१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चीनमा कोरोना संक्रमणदर पुनः बढ्न थालेपछि परीक्षणलाई तीव्र पारिँदै ।
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ४ शुक्रबार ०७:१७:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

चीन, दक्षिण कोरिया, जर्मनीलगायतका देशमा पुन: बढ्यो कोरोना संक्रमण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ४ शुक्रबार ०७:१७:००

हाल दैनिक संक्रमणदर दक्षिण कोरियामा ६ लाख र जर्मनीमा दुई लाख नाघ्यो, भियतनाममा संक्रमणदर हालसम्मकै उच्च बिन्दुमा 

विश्वका अधिकांश देशमा कोभिड संक्रमणदर सामान्य बन्दै गए पनि दक्षिण कोरिया, चीन, जर्मनीलगायतका केही देशमा भने पुनः संक्रमणदर उकालो लागेको छ । जोन हप्किन्स विश्वविद्यालयले गरेको पछिल्लो कोभिड अपडेटअनुसार केही दिनयता ती देशमा संक्रमण तीव्र बढ्न थालेको हो । 

पछिल्लो दुई सातायता भियतनाम, जर्मनी, चीन, दक्षिण कोरिया र फ्रान्समा संक्रमणदर उकालो लागेको छ । शून्य कोभिड नीति अपनाउँदै आएको चीनमा समेत संक्रमण निरन्तर बढिरहेको छ । कोभिडको पहिलो लहरपछि दैनिक संक्रमण एक सयभन्दा कम रहेको चीनमा फेब्रुअरीको अन्तिम सातादेखि संक्रमण बढेको हो । हाल चीनमा दैनिक औसत संक्रमणको संख्या तीन हजारभन्दा बढी छ । चीनमा बुधबार दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका छन् । मंगलबार तीन हजार तीन सय ८७ र सोमबार तीन हजार एक सय संक्रमित थपिएका थिए । चीनमा २०२० मार्चदेखि हालसम्म लकडाउन कायम नै छ । कडाइका साथ लकडाउन लागू भइरहेको चीनमा यो साताको संक्रमणदर पछिल्लो एक वर्षदेखि सबैभन्दा बढी रहेको बताइएको छ । 

भियतनाममा पनि फेब्रुअरी दोस्रो सातायता संक्रमणदर निरन्तर बढिरहेको छ । यो साता भियतनाममा औसत दैनिक संक्रमितको संख्या साढे दुई लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भियतनाममा बुधबार मात्रै दुई लाख ६७ हजार पाँच सय ४० नयाँ संक्रमित थपिएका छन् । मंगलबार एक लाख ७५ हजार चार सय ८० र सोमबार दुई लाख नौ हजार पाँच सय चारजनामा संक्रमण देखिएको थियो । भियतनाममा संक्रमणदर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

जर्मनीमा पनि संक्रमणदर घट्न सकेको छैन । जनवरीको अन्तिम सातादेखि नै दैनिक औसत संक्रमण डेढ लाखभन्दा बढी रहेको जर्मनीमा हाल संक्रमदर दुई लाख नाघेको छ । जर्मनीमा एक सातादेखि संक्रमण पुनः बढ्न थालेको हो । बुधबार जर्मनीमा दुई लाख ९४ हजार नौ सय २४ जनामा संक्रमण देखिएको छ । मंगलबार दुई लाख ६२ हजार दुई सय ८३ र सोमबार ७३ हजार तीन सय ४३ जनामा संक्रमण देखिएको थियो । फ्रान्समा समेत संक्रमणदर तीन दिनयता फेरि बढ्न थालेको छ । 

दक्षिण कोरियामा संक्रमणदरसँगै अस्पताल भर्नादरसमेत बढ्यो 
दक्षिण कोरियामा पछिल्लो समय संक्रमण तीव्र बढेको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ । दक्षिण कोरियामा २५ जनवरीसम्म दैनिक औसत पाँच हजारमा सीमित रहेको संक्रमण हाल ६ लाख २० हजार नाघेको छ । दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबार मात्रै ६ लाख २१ हजार तीन सय १७ नयाँ सक्रमित थपिएका छन् । 

संक्रमित मात्र नभई दक्षिण कोरियामा अस्पताल भर्नादरसमेत बढेको छ । मन्त्रालयका अनुसार देशभर दैनिक दुई हजारभन्दा बढी बिरामी अस्पताल भर्ना हुन थालेका छन् । जसमध्ये एक हजार एक सय ५९ बिरामी गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दक्षिण कोरियामा मंगलबार चार लाख सात हजार २५ र सोमबार तीन लाख नौ हजार सात सय ६९ जनामा संक्रमण देखिएको थियो ।  

नेपालका ‘एमआरएनए’ खोपको अनुसन्धान रोकियो

नेपालमा कोरोना भाइरसविरुद्ध तयार पारिएको ‘एमआरएनए’ खोपको तेस्रो चरणको परीक्षण रोकिएको छ । नेपालका लक्षित जनसंख्यामध्ये सबैजसो नागरिकले खोप पाएको भन्दै कम्पनीले ट्रायल नगर्ने बताएको हो । 

चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले प्रक्रियागत काममा ढिला हुँदा सबैजसो जनताले खोप पाएकाले अनुसन्धान नगर्ने जवाफ नेपाललाई पठाएको हो । चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्रालिसँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति पाएको थियो । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा अब परीक्षण गर्न नसकिने जवाफ पठाएको बताए । कम्पनीले नेपालमा ३० हजारजनामा खोप परीक्षण गर्ने अनुमति पाएको थियो । उसको कार्यक्षेत्र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थियो । 

वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले दुई साताअघि नेपालमा अनुसन्धान गर्न खोपलगायतका अन्य आवश्यक विषय पठाउन नसकिने बहाना देखाएको छ । १० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त कम्पनीको खोपको परीक्षणका लागि अनुमति दिएको थियो । नेपालमा खोपको अनुसन्धान कात्तिक महिनाभित्र गरिसक्नुपर्ने थियो । तर, कम्पनीले नै ढिलाइ गर्दै आएको थियो । 

परिषद्का अनुसार नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीसहित कोरियाको आइभिआई र चीनकै वेस्टभ्याक कम्पनीले अनुमति पाएका थिए । यसमध्ये वेस्टभ्याक र आइभिआईको काम भइरहेको छ । तर, यी दुई कम्पनीले पनि जतिको अनुमति लिएका थिए सोअनुसार काम गरेनन् । कोरियाको आइभिआईले

धुलिखेल अस्पताल, टिचिङ अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा खोप परीक्षण गर्ने अनुमति पाएको थियो । उसले चार हजारजनाको अनुसन्धान गर्न स्वीकृत पाएकोमा दुई हजार मात्रै गरेको छ । त्यस्तै, वेस्टभ्याक कम्पनीले पाँच हजारजनामा परीक्षण गर्ने भनेकोमा ११ सयजनामा मात्रै गरेको छ ।

नेपालमा अहिलेसम्म ९२ प्रतिशत नागरिकले पहिलो मात्रा र ८१ प्रतिशतले खोपको दोस्रो मात्रा लगाइसकेका छन् । यस्तै, बुस्टर डोज लगाउने संख्या पनि नेपालमा धेरै छ । ठूलो संख्याले खोप लगाए पनि सिस्टममा तथ्यांक समावेश भइसकेको छैन । व्यवस्थापन महाशाखाका खरिद प्रमुख डा.सुरेन्द्र चौरासियाले पनि लक्षित जनसंख्यामध्ये सबैले खोप पाएको बताए ।