २० हजारका दरले १५ लाख ७५ हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराएको जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले जनाएको छ । समितिले बाढीपहिरो र हिमपातसम्बन्धी सूचना प्रवाहमा कुनै कन्ज्युस्याइँ नगरेको प्रसाईंले बताइन् । विपद्का घटना न्यूनीकरण गर्न जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्तरोन्नति गरिएको र केन्द्रका लागि आवश्यक पर्ने कम्प्युटर, टेलिफोन र सोलार तथा इन्टरनेटको व्यवस्थापन गरिएको उनको भनाइ छ । 

प्रसाईंले स्रोतसाधनको अभाव, निजी आवास निर्माणका लागि स्थानीय विपद् व्यवस्थापन समितिको सक्रियता र क्षमताको अभाव, बेमौसमी वर्षात्का कारण हुने क्षतिको राहत संकलनमा समस्या देखिएको बताइन् । उनले जिल्ला विपद् व्यवस्थापन समितिको सुदृढीकरण, मानवीय क्षति पु¥याउने हिमाली वन्यजन्तुको नियन्त्रण तथा व्यवस्थापनका लागि ट्रेनक्विलेजरजस्ता साधनको अभाव, बस्ती स्थानान्तरण, मानव बस्ती र सडक आसपासमा रहेका ठुल्ठूला चट्टानको व्यवस्थापन गर्न कठिन हुनुका साथै विपद्सम्बन्धी सूचना संकलन गर्न मुख्य चुनौती रहेको बताइन् ।

बेमौसमी वर्षाले क्षति पु¥याएको तिला र तातोपानीमा खानेपानी आयोजना सञ्चालनका लागि १५ हजार एक सय ९१ मिटर पाइप उपलब्ध गराएर तत्काल खानेपानी सञ्चालन गरिएको थियो । नेत्रज्योति मावि हाँकुमा वर्षासँगै आएको बाढीले नराम्ररी क्षति पुगेको थियो । खेलमैदान निर्माणका लागि सुरक्षा निकाय, सामाजिक संघसंस्थाको सहयोगमा आवश्यक सामग्रीको व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइएको छ । विपदबाट क्षति भएको भौतिक पूर्वाधारहरू सडक, सिँचाइ, विद्यालय भवन तथा घट्टको विवरण तयार पारेर गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।