१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ चैत ३ बिहीबार ०६:३६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

तरलता अभावले घरजग्गा कारोबारलाई असर पारेन, माघको तुलनामा फागुनमा २४.३९ प्रतिशत वृद्धि

मोरङको बेलबारी र सुनसरीको इनरुवा सबैभन्दा बढी घरजग्गा किनबेच हुने क्षेत्र

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ चैत ३ बिहीबार ०६:३६:००

बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभाव र ब्याजदर वृद्धिको बाबजुद पनि घरजग्गामा भने वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिन कडाइ गर्दासमेत माघको तुलनामा फागुनमा घरजग्गा खरिद–बिक्रीमा २४.३९ प्रतिशत बढेको हो । फागुनमा देशभर ७४ हजार ३६ पटक घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । अघिल्लो महिना माघमा ५९ हजार ५१६ घरजग्गा किनबेच भएको तथ्यांक छ । फागुनमा चालू आवकै सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ । चालू आवको पहिलो महिना साउनमा ७५ हजार ४१७ घरजग्गा किनबेच भएको भूमि विभागको तथ्यांक छ । पछिल्लो आठ महिनामा देशभर पाँच लाख २८ हजार घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको चरम अभाव देखिन थालेपछि बैंकले ग्राहकले मागेजति कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । पुस महिनाको तुलनामा माघमा घरजग्गा क्षेत्रमा कर्जाको वृद्धिदर घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । मंसिरको तुलनामा पुसमा घरजग्गा कर्जा चार प्रतिशतले बढेको देखिए पनि पुसको तुलनामा माघमा एक प्रतिशतभन्दा कम अंकले बढेको छ । मंसिरमा बैंकहरूले घरजग्गामा पाँच खर्ब २० अर्ब कर्जा लगानी गरेका थिए । पुसमा कर्जा लगानी बढेर पाँच खर्ब ४३ अर्ब पुगेको थियो । त्यस्तै, माघमा पाँच खर्ब ४६ अर्ब मात्र पुगेको छ । तर, गत असार मसान्तको तुलनामा माघ मसान्तसम्म आइपुग्दा घरजग्गा क्षेत्रमा कर्जा विस्तार भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार ओभर ड्राफ्टको रकम पनि घरजग्गा खरिदमा प्रयोग भइरहेको छ ।

राष्ट्र बैंकले पछिल्लोपटक लिएको मौद्रिक नीतिले घरजग्गा कर्जामा कुनै प्रभाव नपारेको उनको भनाइ छ । उनले भने, ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिएको नीति असारदेखि बल्ल लागू हुने हो, त्यही पनि व्यावसायिक रूपमा जग्गा किन्न र प्लटिङ गर्न लिइने ऋणमा मात्र कडाइ गरिएको छ ।’ पछिल्लो समय तरलता कम हुँदा कतिपय व्यवसायीले घरजग्गाको मूल्य घटाएर भए पनि बिक्री गर्दा कारोबार संख्या बढी देखिएको हुन सक्ने घरजग्गा व्यवसायीको अनुमान छ ।

 कुन महिनामा कति किनबेच ?
साउनमा देशभरि ७५ हजार घरजग्गा किनबेच भएकोमा भदौमा घटेर ७० हजार, असोजमा ५९ हजार र कात्तिकमा ५० हजार पुगेको छ । कात्तिकको तुलनामा मंसिरमा १९ हजार बढी ६९ हजार घरजग्गा बिक्री भएका थिए भने पुसमा ७० हजार र माघमा ५९ हजार घरजग्गा किनबेच भए । तर, पछिल्लो महिना फागुनमा किनबेच घट्ने अनुमानविपरीत साढे १४ हजारभन्दा बढी ७४ हजार घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

 बढी किनबेच हुने १० सहर 
पछिल्ला महिनामा मोरङको बेलबारी र सुनसरीको इनरुवा (इटहरी) सबैभन्दा बढी घरजग्गा किनबेच हुने हटस्पट बनेका छन् । चालू आवको आठ महिनामा देशभरि भएको मासिक कारोबार हेर्दा इनरुवा र बेलबारी मालपोतबीच पहिलो र दोस्रो बन्ने प्रतिस्पर्धा भइरहेको देखिन्छ । यस्तै, झापाको भद्रपुर, दमक, धनुषाको जनकपुर, काभ्रे, मकवानपुर, बाँकेको नेपालगन्ज, कैलालीको धनगढीसबैभन्दा बढी घरजग्गा किनबेच हुने सहर भएका छन् ।

 पहिला सबैभन्दा धेरै घरजग्गा किनबेच हुने काठमाडौं उपत्यकासहित चितवन, पोखरा, बुटवल, विराटनगरलगायतका स्थानलाई नयाँ–नयाँ ठाउँले पछाडि पार्न थालेका छन् । फागुनमा इनरुवा मालपोतबाट ३२ सय ८६ र बेलबारीमा २८ सय ७२ घरजग्गा किनबेच भएको छ । झापाको भद्रपुरमा २७ सय ७२, जनकपुरमा २४ सय ९६ र बाँकेमा २४ सय ४९ घरजग्गा किनबेच भएका छन् । उपत्यकाभित्र लगनखेलमा २१ सय ६७, कलंकीमा १८ सय ३२ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

 घरजग्गामा कर्जा बढेको छ
डा. गुणाकर भट्ट, प्रवक्ता, नेपाल राष्ट्र बैंक

०७८ असार मसान्तको तुलनामा ०७८ माघ मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा प्रवाह बढेको देखिन्छ । डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा असार मसान्तमा दुई खर्ब ९८ अर्ब रहेकोमा माघ मसान्तमा बढेर तीन खर्ब ३६ अर्ब पुगेको छ । यो कर्जा सात महिनाको अवधिमा ३७ अर्बले बढेको छ । यस्तै, असार मसान्तमा एक खर्ब ८४ अर्ब रुपैयाँ रहेको रियल इस्टेट कर्जा माघ मसान्तमा दुई खर्ब ११ अर्ब पुगेको छ । यो ऋण पनि २७ अर्बले बढेको देखिन्छ ।

 तरलता चाप बढे पनि रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह भइरहेको तथ्यांकले देखाउँछ । सात महिनामा रियल इस्टेटमा १५ प्रतिशत र व्यक्तिगत आवासियतर्फ १२.६ प्रतिशतले कर्जा विस्तार भएको छ । यस्तै, सात महिनाको अवधिमा एक खर्ब ३५ अर्ब ओभरड्राफ्ट बढेको छ । ओभरड्राफ्ट झिकेर पनि घरजग्गा किन्न प्रयोग भएको हुन सक्छ । 

 आठ महिनामा ५५ अर्ब राजस्व  
फागुनमा घरजग्गा किनबेच बढेपछि मालपोतमा राजस्व असुली पनि बढेको भूमि विभागले जनाएको छ । फागुन महिनामा देशभरिका मालपोतबाट कुल ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जब कि माघ महिनामा पाँच अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आवको साउनदेखि फागुनसम्म सबैभन्दा बढी राजस्व भदौमा आठ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो ।

साउनमा आठ अर्ब १३ करोड राजस्व संकलन हुँदा असोजमा सात अर्ब ३३ करोड, कात्तिकमा पाँच अर्ब ४९ करोड, मंसिरमा सात अर्ब ६ करोड, पुसमा ६ अर्ब ७० करोड र माघमा पाँच अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । आठ महिनाको अवधिमा देशभरिका मालपोतले ५४ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । घरजग्गा किनबेचमा उपत्यकाबाहिरका मालपोत अग्रणी भए पनि राजस्व संकलनमा भने उपत्यकाकै मालपोत अगाडि देखिन्छन् । उपत्यकामा घरजग्गाको मूल्य अत्यधिक चर्को हुँदा रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर बढी लाग्ने भएकाले राजस्व बढी संकलन भएको हो ।

फागुनमा सेवा शुल्क, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत शीर्षकमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएकोमा रजिस्ट्रेसन शुल्कको हिस्सा तीन अर्ब ७८ करोड र पुँजीगत लाभकरको हिस्सा एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । फागुनमा लगनखेलबाट ५४ करोड, डिल्लीबजारबाट ४५ करोड, कलंकीबाट ३९ करोड, भक्तपुर र चाबहिलबाट ३८ करोड, साँखुबाट १५ करोड, काभ्रेबाट १६ करोड, विराटनगरबाट १३ करोड, कास्कीबाट १२ करोड राजस्व संकलन भएको छ । सबैभन्दा बढी घरजग्गा किनबेच हुने मोरङको बेलबारीबाट पाँच करोड, सुनसरीको इनरुवाबाट १० करोड, भद्रपुरबाट ६ करोड, जनकपुरबाट सात करोड, नेपालगन्जबाट ११ करोड र धनगढीबाट नौ करोड राजस्व संकलन भएको विभागले जनाएको छ ।