१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ फाल्गुण २७ शुक्रबार ०८:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित पक्षद्वारा पुन: सडक अवरुद्ध 

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २७ शुक्रबार ०८:४३:००

लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा  डुबेर  विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारका आफन्तले पुन: सडक अवरुद्ध गरेका छन् ।  बुधबार लमजुङ प्रशासनमा भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले प्रहरीले उजुरी नलिएपछि पुन: सडक अवरुद्ध गर्नुपरेको स्थानीय अनुप श्रेष्ठले बताए।

डुम्रे–बेंसीसहर सडकखण्ड अवरुद्ध

प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्षले तनहुँको बाइसजाँगरमा सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले  डुम्रे–बेंसीसहर सडकखण्ड बन्द गराएपछि बिहीबार साँझबाट सडक पुन: अवरुद्ध भएको छ । बुधबार लमजुङ प्रशासनमा भएको पीडित, पीडक र प्रशासनबीचको सहमतिअनुसार पीडितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएपछि सडक खुलाइएको  थियो । 

सुन्दरबजार नगरपालिका- ९ सिउँडीबारमा रहेको फ्युचर स्टार आवासीय माविमा कक्षा १० मा अध्ययनरत तनहुँ बाइसजाँगरका १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मर्स्याङ्दी नदीमा डुबेर  मृत्यु भएको थियो । 

प्रहरीले उजुरी दर्ता गरेन

पीडित परिवार लमजुङको सुन्दरबजार नगरपालिका- ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए । प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटनाको मुद्दा हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी नलिएको लमजुङका प्रहरी प्रमुख  डिएसपी कृष्णबहादुर कार्कीले  बताए ।

उनले भने, ‘घटनाको अवस्थालाई हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिए ।’  उनका अनुसार स्कुलका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् । 

स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म  लमजुङ प्रवेशद्वार पाउदीदेखी सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मृतकका आफन्त र बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, दुईवटा स्कुल बस र एउटा भ्यान तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अस्रुग्यास, हवाईफायर र लाठीचार्ज गरेको थियो   ।