१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रीलोचन राजोपाध्याय
२०७५ पौष ७ शनिबार ०८:२६:००
Read Time : > 2 मिनेट
खेलकुद

बिग बासमा सन्दीपको सनसनी

Read Time : > 2 मिनेट
श्रीलोचन राजोपाध्याय
२०७५ पौष ७ शनिबार ०८:२६:००

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट लिगमा सन्दीप लामिछानेले पुनः एकपटक सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अस्ट्रेलियामा शुक्रबार नेपालका लेग स्पिनर सन्दीपले बिग बास टी–२० लिगको डेब्यु खेलमै दुई विकेट लिँदै स्थानीय तथा अन्तर्राष्ट्रिय मिडियामा ध्यानकेन्द्रित गर्न सफल भएका छन् । मेलबर्न स्टार्सबाट सिड्नी थन्डरविरुद्ध सन्दीपले डेब्यु गरेका हुन् ।

तेस्रो खेलसम्म बिग बासमा दुई विकेट लिने उनी पहिलो बलर हुन् । यद्यपि, सन्दीपले उत्कृष्ट बलिङ गरे पनि मेलबर्न डक वर्थ लेविस आधारमा १५ रनले पराजित भएको छ । थन्डरले पहिलो ब्याटिङ गरी २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । वर्षाले प्रभावित पारेको खेलमा मेलबर्नले ८ ओभरमा ९० रनको नयाँ लक्ष्य पायो । मेलबर्नले ८ ओभरमा ६ विकेट गुमाएर ७४ रन मात्र जोड्यो । 

तेस्रो ओभर खर्चिलो

पहिलो ओभरमा कप्तान म्याक्सवेलको मन जितेका सन्दीपले त्यसपछि ब्रेक निकाल्न निरन्तर बलिङ गर्ने अवसर पाए । तर, सन्दीपले त्यसपछिका तीन ओभरमा मेलबर्नलाई विकेट दिलाउन सकेनन् । उनले दोस्रो ओभरमा ६ रन तथा चौथो ओभरमा ८ रन खर्चिंदै कसिलो बलिङ गरे । तर, तेस्रो ओभरमा भने उनी खर्चिलो देखिए । जसमा उनले १३ रन दिए । सन्दीपले फ्याँकेका ८ बलमा विपक्षी ब्याट्सम्यानले रन बनाउन सकेनन् । उनले पहिलो खेलमा ३ छक्का र १ चौका सामना गरे । 

म्याक्सवेलले काँधमा बोके

अस्ट्रेलियन अलराउन्डर वाट्सन टी–२० फम्र्याटमा १४५.३२ को स्ट्राइकमा ब्याटिङ गर्छन् । अस्ट्रेलियन टोलीबाट प्रतिनिधित्व गर्दै वाट्सनले ५८ खेलमा १ शतक तथा १० अर्धशतक बनाइसकेका छन् । अस्ट्रेलियाका भरपर्दा ब्याट्सम्यान कहलाएका वाट्सनको कप्तानीमै थन्डर क्यानवेरा मैदानमा उत्रेको थियो । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलका नजरमा वाट्सनको विकेट महत्वपूर्ण थियो ।

उनले अद्वितीय बलिङशैलीका धनी सन्दीपलाई आठौँ ओभरमा बल दिए । सन्दीपले दोस्रो बलमै वाट्सनको विकेट लिँदा सबैभन्दा धेरै खुसी म्याक्सवेल देखिए । वाट्सनको विकेट लिँदा खुसी मनाइरहेका सन्दीपलाई म्याक्सवेलले झ्याप्पै काँधमा बोकी खुसी मनाए । ‘ह्वाट अ विकेट’ म्याक्सवेलले सन्दीपको तारिफ गर्दै ट्विटरमा पोस्ट गरेका छन् ।

यता क्रिकेट डटकम अस्ट्रेलियाले सन्दीपको डेब्यु र वाट्सनको विकेटलाई धन्यवाद दिएको छ । ‘नेपालका युवा स्टार सन्दीप लामिछानेले बिबिएलमा स्मरणीय डेब्यु गरे, अझ योभन्दा उल्लेखनीय पक्ष भनेको उनले वाट्सनको विकेट लिन सफल भए, सन्दीपलाई धन्यवाद छ,’ सन्दीपको प्रशंसा गर्दै डटकम लेख्छ । 

खेलअघि नै सन्दीपको प्रशंसा

हुनत सन्दीप र म्याक्सवेलबीचको सम्बन्ध नयाँ होइन । यसै सिजनमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप र म्याक्सवेलले एकै क्लब दिल्ली डेयरभिल्सबाट प्रतिस्पर्धा गरेका थिए । दिल्लीबाट अन्तिम तीन खेलमा मात्र खेल्न अवसर पाएका सन्दीपले विश्वलाई चकित पारे ।

आइपिएल र अन्य अन्तर्राष्ट्रिय टी–२० खेलमा सन्दीपले गरेको प्रदर्शनबाट दंग भएका म्याक्सवेलले भनेका छन्, ‘सन्दीपले छोटो उमेरमै  आफूलाई स्थापित गर्न सफल भए ।’ म्याक्सवेलले आइपिएलमा सन्दीपसँगै प्रशिक्षण गरेको क्षणलाई खुलाएका छन् ।

‘हामीले सँगै दिल्लीको क्याम्पमा प्रशिक्षण गरेका थियौँ,’ उनले भने । आइपिएलको नेट सेसनमा सन्दीपको बल बुझ्न दुई साता लागेको म्याक्सवेल सुनाउँछन् । ‘मलाई सन्दीपको बल बुझ्न दुई साता लागेको थियो,’ आइपिएलको दिन सम्झिँदै म्याक्सवेलले भने ।

पहिलो ओभरमै दुई विकेट

दुई साताअघि सारजहाँमा सम्पन्न टी–१० लिगमा सन्दीपले केरलाबाट डेब्यु खेलमा ३ विकेटसहित म्यान अफ दी म्याच उपाधि जितेका थिए । सन्दीपले टी–२० कै झझल्को दिँदै बिग बासमा आफ्नो पहिलो ओभरमै स्टार ब्याट्सम्यानलाई आउट पारे । उनले सिड्नी थन्डरका कप्तान सेन वाट्सर्नलाई दोस्रो बलमै निकी लाकर्नबाट लङ अफमा उत्कृष्ट क्याच समाप्त लगाए ।

त्यसपछि अन्तिम बलमा दक्षिण अफ्रिकाका ३४ वर्षीय ब्याट्सम्यान कालुम जेम्स फगुर्सनलाई कट एन्ड बोल्ड गर्दै सन्दीपले बिग बास लिगमा खेल्ने सपना मात्र पूरा गरेनन्, उनले आफ्नो डेब्युलाई समेत स्मरणीय बनाए । उनले पहिलो ओभरमा केवल ३ रन मात्र खर्चे । समग्रमा सन्दीपले ४ ओभरमा ३६ रन खर्चे ।