१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २८ मंगलबार ०९:४३:००
Read Time : > 3 मिनेट
सेयर बजार

१.२६ प्रतिशत बढ्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २८ मंगलबार ०९:४३:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ । पछिल्ला दिनहरूमा दैनिक औसतमा २० करोडबराबरको सेयर खरिद–बिक्री भइरहेको थियो । यस दिन भने कारोबार रकम बढेर ४० करोड नाघेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताको मनोबल बढेको छ । लामो समयसम्म सुस्त गतिमा रहेको बजारले अब सकारात्मक गति लिने अपेक्षाले लगानीकर्ता बजार प्रवेश गर्न थालेको एक ब्रोकरले बताए । नेप्सेसँगै कारोबार रकम बढ्नु बजार बढ्ने बलियो संकेत भएको उनको भनाइ छ । आइतबार नेप्सेमा प्राविधिक समस्या आएपछि लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन् ।

बजार सारांश
यस दिन नेप्से परिसूचक १४ दशमलव २८ अंक बढेर १ हजार १ सय ४२ दशमलव ९३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव १३ अंक बढेर २ सय ४३ दशमलव २६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव १९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १२ अंक बढेको छ । यस दिन १ सय ७१ कम्पनीको ६ हजार ७ सय ५३ पटकको कारोबारमा ४० करोड २८ लाख ४० हजार रुपैयाँबराबरको १३ लाख ४७ हजार ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
 
प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ५८ दशमलव ३२ स्केलमा पुगेको छ । बजार बढे पनि यस आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ३ दशमलव ५७ रहेको छ । कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये यस दिन १ सय १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३७ दशमलव २४ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ३१ दशमलव ५६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय २० दशमलव १९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ४८ दशमलव ६१ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ५४ दशमलव २९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

तीन कम्पनीको कारोबार रकम २ करोड नाघ्यो
यस दिन कारोबारमा आएका कम्पनीमध्ये ३ कम्पनीको कारोबार रकम २ करोड नाघेको छ । यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २ करोड ८९ लाख ८६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, एनआइसी एसियाको यस दिन २ करोड २१ लाख र प्रभुको २ करोड १७ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सोबाहेक अन्य ५ कम्पनीहरूको कारोबार रकम १ करोड नाघेको छ । सेयर संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । प्रभुको यस दिन ९३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच भएको छ । अपरको यस दिन ७ सय १६ पटक सेयर कारोबार भएको छ ।
 
९ प्रतिशत बढ्यो ङादीको सेयर मूल्य
यस दिन ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्य ८ दशमलव ७७ प्रतिशत बढेको छ । त्यसैगरी, कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ दशमलव ८४ प्रतिशत र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव १५ प्रतिशत बढेको छ । सेन्ट्रल फाइनान्स, सपोर्ट माइक्रो फाइनान्स, हाथवे फाइनान्स र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । 

१० समूहको बढ्यो १ समूहको घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने १ समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ४७ प्रतिशत बढेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको परिसूचक १ दशमलव ७८ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ४६ प्रतिशत, व्यापार समूहको १ दशमलव ११ प्रतिशत र लघुवित्त समूहको १ दशमलव शून्य १ प्रतिशत बढेको छ । विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ७१ प्रतिशत, होटेल समूहको शून्य दशमलव ७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव ११ प्रतिशत बढेको छ । कारोबारमा आएको अन्य समूहको परिसूचक भने यस दिन शून्य दशमलव २३ प्रतिशत घटेको छ । 

 काठमाडौं क्यापिटलको नाम परिवर्तन
काठमाडौं क्यापिटल मार्केट लिमिटेडले नाम परिवर्तन गरेको छ । परिवर्तनपश्चात् कम्पनीले बिओके क्यापिटल मार्केट लिमिटेडको नाममा कारोबार गर्नेछ । पुस २९ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । 

कारोबार रोक्का
नेप्सेले सोमबार दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । यस दिन नेप्सेले पूर्णिमा विकास बैंक र जेबिल्स फाइनान्सको सेयर कारोबार रोक्का गरेको हो । एक्विजिसन प्रयोजनका लागि यी दुवै कम्पनीको कारोबार रोकिएको हो । पूर्णिमा विकास बैंकलाई साइन रेसुंगा डेभलपमेन्ट बैंकले एक्वायर गर्ने भएको छ भने जेबिल्स फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले एक्वायर गर्नेछ । 

ग्रिन लाइफको आइपिओ निष्कासन बन्द
ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आइपिओ)मा आवेदन दिने म्याद फागुन २७ गते सकिएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको कुल सेयरमध्ये कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर–७ मार्बुका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता, गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी, ६ चंखु, ८ खारे र ९ गौरीशंकर गाउँपालिका बासिन्दाका लागि ७ लाख २० हजार कित्ता र गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ जुगु वडा नम्बर ३ र ४ झ्याकु र विग गाउँपालिका वडा नम्बर–४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता छुट्याएको छ । कम्पनीले निष्कासन गरेको आइपिओलाई केयर रेटिङ नेपाल ‘केयर एनपी आइपिओ ग्रेड फोर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस योजनाको प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ दशमलव ४९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३ दशमलव १६ वर्ष रहेको छ ।

 मिथिलाको साधारणसभा
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २३ गते बौवा होटेलको सभाहल, धनुषामा दशौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १० दशमलव ४५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, सेयर स्वामित्व परिवर्तन गर्ने, मर्जर–एक्विजिसन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएको छ ।