चन्द्रकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयको ढोकामा सोमबार बिहान करिब ११ बजे भेटिइन् सरस्वती बर्मा। ७८ वर्षीया उनी नागरिकताको सिफारिस खोज्दै श्रीमानसँगै वडा कार्यालय आएकी थिइन्। नागरिकता नभएकै कारण उनी आठ वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छन्।
पहिले श्रीमानले नै नागरिकता बनाउन चासो नदिएको र आफूले प्रशासन पुगेर नागरिकता लिन सक्ने अवस्था नभएको वृद्धाले बताइन्। ‘श्रीमानले पनि चासो दिएनन्। आफैँ नागरिकता लिने उपाय थिएन। मर्ने वेलामा भए पनि भत्ता पाइन्छ कि भनेर वडा कार्यालय आएँ,’ उनले भनिन्। गाउँमा घुम्ती टोली आएको वेला पनि नागरिकता नबनाएकी उनी अहिले श्रीमानसँग नागरिकताका लागि दौडधुप गरिरहेकी छिन्।
श्रीमान धनबहादुरले चासो नदिएकाले वृद्धा लामो समय नागरिकताबाट वञ्चित भएको ३ नम्बर वडाका वडाध्यक्ष किरण शाहले बताए। धनबहादुर भूगोलले चन्द्रकोट–२ मा बस्थे। वडा नं ३ का सरोकारवालालाई पनि दम्पती अर्को वडाका भन्ने लाग्थ्यो। जसका कारण नागरिकताको लागि कसैले सोधीखोजी नै गरेनन्।
बुढेसकालमा भत्ताको पिरलो
यसअघि सरस्वतीलाई कतै नागरिकता चाहिएन। कहिल्यै कसैले नागरिकता नमागेकाले धनबहादुरले पनि चासो दिएनन्। सरकारले ७० वर्ष पुगेपछि मासिक चार हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्छ। तर, नागरिकता नहुँदा अहिले उनले आठ वर्षदेखि भत्ता नै पाएकी छैनन्। ‘सबैले भत्ता गुम्यो भने र नागरिताको दुःख गरेको हुँ। बने त केही भए पनि घरखर्च हुन्थ्यो,’ धनबहादुरले भने, ‘म त भत्ता पाउने वेलासम्म बाँचौँला वा नबाँचौँला।’ बर्मा दम्पतीको उमेर १२ वर्षको फरक छ।
ओतबाहेक केही छैन
बर्मा दम्पतीसँग नागरिकता प्राप्त गर्न आवश्यक सिफारिसबापत सरकारलाई तिर्ने शुल्कसमेत थिएन। कमजोर आर्थिक अवस्थाका कारण वडा कार्यालयले आवश्यक सिफारिसबापतको चार सय रुपैयाँ छुट गरिदियो। गाउँमा टिनको सानो झुपडीबाहेक एक पाथी अन्न फल्ने बारी छैन। ठूली छोरीको बिहे भइसक्यो। कमाउने उमेरका छोरा परदेश छन, तर घरपरिवारसँग सम्पर्क छैन। दैनिक जीविकोपार्जन र दुःख बिमारमा हेर्नेसमेत कोही नभएकाले बर्मा दम्पतीले कष्ट भोगिरहेका छन्।