मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत १७ बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेँसीसहर–चामे सडकमा हटाइँदै काठेपुल, तिमाङ छहरामा कल्भर्ट निर्माण

Read Time : < 1 मिनेट
२०७८ चैत १७ बिहीबार १५:२२:००

लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकखण्ड सञ्चालनमा आएको छ। सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण गरिएको हो। जिल्लाको नासो गाउँपालिका– ९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ।

गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि काठेपुल राखेर यातायात सञ्चालन गरिएकोमा गत कात्तिकमा आएको बाढीपहिरोले पुनः बगाएको थियो। नासों–९ दानक्यु र चामे गाउँपालिका– १ तिमाङको तल्लो क्षेत्रको तिमाङ छहरामा उक्त कल्भर्ट पुल निर्माण गरिएको हो। यससँगै गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि पूर्ण रूपमा खुलाइएको बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। कल्भर्टको ढलान पूर्ण रूपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो। बेँसीसहर–चामे सडक ६५ किलोमिटरमध्ये ३० किलोमिटर मनाङ खण्डमा पर्छ।

बेलिब्रिज बगाएको गत जेठ ३१ को बाढीपहिरोले चामेको घट्टेखोलाको स्ल्याब कल्भर्ट पुल, माडाखोलाको काठेपुल पनि बगाएको थियो। डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले तिमाङ छहराको दुई ठाउँमा काठेपुल हटाएर स्ल्याब कल्भर्ट पुल निर्माण गरिएको बताए। तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँमा निर्माण गरिएको हो। दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिरोका कारण बगाएको सडकपुलको मर्मत तथा पुनर्स्थापना गरिनुपर्ने बताए। उनका अनुसार नासोंको दानक्युखोला, थान्चोकको स्यार्कुखोला, तिमाङको स्याल्क्युखोलालगायत ठाउँमा अहिले पनि काठेपुल छ।