मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत ७ सोमबार १८:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रममन्त्री सहमत

Read Time : > 1 मिनेट
२०७८ चैत ७ सोमबार १८:२४:००

श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रममन्त्री सहमत भएका छन् । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल विन समिख अल मारीसँग भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको मन्त्री श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ ।

मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा दिएका छन् । गत मंसिरमा काठमाडौंमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि छलफल भएको थियो । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।

कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायतका विषयमा पनि छलफल भएको छ।

मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको पनि बताएका थिए । भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालका साथै नेपाली दूतावासका अधिकारीहरू उपस्थित थिए भने कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीसमेत सहभागी थिए ।

नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए ।