१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Friday, 27 September, 2024
गोलका लागि संघर्ष गर्दै सातदोबाटो र जावलाखेलका खेलाडी ।
२o७८ फाल्गुण २२ आइतबार o८:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : सातदोबाटोको विजयी सुरुवात

विजेतालाई नगद १२ लाख ५५ हजार र उपविजेतालाई ६ लाख पाँच हजार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार o८:o३:oo

झापा गोल्डकपमा सातदोबाटोले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ को गोलअन्तरले हराउँदै सातदोबाटोले पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरेपछि सातदोबाटोले विजयी सुरुवात गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजिउ ठकुरीले गरेको प्रहार सफल भयो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गरे । निर्धारित समय दुई–दुईको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा जावलाखेलका खेलाडी कमजोर साबित भए । हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटोलाई जावलाखेलले २–० को अन्तरले पराजित गरेको थियो । लिगको बदला सातदोबाटोले झापा गोल्डकपमा लिएको हो । यद्यपि, सातदोबाटो ए डिभिजन लिगमा चौथो स्थानको क्लब हो ।

खेलमा सातदोबाटोले सुरुवाती अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै सातदोबाटोका विदेशी खेलाडी अजयी मार्टिनले गोल गरेका थिए । नीरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा उत्कृष्ट गोल गरे । गोलपछि हौसिएर डिफेन्स गुमाएको सातदोबाटोलाई जावलाखेलले सम्हालिँदै खेलको १३औँ मिनेटमा गोल फर्कायो । जावलाखेलका विदेशी खेलाडी जुनियरले गोल गर्दै खेललाई बराबरीमा फर्काए । निकोलस फर्नान्डेजको क्रसलाई जुनियरले गोलमा परिणत गरेका थिए । 

खेल बराबरीमा फर्किएपछि दुवै टिमका खेलाडी निकै आक्रमक रूपमा मैदानमा प्रस्तुत भए । डिफेन्स कमजोर हुँदा सातदोबाटोले खेलको ३५औँ अर्को गोलको सामना गर्नुप¥यो । जावलाखेलका लागि जुनियरले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । 

दोस्रो हाफपछि सम्हालिएको सातदोबाटोले निकै आक्रामक खेल प्रस्तुत गर्‍यो । खेलको ४८औँ मिनेटमा सातदोबाटोले जावलाखेलविरुद्ध गोल फर्कायो । डिबक्समा जावलाखेलका गोलरक्षक ईश्वर गुरुङ बिट हुँदा सातदोबाटोका नीरज चौधरीको पासमा आशिष राईले गोल गरे । यसपछि कुनै पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उद्घाटनका लागि ढिलागरी आइपुग्दा खेल अवधि ८० मिनेटमा सीमित गराइएको थियो ।

शनिबारको खेलमा टाइब्रेकरमा जावलाखेलको दुई प्रहार उत्कृष्ट बचाउ गरेका सातदोबाटोका अभिषेक बराल म्यान अफ दी म्याच भए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ पाए । 

प्रतियोगितामा दश टोली सहभागी

भारतका दुई, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लब सहभागी गोल्डकप ३० फागुनमा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । खेलको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । गोल्डकपको समापन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् । 

पूरै समय खेल नहुनु कमजोरी : किशोर केसी,  प्रशिक्षक, जावलाखेल
पूरा समय खेल नखेलाएर आयोजकले कमजोरी गर्‍यो । यही कारण हाम्रो टिम पराजित भयो । फुटबल ९० मिनेट नै खेल्नुपर्छ । समयको व्यवस्थापनमा झापा गोल्डकप चुकेको देखिन्छ । पहिलो हाफमा हामीले लिड गर्‍यौँ । फेरि सातदोबाटोले बराबरीमा ल्याएपछि खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा रिजल्ट आउँछ भन्न सकिँदैन । टाइब्रेकरमा हामी कमजोर देखियौँ ।

हाम्रो लक्ष्य विजेता बन्ने हो : उज्ज्वल मानन्धर, प्रशिक्षक, सातदोबाटो
हाम्रो योजनाअनुसार नै झापा गोल्डकपमा जित निकालेका छौँ । हाम्रो टोली नयाँ हो, तर पनि आगामी खेलमा अझै मिहिनेत गरेर अघि बढ्छौँ । ए डिभिजन लिगपछि हाम्रो पहिलो गोल्डकप हो । हामीले नियमित खेलमै जित्नुपर्ने हो । तर, धेरै मिस भयो । खेलाडीलाई बाहिरको वातावरणमा घुलमिल गराउँदै छौँ । हामीसँग कुनै स्टार खेलाडी छैनन् । भएको टिम सशक्त छ । यही हाम्रो राम्रो पक्ष हो ।