१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कृष्ण कुसुम
२०७५ फाल्गुण २८ मंगलबार ०८:३९:००
Read Time : < 1 मिनेट
साहित्य

मालिक सुकलामा हुनुहुन्छ

कविता

Read Time : < 1 मिनेट
कृष्ण कुसुम
२०७५ फाल्गुण २८ मंगलबार ०८:३९:००

मालिक सुकलामा हुनुहुन्छ 
बन्द गर तिम्रा चित्कार
छुसी रैतीहरुको गथासोले 
भंग नहोस् मालिकको निद्रा । 

बन्द गर तिम्रा गुनासो -
अब मालिकको शासनमा 
कोहि बोल्नु पर्दैन 
केहि माग्नु पर्दैन , 
खाने रासन वा सिटामोलको गोली । 
केवल रट सम्बृद्दीको जप 
अब छिटै आउने छ रेल 
छिटै चल्नेछ पानीजहाज 
र त्यसैमा आउनेछ -
तिम्रा लागि राशन र ओखती 
तेतिन्जेल तिमी चाहे भोकले मर या त रोगले 
नबोल सम्बृद्धीको बाटोमा तगारो बनेर 
तिम्रो हल्लाले मालिकको सपना विथोलिन्छ । 
सम्बृद्धीको सपना देख्न सुत्नुपर्छ 
कृपया चुपचाप बस 
निदाउन देउ सरकारलाई । 

ए ! कसले खोल्यो त्यहॉं रेडियो 
र बजायो जीवन शर्माको गीत ? 
कसले हेर्दैछ छेउको टिभीमा 
पशुपती शर्माको ‘लुट कान्छा’ दोहोरी ??

कोहि त सुन ! 
बन्द गर यस्ता कर्कश गीतहरु, 
बरु सुनाउ २-४ थान चुट्किलाहरु 
बरु बजाउ मालिकको सेवा भजन 
सक्दैनौ भने बजाउनु हनुमान चालीसा 
र रामायणका श्लोकहरु 
तर कदापि नबजाउ रायन र रामेशहरु 

आज बुझिंदैछ 
कति कर्कश लाग्ने रहेछ सत्तामा बस्दा 
हिजो आफैंले गाउंदै हिडेका 
राल्फा र रक्तिमका गीतहरु 
तेसैले त मन भुलाउन महाराज आफैंले लेखिबक्सेछ 
‘गाजलु ती ठूला ठूला ऑंखा।।’ जस्ता प्रेमील गीतहरु ।