मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ फाल्गुण २५ बुधबार १६:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार आरोपी सिद्धबाबाविरुद्धकाे मुद्दा सुनुवाइ हुन सकेन 

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ फाल्गुण २५ बुधबार १६:१३:००

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला अदालतबाट  सफाइ पाएका सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्दा बुधबार उच्च अदालतमा सुनुवाइ हुन सकेन । चलखेल गरेर जिल्ला अदालत सुनसरीबाट थुनामुक्त भएका सुनसरीको चतराधामस्थित आश्रममा बस्दै आएका गिरीविरुद्धको मुद्दाको पेसी बुधबार उच्च अदालतमा तोकिएको भए पनि हेर्न नमिल्ने भएको भन्दै सुनुवाइ हुन नसकेको हो । 

बुधबार उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठ र तेजनारायणसिंह राईको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको थियो । तर, मुख्य न्यायाधीश श्रेष्ठले सिद्धबाबाको थुनछेक आदेशको मुद्दा हेरेकाले बुधबार संयुक्त इजलासले हेर्न नमिल्ने भन्दै पेसी स्थगित गरेका हुन् । उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार अब सिद्धबाबाविरुद्धको मुद्दाको अर्को पेसी दुई हप्तापछि तोकिनेछ ।   

सुनसरी अदालतबाट न्याय नपाएको भन्दै पीडित महिलाले मुद्दा पुनरावलोकन गर्न माग गर्दै २६ चैत २०७७ मा  विराटनगरमा मुद्दा दर्ता गराएकी थिइन्। पीडितको मुद्दालाई काउन्टर दिन कृष्णदासले पनि आफूमाथि झुठा मुद्दा लगाएको भन्दै उच्चमा निवेदन दर्ता गराएका थिए  । उच्च अदालतले हाल दुवै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने तयारी गरेको छ । कोभिड संक्रमणले सुनुवाइमा ढिलाइ भएको उक्त मुद्दाको तीनपटक पेसी तोकिइसकेको छ । सुनसरी जिल्ला अदालतले गिरीलाई सफाइ दिएको फैसलालेखनमा पनि ढिलाइ गरेको थियो । फैसलालेखनमा ढिलाइ भएको भन्दै पीडित पक्षले गुनासो गरेपछि उच्च अदालत विराटनगरले विशेष चासो देखाएको थियो । फैसलालेखन भएपछि पीडितल उच्चमा मुद्दा दर्ता गराएकी थिइन् । 

जेलमुक्त भएपछि आफ्नै आश्रममा छन् आरोपी 
आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले विवादित फैसला गर्दै २२ मंसिर ०७७ मा सफाइ दिएको थियो । जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुन कोइरालाको इजलासले वादीको मागदाबी नपुगेको भन्दै  अन्तिम फैसला गरेपछि  पुर्पक्षका लागि थुनामा रहेका कृष्णदास जेलमुक्त भएका थिए । बलात्कारविरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै सुनसरी जिल्ला अदालतले सफाइ दिएको पीडित पक्षको दाबी छ । जेलमुक्त भएका आरोपित गिरी हाल चतराधामस्थित आफ्नै आश्रममा बस्दै आएका छन् । 

यस्तो छ गिरीविरुद्ध बलात्कार अभियोग र न्यायीक शृंखला
विवादास्पद हिन्दू धर्मगुरु  सिद्धबाबा भनिने कृष्णदास गिरीलाई  सुनसरीको बराहक्षेत्रको चतराधामस्थित आश्रममा आफ्नै अनुयायी महिलालाई  ४ कात्तिक ०७६ मा बलात्कार गरेको आरोप लागेको थियो । 

पीडित महिलाले आफूमाथि बलात्कार भएको भनी किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले गिरी १२ मंसिरमा सिकिस्त बिरामी भएको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा  भर्ना भएका थिए । सुनसरी प्रहरीले उनलाई १६ मंसिरमा पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अपराधको अनुसन्धान गरेको थियो । १० पुस ०७६ मा उनीविरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको थियो । 
१४ पुस ०७६ मा जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा बाहिर बसेर पुर्पक्ष गर्न पाउने गरी थुनामुक्त गरेको थियो । ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि पक्राउ पर्ने डरले भारततर्फ फरार भएका गिरी केही समयपछि अदालतमा हाजिर भएपछि पुर्पक्षका लागि  रागारमा थुनामा बस्दै आएका थिए ।  

उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिर ०७७ मा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी गिरीलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । तर,  त्यसको ठीक दश दिनपछि सुनसरी जिल्ला अदालतले २२ मंसिर ०७७ मा अन्तिम फैसला गर्दै उनलाई सफाइ दिएको थियो । 

त्यसपछि २६ चैत ०७७ मा न्याय नपाएको भन्दै पीडितले  पुनरावेदन गर्न माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएकी थिइन् । उच्चमा दर्ता भएको उक्त मुद्दा कोभिड संक्रमणले गर्दा सुनुवाइमा ढिलो भएको थियो भने पछिल्लोपटक २६ माघ ०७८ मा तोकिएको थियो ।