मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ फाल्गुण २८ मंगलबार ०९:५३:००
Read Time : > 1 मिनेट
विश्व

इथियोपिया विमान दुर्घटनापछि  बोइङ ७३७ म्याक्स ८ मोडलका जेट ग्राउन्डेड

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण २८ मंगलबार ०९:५३:००

इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले ‘बोइङ–७३७ म्याक्स ८ जेट’ लाई उडानबाट हटाएका छन् । सुरक्षाको कारण दर्शाउँदै विभिन्न वायुसेवा कम्पनीले ‘बोइङ–३७ म्याक्स ८ जेट’ लाई उडानबाट हटाएका हुन भने अन्य केही कम्पनीहरूले पनि हटाउने तयारी गरेका हुन् । बोइङको महत्वपूर्ण बजार मानिने चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरू सोमबारदेखि नउडाउने निर्णय गरेको छ । भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल गरेको जनाएको छ । विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने अन्य देशका वायुसेवा कम्पनीहरूले संकेत गरेका छन् । इथोपियाको आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ–७३७ आइतबार बिहान दुर्घटनाग्रस्त हुँदा विमानमा सबार सबै १५७ जनाको मृत्यु भएको थियो ।  

 विमान सुरक्षाबारे सर्वत्र शंका
पाँच महिनाभित्रै दोस्रोपटक बोइङ–म्याक्स मोडलको विमान दुर्घटना भएपछि  यसको सुरक्षामाथि प्रश्नचिह्न खडा भएको छ । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही ७३७ मोडेलको बोइङ इन्डोनेसियामा दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । पाँच महिनाअघि दुर्घटनाग्रस्त लायन एयर र आइतबार दुर्घटनामा परेको इथोपियन एयरलाइन्सको विमानमा एकै प्रवृत्तिको समस्या आएको विज्ञहरू बताउँछन् । विमानसम्बन्धी विज्ञ रिचार्ड आबुलाफिया भन्छन्, ‘दुवै दुर्घटनाग्रस्त विमान  एकै मोडेलका हुन् । लायन एयरझैँ इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ । पाइलटले प्राविधिक समस्या आएको खबर गर्नासाथ दुवै विमान दुर्घटनाग्रस्त भएका छन्  ।’

बोइङ–७३७ म्याक्स नउडाउन चीनको निर्देशन
चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरूलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरूको व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । एउटै मोडेलका दुई विमान ५ महिनाको अन्तरालमा दुर्घटनाग्रस्त भएपछि चीनले पछिल्लो कदम चालेको हो । सो निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स र अन्य कम्पनीहरू प्रभावित हुनेछन् । 

चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरू नउडाउन निर्देशन दिएको हो । प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो सुनिश्चितता भएपछि मात्र उडान सुचारु गरिने उल्लेख  छ । उड्डयन प्रशासनले अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ ।

 इथियोपियन एयरलाइन्सद्वारा ७३७ म्याक्सका उडान स्थगित
इथियोपियन एयरलाइन्सले बोइङ ७३७ म्याक्स मोडेलको विमान दुर्घटनाग्रस्त भएसँगै यस मोडेलका अरू विमान तत्काल नउडाउने निर्णय गरेको छ । ‘इथियोपियन एयरलाइन्सका सबै बी–७३७–८ म्याक्स विमानहरूको उडान अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको छ,’ एयरलाइन्सका तर्फबाट जारी ट्विटमा भनिएको छ । इथियोपियन एयरलाइन्स इथियोपियाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो ।

 ७३७ म्याक्सप्रति चौतर्फी चासो 
अक्टोबरमा लायन एयर दुर्घटनाग्रस्त भएपछि बोइङ–७३७ म्याक्स मोडलका विमानलाई  शंकाका दृष्टिले हेर्न थालिएको थियो । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । आइतबारको दुर्घटनाले बोइङको बजार प्रभावित हुन सक्ने विज्ञहरूले बताएका छन् । कम्पनीले बोइङ–७३७ म्याक्सलाई उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो ।