१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ८ मंगलबार १२:५१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्रिन भेन्चर्सको आइपिओ खुला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ८ मंगलबार १२:५१:००

ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले आज मंगलबारदेखि प्रतिकित्ता एक सय रुपैयाँअंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँबराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशतअर्थात् एक लाख ५६ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार सात सय ५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।
    
सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।
    
कम्पनीले हाल ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२.४ मेगावाट क्षमताको ‘लिखु– ४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत १२ अर्ब आठ करोड रुपैयाँ हुने जनाएको छ।

कम्पनीको अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ र हालको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ छ। कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि ३१ करोड २५ लाख कित्ता र यो आह्वानपत्रअनुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयर (३१ लाख २५ हजार कित्ता) बाँडफाँडपश्चात् चुक्तापुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरी सोको बाँडफाँडसमेत गरिसकिएको कम्पनीले जनाएको छ। धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी’ ग्रेडिङ प्रदान गरेको छ। रासस