Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राज सरगम
२०७५ फाल्गुण २८ मंगलबार ०७:४२:००
Read Time : > 2 मिनेट
फिचर

कपाल  प्रत्यारोपण गर्ने  मिस्टर नेपाल

Read Time : > 2 मिनेट
राज सरगम
२०७५ फाल्गुण २८ मंगलबार ०७:४२:००

आवरण स्किन एन्ड हेयर क्लिनिकमा सधैँजसो भेटिन्छन्, डा. आयुष्मान घिमिरे । पछिल्लो तीन वर्षदेखि उनी अपराह्नपछि त्यहाँ पुग्छन् र पेसेन्टसँग कपालकै कुरा गर्छन् । काट्दा पनि नदुख्ने कपालबारे प्रायः मान्छे कुरा गरिरहन्छन् । उनी यस्तै कपाल झरेर तालु खुइलिएकाहरूका लागि ‘भगवान्’ भइदिएका छन् । भन्छन्, ‘कपाल झर्ने समस्या महिला–पुरुष दुवैमा छ । र, प्रत्यारोपण गर्नतर्फ सचेतता बढ्दै गइरहेको छ ।’

एकपटक घुम्ने सिलसिलामा दिल्लीको ग्रेटर कैलाश भन्ने ठाउँमा पुगेका आयुष्मानले त्यहाँको गल्लीमा रहेका सटरमाथिका बोर्ड देखेर आफ्नो सोच फेरेछन् । त्यहाँ प्रत्येक सटरमाथिको बोर्डमा लेखिएको थियो– स्किन ट्रेनिङ एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टर । आफूलाई त्यसपछि नै स्किन र हेयरको क्लिनिक खोल्ने सोच पलाएको उनी बताउँछन् । 

काठमाडौं युनीभर्सिटी, धुलिखेलबाट सन् २०१३ मा एमबिबिएस सकेका उनी सोही वर्षको अक्टुबरमा मुम्बई पुगेछन् । उनलाई त्यहाँ डा. कृष्णकुमार अरोडाले हेयरसम्बन्धी कोअर्डिनेसन गरिदिएका थिए । आफूले त्यहीँ हेयर ट्रान्सप्लान्ट सिकेको उनी बताउँछन् ।

‘हेयर ट्रान्सप्लान्ट गर्न नेपालमा जोखिम थियो । कारण नेपालीहरू कपाल प्रत्यारोपण गर्न डराउँथे,’ भन्छन् उनी, ‘हाम्रोमा कपाल प्रत्यारोपण गर्न अहिले पनि डराउँछन् । कतिलाई त कपाल प्रत्यारोपण गर्दा क्यान्सर पनि हुन्छ भन्ने भ्रम छ । त्यसकारण मान्छेलाई कन्भिन्स गर्न निकै गाह्रो थियो ।’ 

कतिपय मान्छे शरीरको सुन्दरतामा अहं भूमिका खेल्ने छाला तथा कपालसम्बन्धी समस्या भन्न लाज मान्ने स्वभावका भएकाले पनि स्थिति सहज नभएको उनी बताउँछन् । ‘सुरुवाती चरणमा नेपालमा हेयर ट्रान्सप्लान्ट पनि हुन्छ र ? भन्नेहरू थिए,’ उनी सुनाउँछन् । 

जोखिमका बाबजुद पनि कपाल प्रत्यारोपण गर्ने पेसा रोजे, उनले । अहिले आफ्ना पेसेन्ट देशभित्र मात्र नभई देशबाहिर समेत रहेको उनी बताउँछन् । मुडुलो आएकाहरूको टाउको कपाल प्रत्यारोपण गरेर भरिलो बनाइदिने गरेका आयुष्मान केही पेसेन्टले भने खुसी हुँदै चकलेट खुवाउने गरेको सुनाउँछन् ।’

 मिस्टर नेपाल बनेँ
‘मिस्टर नेपाल खुलेको छ, भाग लिने हो ?’ सन् २०११ को एक रात च्याटमा खबर आयो । त्यस रात उनलाई धेरै छटपटी भएछ । कारण– चितवनको बसाइ, एमडीको पढाइ, नजिकिँदो परीक्षाको तयारी, त्यसमाथि समयको अभाव । यता मिस्टर नेपालको प्रतिस्पर्धा खुला । सबै कुरा एकैपटक, एकै समयमा पर्न गयो । उनलाई दुवैमा जित हासिल गर्नु थियो । 

‘मिस्टर नेपाल आफ्नो ट्यालेन्ट देखाउने प्लेटफर्म भएकाले पनि आकर्षित थिएँ,’ उनी सम्झन्छन्, ‘पढाइ चितवनमा थियो । प्रतिस्पर्धा भने काठमाडौंमा हुँदै थियो । मैले हाम्रो टिचर डाक्टरहरूसँग कुरा राखेँ । उहाँहरूले मेरो समय मिलाइदिनुभयो । म मिस्टर नेपालमा भाग लिन काठमाडौं आइपुगेँ ।’ 

मिस्टर नेपालको हरेक राउन्ड उनले पार गर्दै गए । सीप र क्षमताको सदुपयोग गर्दै जाँदा अन्ततः उनले सन् २०११ को मिस्टर नेपालको उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । ‘क्यामेरामा देखिने रहर मिस्टर नेपालले जगाइदियो,’ उनी भन्छन् । मिस्टर नेपालको उपाधिसहित उनी एमडीको पढाइ अघि बढाउन चितवन लागे । ‘एमडी नबिग्रियोस् भनेर मैले थुप्रै अन्तर्वार्ता तथा विज्ञापनका अफरहरू छोडेँ,’ उनले भने ।

चकलेटमा हिरो 
‘एउटा फिल्म खेल्ने हो आयुष्मानजी !’ उनीसँग एक दिन फेसबुकमा अभिनेत्री तथा निर्मात्री पुजना प्रधानले ‘च्याट’ गरिन् । पुजनाले राखेको सो प्रस्ताव सुरुमा उनलाई विश्वास लागेनछ । ‘फिल्मको प्रस्ताव आउनु आफैँमा नौलो लागेको थियो,’ उनले भने, ‘मेडिकल लाइनमा व्यस्त भएका कारण मैले आफू मिस्टर नेपाल हुँ भन्ने पनि बिर्संदै गइरहेको थिएँ ।’ फिल्ममा आफ्नो रियल लाइफकै पेसामा प्रस्तुत हुनुपर्ने भएकाले पनि उनलाई चकलेटको कथा मन प-यो ।

चकलेटमा उनी मुख्य भूमिकामा देखिए । आफ्नो अभिनय हेरे, धेरै सुधार्नुपर्छ भन्ने निर्क्यौलमा पुगे । बाहिरबाट हेर्दा फिल्ममा जति आकर्षण छ, भित्र त्यस किसिमको वातावरण र चार्म नदेखेकाले पुनः पर्दामा देखिइहाल्न भने उनलाई मन भएनछ । चकलेटपछि केही फिल्मबाट अफर आए पनि आफूले ‘ओके’ नगरेको उनी बताउँछन् । 

सेलेब्रिटी पनि मेरा पेसेन्ट
आफ्नो टाउको अलिकति झुुकाएर आफूले हेयर ट्रान्सप्लान्ट गरेको देखाए उनले । स्वयं आफूले गरेर अरूलाई सेवा दिएकोप्रति गर्व गर्छन्, उनी । भन्छन्, ‘स्वयं मैले गरेको छु । अहिलेको खानपानका कारण कपाल झर्ने समस्या हुने गरेको छ ।’ अहिले कपाल प्रत्यारोपण गर्नेको संख्या बढिरहेको उनी बताउँछन् । अहिले युवा सौखिन र फेसनेबल पनि छन् । चेतनाले पनि यो अघि बढेको छ । उनी भन्छन्, ‘अहिलेका युवा एड्भान्स छन् । लाज मान्दैनन् ।’ कुनै वेला कपाल प्रत्यारोपण गर्दा क्यान्सर हुन्छ रे त ? भन्ने शंका मान्छेमा थियो । र, आफूले नगर्ने र अरूलाई पनि रोक्ने चलन थियो । त्यो हराउँदै आयो । उल्टो कपाल प्रत्यारोपण गर्न आवरणमा ल्याइपु-याउँछन् । 

डा. आयुष्मानले सर्वसाधारण मात्र होइन, चर्चित सेलेब्रिटीको पनि हेयर ट्रिटमेन्ट गरेका छन् । अभिनेता अनुपविक्रम शाही, धीरेन्द्र शाक्य, पूर्वमिस नेपाल मलिना जोशी, सुगारिका केसी, माल्भिका सुब्बा, गायक रामचन्द्र काफ्ले, यशकुमारलगायतका सेलिब्रेटी उनका क्लाइन्ट हुन् । उनीहरूले आफूसँग हेयर ट्रान्सप्लान्ट गरेको उनी बताउँछन् ।  आवरणमा कपाल ट्रान्सप्लान्ट मात्रै होइन, चाउरी हटाउन, टिनएजरहरू डन्डिफोर हटाउन र पेट घटाउन पनि आउने गरेको उनी खुलाउँछन् ।