मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २० शुक्रबार १६:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे के भन्छन् माओवादी केन्द्रका नेताहरू ? (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २० शुक्रबार १६:२८:००

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले एमसिसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै नेताहरूले एमसिसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिएबमोजिम नै संसदबाट पारित भएको बताएका हुन्।  

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसिसी पास गर्नु उचित भएको बताए। उनले नेपालीहरूले अमेरिकालाई साम्राज्यवाद र भारतलाई विस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुपर्ने बताए। केन्द्रीय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे। 

‘एमसिसीको बारेमा हामीले पहिल्यै नेकपा हुने वेलामा पनि एउटा कमिटी बनाएका थियौँ झलनाथ खनालको नेतृत्वमा।  त्यसले सुझाव दिएको थियो।  माओवादी पार्टीले एमसिसी संशोधनविना यथास्थितिमा पास गर्नुहुन्न भनेर अधिवेशनबाट पनि पास गरेको स्थिति हो।  अहिले जसरी बहस उठ्यो गठबन्धनभित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल गर्‍यौँ।  व्याख्यासहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार स्वीकार गरे मात्र नै त्यसलाई लागू हुन सक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुन सक्ने प्रावधानलाई हामीले धेरै छलफल गर्‍यौँ।  अहिले सदनले त्यसलाई पास गरेको छ,’ उनले भने,  ‘एकथरी साथीहरूले त्यसलाई विरोध गरिरहनुभएको छ।  नेपालीहरूको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने, भारतलाई सधैँ विस्तारवाद देख्ने कोण जो बन्यो, त्यसले गर्दा थुप्रै सम्झौताहरू विश्व बैंकका सम्झौताहरूसँग युएनडिपीका सम्झौताहरू, जाइका, एसिया डेभलपमेन्ट बैंकका सम्झौताहरू छन्।  केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ।  अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ।  त्यही रूपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहितको एमसिसी पारित गरेका छौँ।  अमेरिकाले पनि स्वीकार गरेको छ।  यो ठीक हो भन्ने लागेको छ।  पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन।’

त्यस्तै, पार्टी केन्द्रीय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसिसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे। उनले संशोधनपछि एमसिसी पास गर्न सक्ने कुरा महाधिवेशनले निर्णय गरेको र सोहीअनुसार नै एमसिसी पास भएको दाबी गरे। 

केन्द्रीय सदस्य दाहालले सुरुमा आएको एमसिसीको ठोस र मूर्तरूप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए। उनले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसिसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गरे। 

पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उको भनाइ छ। 

त्यस्तै केन्द्रीय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसिसी पार्टीको मूल्य र मान्यताबमोजिम रहेको बताए। उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्न पनि एमसिसी पारित गर्नु व्यावहारिक भएको उल्लेख गरे। 

केन्द्रीय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसिसीले देशलाई अँध्यारोमा जानबाट रोकेको बताए। उनले सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्ने र सम्भवतः आज नै त्यसको टुंगो लाग्ने पनि बताए। 

त्यस्तै, अर्का केन्द्रीय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रूप भएको बताए। उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहितविपरीतका मुद्दाहरू संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताए।