मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ फाल्गुण २७ सोमबार ११:१९:००
Read Time : < 1 मिनेट
प्रदेश

तनहुँ र मुस्ताङबीच भगिनी सम्बन्ध कायम

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २७ सोमबार ११:१९:००

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ र मुस्ताङको घरपझोङ गाउँपालिका–४ बीच भगिनी सम्बन्ध कायम भएको छ । शुक्लागण्डकी– ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी र घरपझोङ गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद थकालीले भगिनी सम्बन्धसम्बन्धी सम्झौता–पत्रमा आइतबार  हस्ताक्षर गरेका छन् ।

तनहुँबाट २१ असोजमा अवलोकन भ्रमण गर्न गएका जनप्रतिनिधिसहितको टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा सम्बन्ध कायम गरेको थियो । सोहीअनुरूप मुस्ताङबाट ढोरफिर्दीमा आएर उनीहरूले हस्ताक्षर गरेका हुन् । असोजमा अवलोकन गर्ने क्रममा शुक्लागण्डकीको टोली मुस्ताङ गएर सम्बन्धका बारेमा प्रस्ताव गरेलगत्तै  घरपझोङ गाउँपालिकाको कार्यपालिकाले बैठक गरी भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप सम्झौता–पत्रमा हस्ताक्षर भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताए । ‘आजबाट हामीहरूको नाता र सम्बन्ध झन् बलियो भएको छ,’ उनले भने ।

मुस्ताङमा भएको अवलोकन भ्रमणमा तनहुँबाट स्थानीय जनप्रतिनिधि, दलका प्रतिनिधि, सञ्चारकर्मी र ५७ टोल विकास संस्थाका प्रतिनिधि सहभागी थिए । सोहीअनुरूप मुस्ताङबाट जनप्रतिनिधिसहितको १०  जनाको टोली आएर सम्बन्ध विस्तार गरेको गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले बताइन् ।

पर्यटन प्रवर्द्धनमा जोड
शुक्लागण्डकी नगरपालिकाका माधव भट्टराईले मुस्ताङ र शुक्लागण्डकीबीच निर्क पुरानो सम्बन्ध रहेको बताए । ‘मुस्ताङमा दैवीप्रकोप परेका कारण शुक्लागण्डकी आएर बसेका धेरै छन् । त्यही वेलादेखि उहाँहरू र हामीबीच सम्बन्ध गाँसिएको छ,’ उनले भने, ‘आजबाट त झन् एकै घरका दाजुभाइको जस्तो सम्बन्ध भयो ।’ वडाध्यक्ष रेग्मीले समयसमयमा दुवै गाउँपालिकाको अवलोकन भ्रमण गर्ने बताए । ‘हामीमा झन् बढी जिम्मेवारी थपिएको छ, त्यसैलै दुवै वडाको विकासका लागि समन्वय गरी काम गर्नेछौँ,’ उनले भने । मुस्ताङ– ४ का अध्यक्ष थकालीले दुवै जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने बताए ।