मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत १५ मंगलबार ०८:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत १५ मंगलबार ०८:०३:००

नेपालको बाह्य सम्बन्ध एक सय ७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या एक सय ७५ पुगेको छ ।

द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे । 

दुवै राजदूतले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसंघका  मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए । उनीहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको संक्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए । 

राजदूत राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताएका थिए । नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति कार्यका लागि एक हजार आठ सय नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पुर्‍याउँदै आएको छ ।

पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो । नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह, भूपरिवेष्टित विकासशील देशहरूका साथै समूह ७७ र चीनका सदस्य हुन् । दक्षिण सुडान १४ जुलाई २०११  मा संयुक्त राष्ट्रसंघको  १९३औँ सदस्यका रूपमा सामेल भएको उक्त विश्व संगठनको कान्छो सदस्य देश हो ।