१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०७८ फाल्गुण १३ शुक्रबार ०७:३९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोकप्रियतावाद र नक्कली राष्ट्रवादको कक्टेल 

नक्कली राष्ट्रवादीहरू लोकप्रियतावादको खास्टो ओढेर समाजलाई भ्रमित बनाइरहेका छन् । कतै हामी त्यसैको सिकार हुँदै त छैनौँ ?

Read Time : > 4 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७८ फाल्गुण १३ शुक्रबार ०७:३९:००

फासिस्ट भर्सेस साइन्टिस्टको ऐतिहासिक द्वन्द्वको कथाबाट लेख सुरु गरौँ । हिटलर सत्तामा आएदेखि नै अल्बर्ट आइन्स्टाइनले नाजी पार्टीका नीतिको विरोध गर्न थाले । बर्लिनमा रहेको ‘प्रुसियन एकेडेमीबाट राजीनामा दिएर देश छोड्न चाहेको बताए । नागरिकतासमेत त्याग्न खोजे । उनी भन्थे– म त्यस्तो देशको नागरिक बन्न सक्दिनँ, जहाँ समानता छैन । यो कुरा हिटलर र उनका ‘झोले अन्धभक्तहरू’लाई पच्ने कुरै भएन । उनीहरूले मिडियालाई समेत कब्जामा लिइसकेका थिए । मिडियाले आइन्स्टाइनलाई बदनाम गर्न थाल्यो । हिटलरका मान्छेद्वारा उनका रिसर्च पेपरहरू जलाउन लगाइयो । केही पत्रिकाले उनले कम्युनिस्टसँग मिलेर देशविरुद्ध षड्यन्त्र गरेकोसमेत लेखे । नकारात्मक कार्टुन बनाइयो । जर्मनीमा आइन्स्टाइनलाई ज्यानको खतरा थियो । उनको टाउको ल्याउनेलाई पुरस्कारको घोषणा गरियो । त्यसैले, उनी जर्मनी छोडेर बेल्जियम पुगे र त्यहाँबाट पनि भागेर बेलायत पुगे । यसरी तत्कालीन अवस्थामा आइन्स्टाइनलाई राष्ट्रघाती साबित गरियो र हिटलरलाई राष्ट्रवादी । अक्सर नक्कलीले सक्कलीलाई थोरै समयका लागि छोपिदिन्छन् । इतिहासमा, यस्ता घटना भएका छन् र आज पनि हुँदै छन् ।

एकदिन श्रीमतीको मोबाइलबाट टिकटक हेर्दै थिएँ । उनको टिकटकमा धेरै बुटिक, बिहेका भिडियो आउँदै थिए । ८–१० वटा भिडियो लगातार त्यसरी आएपछि मलाई अलि अचम्म लाग्यो । मेरो टिकटकमा त त्यस्तो आउँदैनथ्यो । मेरोमा राजनीति, साइन्स र कलाको भिडियो बढी आउँथ्यो । टिकटकले उनले जे भिडियो हेर्छिन्, त्यही अगाडि सार्दिने रहेछ । मैले जे हेर्छु, त्यही भिडियो अगाडि सार्दिने रहेछ । यो फेसबुक, टिकटकको ‘अल्गोरिदम’ हो । हामीलाई लाग्छ, मैले सोचेको, भनेको र देखेको कुरा नै संसार हो । हामी भ्रमित छौँ । धु्रवीकृत हुँदै छौँ । समाज ‘ब्ल्याक एन्ड ह्वाइट’ मा चल्दैन । 

‘ग्रे जोन’ देख्न हाम्रो समाजले छाडेको छ । २० जना साथीले मलाई मन पर्ने कुरा गर्दा, मेरो होमा हो मिलाउँदा, मलाई त म भयंकर सही छु भन्ने लाग्छ । तर, सत्य त्यति मात्र हुँदैन । मैले राजनीतिमै पनि केही यस्ता व्यक्ति देखेको छु, जसले केही समयअघि एमसिसीको समर्थन गर्थे, अहिले विरोध गर्छन् । किनकि उनीहरू नागरिकको सेन्टिमेन्ट क्यास गर्न चाहन्छन् । यति मात्र होइन, केही यस्ता मानिससँग काम गरेको छु, जो भोट पाउन गणतन्त्रवादीबाट राजावादीसमेत बनेका छन् । फरक देखिने नाउँमा, ‘लेफ्ट’बाट सर्दासर्दा ‘राइट’ पुगेका छन् । धेरै कट्टर समर्थक पाउने नाउँमा कुन वेला सिफ्ट भए पत्तै पाएनन् । लोकप्रियतावादको राम्रो आधार राष्ट्रवाद बनेको छ । लोकप्रियतावाद र राष्ट्रवादको कक्टेल यो युगमा घातक बनेर आउँदै छ । यो इन्टरनेटको जमानामा ‘पपुलिजम’ सजिलै फस्टाउन सक्छ । हाम्रो देश सिद्धिन लाग्यो, बर्बाद भयो, बचाऔँ भनेर भाष्य तयार गर्न गाह्रो छैन ।

ग्रिक दार्शनिक एरिस्टोटलका अनुसार आफ्नो कुरा मनाउन तीन तरिका अपनाउने गरिन्छ । पहिलो– तथ्यमा टेकेर विश्वसनीयता र नैतिकता जोड्ने काम । दोस्रो– तर्कमार्फत आफ्ना कुरा मनाउने काम । तेस्रो– भावनामा खेल्ने काम । ‘यो सामान किनौँ किनकि यो हाम्रो देशको माटोमा बनेको हो ।’ अब तर्क र सामानको गुणस्तरबारे बोल्नु परेन । प्रायः लोकप्रियतावादीले नागरिकको भावनासँग खेल्न यही तरिका अपनाइरहेका हुन्छन् । उनीहरू तथ्य र तर्कलाई भावनाले छोप्ने गर्छन् । मेरो देश, मेरो धर्म, मेरो जात, मेरो समुदाय भनेर नागरिकलाई उकास्छन् ।

आज सच्चा देशभक्तहरू उग्र राष्ट्रवादको चर्को स्वरमा हराइरहेका छन् । सच्चा लोकतन्त्रवादीहरू नक्कली लोकतन्त्रवादीहरूको चर्को स्वरमा गुमनाम छन् । नक्कली कम्युनिस्टको राष्ट्रवादले सक्कली कम्युनिस्टहरू शिर लुकाउन बाध्य छन् ।

मैले भावनाको प्रयोग गर्नु गलत भनिरहेको छैन, तर केवल भावना मात्र होइन, तथ्य र सही तर्कविनाको भावनाले परिणाम दिन सक्दैन । यस्ता लोकप्रियतावादी, नक्कली राष्ट्रवादीहरू एउटा दृश्य–अदृश्य दुस्मन आफैँ खडा गर्छन् र डर देखाउँछन् । उनीहरू आफैँले बनाएको त्यो दुस्मनसँग लड्न सक्ने आफैँलाई मान्छन् । आफूलाई हिरो बनाउँछन् । मसिहा मै हुँ भन्छन् । मैले मात्र देश बचाउन सक्छु भन्ने भाष्य निर्माण गर्छन् । यो नयाँ तरिका भने होइन । १९२३ मा भिक्टर भान कोएर्बरले हिटलरबारे एउटा किताब लेखे । किताबमा हिटलरलाई भगवान्को नयाँ अवतार भनिएको छ । पछि थाहा भयो, किताब हिटलर आफैँले लेखेका थिए, किताबमा साथीको नाम हालिदिएका रहेछन् । त्यसको दुई वर्षपछि हिटलर आफैँले आफ्नो आत्मकथा लेखे । यसमा पनि उनले आफूलाई गरिब परिवारबाट आएको बताए । तर, उनी गरिब परिवारबाट आएका थिएनन् । आजका चायवाला, साइकलवाला वा कर तिर्दा पनि लाइनमा बसेको समाचार बनाउनेवालाहरू नयाँ छोटे हिटलरकै भेरिअन्ट हुन् । 

आमनागरिकले यस्ता लोकप्रियतावादीका कुरामा विश्वास गर्नुका दुई कारण छन् । पहिलो– सामाजिक सञ्जालमा, जसले जे पनि बोल्न र लेख्न सक्छन् । अधिकांश मिडिया बिकाउ छन्, भ्रम फैलाउने कामको नेतृत्व गरिरहेका छन् । दोस्रो– बेरोजगारी बढ्दो छ । नागरिकमा निराशा छ । त्यही बेरोजगारी र निराशालाई नक्कली राष्ट्रवादीले आफ्नो हतियारका रूपमा प्रयोग गर्छन् । हुन त यस्ता कुरामा थोरै मानिस संलग्न हुन्छन्, तैपनि तिनको आवाज चर्को हुन्छ र त्यसले धेरैलाई मौन बनाइदिन्छ । आम तहमा द्विविधा थपिदिन्छ ।

लोकप्रियतावादी र नक्कली राष्ट्रवादीहरू आफूलाई पृथक् देखाउन ‘कन्स्पिरेसी थ्योरी’ प्रयोग गर्ने गर्छन् । म धेरै जानकार छु, म विशेष छु भनेर देखाउन खोज्छन् । मसँग धेरै सूचना छ, म ठूलो मान्छे हुँ भन्ने देखाउन निम्ति मानिसहरू अनावश्यक कन्स्पिरेसी फैलाउँछन् । महामारी वा संकटमा यस्ता भ्रम झन् धेरै फैलन्छन् । अस्तित्व रक्षामा रहेका कमजोर व्यक्तिले यस्ता भ्रममा बढी विश्वास गर्छन् । यस्ता लोकप्रियतावादी र नक्कली राष्ट्रवादीले गरिबी, बेरोजगारी र अशिक्षालाई होइन, गरिब, बेरोजगार र अशिक्षितलाई लक्ष्य बनाइरहेका हुन्छन् ।

अविवेकी समाजमा कन्स्पिरेसी आफैँमा एउटा सामाजिक रोग हो । कसैले कुनै कुरीति वा केही लोकप्रियतावादीविरुद्ध बोल्यो भने यो त डलरवादी हो भनिदिन्छन् । अब कुरा सकियो । त्यसलाई खण्डन गर्न खोज्दा फेरि त्यसलाई अर्को कन्स्पिरेसीले छोप्छ । जब व्यक्तिले अर्को व्यक्तिले गरेको तर्कलाई तार्किक खण्डन गर्न सक्दैन, तब तर्कको सट्टा व्यक्तिगत आरोप लगाउने प्रवृत्तिकै कारण बहस ओझेलमा पर्छ । कसैको तर्क काट्न नसक्दा, यो फटाहा हो, विदेशी दलाल हो र यस विषयमा यसको ठूलो स्वार्थ छ भनेर आरोप लगाइसकेपछि प्रमाण दिनुपरेन । फेसबुक र युट्युबमा भाइरल हुने नाउँमा लोकप्रियातावाद र नक्कली राष्ट्रवाद भजाएर राजनीति गर्नेको पनि कमी छैन । 

इन्टरनेटको युगमा कुन फेक न्युज हो, कुन सत्य हो भनेर चिर्न नसक्नु, नजान्नु ठूलो समस्या हो । तसर्थ, हामीले आलोचनात्मक चेत विकास गर्न जरुरी छ । सामाजिक सञ्जालमा सेयर गर्नुअघि हामीले त्यसको वास्तविकता जान्ने प्रयत्न गर्नु जरुरी छ । धेरै नसके पनि गुगलमै सर्च गरेर खोज्न सकिन्छ । जानकार वा विज्ञलाई सोध्न सकिन्छ । केही मिडियाले फ्याक्ट चेक गरिदिन सक्छन् । गलत समाचार फैलाउनु विवेकशील नागरिकको परिचय होइन भन्ने चेत राख्न सके लोकप्रियतावादी र नक्कली राष्ट्रवादीलाई केही हदसम्म रोक्न सकिन्छ । बुझ्न जरुरी के छ भने अपवाद भनेको अपवाद नै हो । लाखौँलाई खोप लगाउँदा एक–दुई प्रतिशतमा समस्या देखिनु सामान्य हो । तर, मिडियामा ती समाचार यसरी आउँछन् कि त्यसले ९९ प्रतिशतलाई समेत सशंकित बनाइदिन्छन् । हामीले अपवादलाई सामान्यीकरण गर्नुहुँदैन ।

कुनै समय चर्चित हास्य कलाकार चार्ली च्याप्लिनजस्तो देखिने प्रतियोगितामा च्याप्लिन आफैँ भाग लिन पुगे । तर, उनी तेस्रो भए । हुन त यो घटना सत्य हो कि होइन भन्नेमै पनि विवाद छ । तर, आज च्याप्लिनजस्तै देखिने प्रतियोगिता हुन्थ्यो भने पनि नतिजामा फरक आउँथ्यो जस्तो लाग्दैन । आज सच्चा देशभक्तहरू उग्र राष्ट्रवादको चर्को स्वरमा कहीँ कतै हराइरहेका छन् । सच्चा लोकतन्त्रवादीहरू नक्कली लोकतन्त्रवादीहरूको ठूलो स्वरमा गुमनाम छन् । नक्कली कम्युनिस्टको राष्ट्रवादले सक्कली कम्युनिस्टहरू शिर लुकाउन बाध्य छन् । हिटलर र आइन्स्टाइनकै कथा बारम्बार दोहोरिँदै छन् । राष्ट्रवादको अर्थ गिजोलिएको छ । चर्को लोकप्रियतावादले सक्कली देशभक्तलाई बोल्नसमेत डराउनुपर्ने अवस्था सिर्जित गर्दै छ ।

मेरा निम्ति सक्कली राष्ट्रवाद भनेको मानवतावाद हो । नागरिकलाई समृद्ध बनाउन रोजगारी सिर्जना गर्नु, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउनु, एउटा समुदाय वा जातको भन्दा सबैको सुरक्षा गर्नु, प्रत्येक नेपालीको आत्मसम्मानको जिम्मा लिनु, त्यसका निम्ति ठोस प्रयत्न गर्नु सक्कली राष्ट्रवाद हो । छोटो समयमा हुने हानि पनि स्विकार्न तयार रहेर समाजको भलाइका निम्ति लड्नु सक्कली राष्ट्रवाद हो । अक्सर नक्कली राष्ट्रवादीहरू लोकप्रियतावादको खास्टो ओढेर समाजलाई भ्रमित बनाइरहेका हुन्छन् । कतै हामी त्यसैको सिकार हुँदै त छैनौँ ?