भरतपुर महानगरपालिकाको स्वामित्वमा रहेको दुईवटा जेटबोट कोसी नदीमा सञ्चालनमा आएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले अनुदानस्वरूप दिएको जेटबोट पुरानो भइसकेको छ । एउटा चालू अवस्थामा छ भने अर्को केही वर्षदेखि बिग्रिएर थन्किएको छ । आफ्नो सम्पत्तिको अवस्था बुझ्न र बाँकी रहेको भाडा रकम असुल गर्न महानगरको एउटा टिम केही दिनअघि कोसी नदी पुगेको थियो । ‘एउटा चलिरहेको र एउटा बिग्रिएको अवस्थामा पायौँ,’ महानगरका प्रशासकीय अधिकृत कुलबहादुर जिसीले भने । जेटको अवस्था बुझ्नेबारे गत ३ फागुनमा महानगरको बोर्ड बैठकले निर्णय गरेको थियो ।
८ भदौ २०५७ मा तत्कालीन भरतपुर नगरपालिकासँग सम्झौता गरी नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले वार्षिक भाडा तिर्ने सर्तमा जेटबोट कोसी लगेको थियो । महानगरले कम्पनीबाट अझै १५ लाख १३ हजार रुपैयाँ भाडा उठाउन बाँकी छ ।
सम्झौता गर्नेको मृत्यु
तत्कालीन समयमा महानगरसँग सम्झौता गरी जेटबोट लैजाने सञ्चालकको मृत्यु भइसकेको छ । प्रशासकीय अधिकृत जिसीले हाल उक्त बोट तेस्रो व्यक्तिले सञ्चालन गरिरहेको बताए । ‘हामीले दिएको व्यक्तिबाट अर्को व्यक्तिमा सरिसकेको रहेछ, आगामी बोर्ड बैठकमा यसबारे जानकारी गराई महानगरले आवश्यक निर्णय लिनेछ,’ उनले भने । बिग्रिएको बोट फोर्ड कम्पनीको रहेको र मर्मत गर्न सिंगापुरबाट प्राविधिक आउनुपर्ने भएकाले बनाउन नसकिएको सञ्चालकले महानगर प्रतिनिधिलाई जानकारी गराएका छन् ।
पटकपटक पत्राचार
पहिलो वर्षदेखि नै समयमा भाडा नबुझाएकाले भरतपुर नगरपालिकाले बारम्बार पत्राचार गर्नुपरेको थियो । पहिलो पाँच वर्ष वार्षिक एक लाख १० हजार, दोस्रोमा वार्षिक एक लाख ५० हजार, तेस्रो पाँच वर्षमा वार्षिक दुई लाख, तेस्रो पाँच वर्षमा वार्षिक तीन लाख र चौथो पाँच वर्षमा वार्षिक चार लाख बुझाउने सम्झौता भएको भरतपुर महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । तर, कम्पनीले सम्झौताको आधा अर्थात् वार्षिक ५५ हजार मात्र बुझाउँदै आएको थियो । कम्पनीले अन्तिमपटक गत २७ असारमा दुई लाख रुपैयाँ बुझाएको छ । महानगरलाई चालू आर्थिक वर्षसम्म ३५ लाख बुझाउनुपर्ने हिसाब देखिएकोमा जम्मा १९ लाख मात्र बुझाएको महानगरका लेखा अधिकृत जगन्नाथ अर्यालले बताए । १५ लाख १३ हजार अझै महानगरले लिनुपर्ने देखिन्छ ।
कोसीमा निरन्तर सेवा
हाल सञ्चालनमा रहेको जेटबोटले कोसी चतराबाट उदयपुर, धनकुटा हुँदै भोजपुरसम्म सेवा दिइरहेको छ । प्रस्थान बिन्दुबाट २५ मिनेटमै भोजपुरको अन्तिम बिन्दुसम्म बोट पुग्ने गरेको छ । एकजना यात्रुको चार सय भाडा रहेको र स्थानीयलाई छुटको व्यवस्था छ । एउटा जेटको यात्रुबाहन क्षमता २५ रहेको छ । हिँडेर सात घन्टासम्म लाग्ने दूरी बोटले २५ मिनेटमै पार हुने भएपछि स्थानीय जनतामा यातायात लोकप्रिय साधन भएको छ ।
यस्तो छ इतिहास
सन् १९८९ (विसं. २०४५) मा युएनडिपी अरुण नदी पहुँच परियोजना कार्यका लागि दुई थान जेटबोट नेपाल ल्याइएको थियो । सो कार्य सकिएपछि डिभिजन सडक कार्यालय भरतपुरमा ल्याई छाडिएको थियो ।
भरतपुर नगरपालिका हाताभित्र बेवारिसे अवस्थामा रहेको जेटबोट आफूलाई हस्तान्तरण गर्न नगरपालिकाले १५ साउन ०५५ मा निर्माण तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो । २७ मंसिर ०५६ मा मन्त्रिपरिषद् बैठकअनुसार १६ जेठ ०५७ मा सडक डिभिजन कार्यालयले नगरपालिकालाई बुझाएको थियो ।
नगरपालिकाले १३ असार २०५७ मा २५ वर्षका लागि नेपाल रिभर ट्रान्सपोर्ट प्रालिलाई नारायणी नदीमा सञ्चालन गर्न सम्झौता गरेको थियो । ८ भदौ २०५७ मा कार्यादेश भई नारायणी नदी र सोमा मिसिएका नदीहरूमा सञ्चालन गर्ने तथा अन्यत्र लैजानुपरे अनुमति लिनुपर्ने सम्झौता भएको थियो ।