सातामा नेप्सेसँगै बढ्यो कारोबार रकम

२०७५ फाल्गुण २६ आइतबार १०:१०:०० | काठमाडाैं

लामो सातासम्म सुस्त गतिमा रहेको नेप्से परिसूचक गत साता भने बढेर बन्द भएको छ । बजार बढेसँगै लगानीकर्ताहरूको मनोबल पनि बढेको छ । गत साता ४ कारोबार दिनमात्र बजार खुला रहेको थियो । सोमध्ये ३ कारोबार दिन बजार उकालो लागेको थियो भने १ कारोबार दिन बजार घटेको थियो । 

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएकाले लगानीकर्ताहरूले अब बजार उकालो लाग्ने अपेक्षा गरेका छन् । पुँजीबजार विस्तारका कार्यहरू भइरहेका कारण पनि लगानीकर्ताहरूको मनोबल बढेको देखिन्छ । आगमी साताको पहिलो कारोबार दिन भने नेप्सेले करेक्सनको समना गर्न सक्ने एक विश्लेषकले बताए । अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्ने सम्भावना भएकाले बजारमा करेक्सन हुन सक्ने उनको भनाइ छ । गत साता बजारमा सेयर खरिदकर्ताहरू बढेको एक ब्रोकरले बताए । केही कम्पनीहरूको लाभांश घोषणा र बुक क्लोजले पनि गत साताको बजार प्रभावित भएको देखिन्छ । 

बजार सारांश
गत साता नेप्से परिसूचक २२ दशमलव २४ अंक बढेर १ हजार १ सय २७ दशमलव ७७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ४ दशमलव ९२ अंक बढेर २ सय ३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स १ दशमलव ७६ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६४ अंक बढेको छ । सो साता १ सय ८७ कम्पनीको १८ हजार ९ सय ९ पटकको कारोबारमा ९७ करोड ६६ लाख १५ हजार रुपैयाँबराबरको ३५ लाख ९३ हजार ६ सय ६१ कित्ता सेयर खरिदबिक्री भएको छ । 

नेपाल लाइफमा लगानीकर्ताको आकर्षण
४८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा गत साता लगानीकर्ताहरूको आकर्षण देखिएको थियो । कम्पनीले २५ प्रतिशत बोनस र २३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत साता सो कम्पनीको ७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको ७२ हजार ७३ कित्ता सेयर खरिदविक्री भएको छ । कारोबार संख्याका आधारमा गत साता अपर तामाकोशी अगाडि रहेको छ भने सेयर संख्याका आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक अगाडि रहेको छ । अपरको गत साता २ हजार १ सय ४३ पटक सेयर कारोबार भएको छ भने एनसीसीको १ लाख ८० हजार २ सय ७५ कित्ता सेयर किनबेच भएको छ ।  

८ लाख कित्ता सेयर सूचीकृत
गत साता २ कम्पनीहरूले ८ लाख १६ हजार ३ सय ९९ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता सप्तकोसी डेभलपमेन्ट बैंकले १ लाख ५२ हजार ५ सय ५३ कित्ता र सेन्ट्रल फाइनान्सले ६ लाख ६३ हजार ८ सय ४६ कित्ता बोनस सेयर सूचीकृत गरेका छन् ।  

साढे १७ प्रतिशत बढ्यो पूर्णिमाको सेयरमूल्य
गत साता पूर्णिमा विकास बैंक लिमिटेडको सेयर मूल्य १७ दशमलव ५ प्रतिशत बढेको छ । त्यसैगरी, हाथवे फाइनान्सको सेयर मूल्य १४ दशमलव ९५ प्रतिशत र जेबिल्स फाइनान्सको ११ दशमलव ४५ प्रतिशत बढेको छ । 

कारोबारमा आएको एनएमबि समृद्धि फन्ड १ को एकाइ मूल्य गत साता ११ दशमलव ११ प्रतिशत बढेको छ । एसियन लाइफको सेयर मूल्य गत साता २७ दशमलव ३७ प्रतिशत घटेको छ । कम्पनीको मूल्य समायोजन भएका कारण सेयर मूल्य घटेको हो । त्यसैगरी, घलेम्दी हाइड्रोको सेयर मूल्य १५ दशमलव ३५ प्रतिशत, सिन्धु विकास बैंकको १३ दशमलव २४ प्रतिशत र जोसी हाइड्रोपावरको १० दशमलव ७६ प्रतिशत घटेको छ ।  

९ समूह हरियो, २ रातो
गत साता कारोबारमा आएको ११ समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने बाँकी २ समूहको परिसूचक घटेको छ । सो साता जीवन बिमा समूहको परिसूचक ३ सय २० दशमलव ६७ अंक बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ सय ४८ दशमलव शून्य ९ अंक, लघुवित्त समूहको ३९ दशमलव ३४ अंक, होटल समूहको ३४ दशमलव ४९ अंक, विकास बैंक समूहको २५ दशमलव ४१ अंक, जलविद्युत् समूहको २३ दशमलव ८१ अंक, वाणिज्य बैंकको १६ दशमलव ६ अंक, वित्त समूहको ११ दशमलव ३७ अंक र अन्य समूहको १ दशमलव २३ अंक बढेको छ । सो साता उत्पादनमुलक समूहको परिसूचक ९ दशमलव ८५ अंक र व्यापार समूहको २ दशमलव ७ अंक घटेको छ । 

प्रिमियरको नाफा ५ करोड ८८ लाख
चालू आवको दोस्रो त्रैमाससम्ममा प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ५ करोड ८८ लाख ६० हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा कम्पनीको चुक्तापुँजी ५८ करोड ४० लाख रहेको छ भने जगेडा कोष ६ करोड १० लाख रहेको छ । कम्पनीको विमा कोष ४ करोड ३० लाख रहेको छ । 

सो अवधिसम्ममा कम्पनीको खुद बिमा शुल्क ४ करोड १५ लाख रहेको छ । कम्पनीले सो अवधिसम्ममा १ लाख ३ हजार १ सय २१ बिमालेख जारी गरेको छ भने ७९ करोड ५४ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, कम्पनीको कुल दाबी भुक्तानी ५४ करोड ८६ लाख रहेको छ । भुक्तानी हुन बाँकी रक मभने ९६ करोड ९७ लाख रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रति सेयर आम्दानी २० दशमलव १६ रुपैयाँ र २ सय ८३ दशमलव २४ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५२ दशमलव ९८ रहेको छ । 

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषणः नेप्सेले गत साता हरियो मारुबोजु मैनबत्ती बनाएको छ । यसले आगामी साता बजार बढ्ने संकेत गर्छ । यसले बजार खरिदकर्ताहरूको नियन्त्रणमा रहेको संकेत गर्छ । 

आरएसआईः गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ५१ दशमलव शून्य ६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो गत साता ५ दशमलव ४४ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८७ कम्पनीमध्ये १ सय ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

 गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय १८ दशमलव १६ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय ८ दशमलव ५५ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार ८९ दशमलव ३४ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ३७ दशमलव ३७ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ४६ दशमलव ९८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 
 

प्रतिकृया दिनुहोस