मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश थाम्सुहाङ
२०७५ फाल्गुण २५ शनिबार १०:५६:००
Read Time : > 6 मिनेट
ब्लग

एउटा साँझको अवसान

Read Time : > 6 मिनेट
प्रकाश थाम्सुहाङ
२०७५ फाल्गुण २५ शनिबार १०:५६:००

इलाम र पान्थरको जोड्तीमै बसेको छ राँकेबजार । त्यहाँबाट एकाध किलोमिटर उत्तर–पूर्व लागेपछि आउँछ निबुखोला । सृष्टि प्रारम्भ भएदेखि नै निरन्तर बगिरहेको होला यो खोला । किनकि यहाँको रैथाने समुदायको मिथकमा यो खोला बगेको छ । खोला तरेर पुगिन्छ गुम्बाडाँडा । उँभो लागे पौवाभन्ज्याङ र उँधो लागे पुगिन्छ पौवा–सारताप गाउँ । गएको माघ २६ गते हामी पौवाभन्ज्याङ हुँदै फेदेन गइरहेका छौँ । सन्दर्भ छ नाम्धिङ्गोे साँझ । साँझमा कविता वाचन गर्दै छन् कविहरू विराट किराँती, राजकुमार अनिश्चित, कविता राई गाउँले र लेकाली कान्छा मुक्कुम । लेकालीबाहेक अरू कविसँगै छु म । इलाम बजारबाट हिडेँदेखि नै पानी परिरहेछ । हिउँदमा पानी ! जाडो उत्कर्षमा छ । भन्ज्याङ पुग्दा हिउँ नै पर्न थाल्छ । गाडी रोकेर केहीबेर हिउँसँग खेल्छौँ । लाग्छ, कसैले आकाशबाट स्निग्ध कपास खसालिरहेछ । अघि पानी पर्दा दिक्क मानेका हामी हिउँमा खेल्दा रमाइरहेका छौँ । अनुभूति पनि कति अस्थिर भन्या, छिनमै परिवर्तन भइरहने ।

 फेदेन पुगेको केहीबेरमै कार्यक्रम सुरु हुन्छ । छिट्टै कार्यक्रमले गति लिन्छ । चारैजना कविले एकसेएक रचना पाठ गरिरहेका छन् । माहोल कवितामा केन्द्रित छ । कविता किन पनि रुचिपूर्वक सुनिँदै छ भने सूदुरपूर्वको ताप्लेजुङ, इलाम र झापाबाट यी कविहरूले समकालीन कविता क्षेत्रमा प्रभावकारी हस्तक्षेप गरिरहेका छन् । मञ्चबाट देख्छु– पान्थरका कवि प्रेम ओझा केही बेचैन छन् । निरन्तर भित्र–बाहिर गरिरहेछन् । पटक–पटक फोनमा व्यस्त छन् । कार्यक्रम सञ्चालक दीपक खनाल भाइसँग साउती मारिरहेछन् । अनि दीपक भाइले अप्रत्याशित नमीठो खबर सुनाउँछन्– ‘स्रष्टा, राजनीतिकर्मी अमर नेम्बाङ हामीमाझ रहनुभएन ।’ पूरै हल स्तब्ध हुन्छ । मित्र प्रकाश आङ्देम्बे र म हेराहेर गर्छौं । हाम्रो वाक्य फुट्दैन । फगत सोच्छु– दिउँसो निरन्तर परेको झरी एउटा प्रकृतिप्रेमी स्रष्टाको अन्तिम बिदाइमा झरेको आँसु थिएछ । भन्ज्याङको नागबेली सडक र पखेराहरूमा झरेको हिउँफूल आफनो प्रिय छोराका लागि प्रकृतिको पुष्पश्रद्धाञ्जली थिएछ ।

अमर नेम्बाङ जति बाँचे प्रकृतिको नजिक बाँचे । पाब्लो नेरुदा उनका एक प्रिय कवि थिए । जसरी नेरुदासँग थियो माउन्ट माच्चिपिच्चु, उनीसँग पनि थियो सिलौटी पहाड र त लेखे सिलौटीमाथि कविता । नेरुदाले मृत्युपर्यन्त जराको कुरा गरिरहे, उनले पनि जरा अर्थात् थातथलोसँग कहिल्यै सम्बन्धविच्छेद गरेनन् । गाउँले जीवन उनलाई प्रिय थियो । गाउँले दाजुभाइप्रति उनमा अगाध स्नेह थियो । र त ती दाजुभाइको सेवा गर्दागर्दै उनले देहत्याग गरे । सहर उनलाई सधैँ बिरानो लाग्थ्यो । न्युर्योक बस्दा होस् या काठमाडांै उनलाई भ्रान्तिपूर्ण वास्तविकतामा बाँचिरहेको अनुभूत हुन्थ्यो । अहिलेका मानिस सुविधाभोगी र सहरकेन्द्रित भइरहेका परिप्रेक्ष्यमा उनी भने गाउँको प्रेम र विकासमा थिए । यसर्थ जति बाँचे, मानक बाँचे । 

शालीनताका प्रतिमूर्ति थिए अमर नेम्बाङ । क्रोध उनको शब्दकोशमा थिएन । तँ र तिमी भनेको कसैलाई सुनिनँ । टि एस इलियटले भनेको लेखकको स्वभाव उसको लेखनीमा प्रतिबिम्बित हुन्छ, स्रष्टा अमर नेम्बाङमा ठ्याक्कै लागू हुन्थ्यो । स्वभावजस्तै शालीन र कोमल लेखनी थियो उनको । प्रकृतिलाई केन्द्रमा राख्ने, प्रकृतिको काखमा रमाउने सर्जकको रचनामा भाव प्रचुरता पाइँदोरहेछ । गफमा उनी त्यस्तै सिर्जना मनपर्ने बताउँथे । क्लासिक कविहरू जारो स्ला सेफर्ट, डेरेक वालकोट, ग्राब्रियल मिस्ट्रालका कवितामा पाइने भावानात्मक गहिराइ उनलाई प्रिय लाग्थ्यो । अक्टोभिया पाजको हामीसँग पटक–पटक चर्चा गर्थे । 

माथि उल्लेख गरेको पौवासारताप गाउँमा विसं. १९९८ साल साउन २३ गते अमर नेम्बाङको जन्म भएको थियो । उनले अक्षर गाउँकै मनरत्न प्राथमिक स्कुलबाट सिके । त्यसपछि दार्जिलिङ गएर सेन्ट–रोबर्ट्समा भर्ना भए । कलेज सेन्ट जोसेफमा पढे । स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालयबाट गरे । भनिन्छ, पान्थरबाट स्नातकोत्तर गर्ने उनी प्रथम व्यक्ति थिए । दार्जिलिङ पढ्दा उनीसँगै बैरागी काइँला, भुविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ पनि पढ्थे । आइबी राई, ईश्वर बल्लभ र वैरागी काइँलाले साहित्यमा तेस्रो आयाम प्रतिपादन गरेको समय थियो त्यो । त्यसवेला आयामको मुखपत्र तेस्रो आयाम निस्किन्थ्यो ।

प्रकाशक उनै अमर नेम्बाङ थिए । कवि साहित्यकारसँगको संगत र दार्जिलिङमा पाश्चात्य साहित्यको सहज पहुँचले उनमा पनि साहित्यप्रति रुचि जाग्यो । त्यही वेलादेखि उनले लेख्न थाले, तर प्रकाशन भने गरेनन् । हुन सक्छ उनको स्रष्टा व्यक्तित्वलाई राजनीतिले पछिसम्म नेपथ्यमा पारिरह्यो । दार्जिलिङ पढ्दा उनी नेपाली स्टुडेन्ट युनियनमा पनि आबद्ध थिए । उनीमा राजनीतिक चेत यहीँबाट सुरु भएको हुनुपर्छ । नेपाली साहित्य जगत्ले कृतिको रूपमा विसं ०६२ मा आएर मात्र अमर नेम्बाङको यात्रा संस्मरण ‘अमेरिका भ्रमणका केही सम्झना’ पायो । विसं ०६४ सालमा आएको ‘सम्झनाका तरेलीहरू’ उनको सर्वाधिक चर्चित कृति हो । उनको ‘एउटा साँझको अवसान’ कविता कृति पनि प्रकाशित छ । 
 कलेज पढ्दा वैरागी काइँला एकोहोरो प्रेममा थिए । प्रेममा परेर नै कवि भए कि ? खैर, हामी पाठकले उत्कृष्ट प्रेम कविता पायौँ । गीत पायौँ । यो नै महŒवको विषय भयो । त्यसवेला वैरागी काइँलाले दिनहुँ प्रेमपत्र लेख्नुपर्ने । हुलाकी उनै भाइ अमर नेम्बाङ । दिनहुँ प्रेमपत्र थाप्दाथाप्दा आजित भएपछि एकदिन भनेछन् हल्कारालाई– बरू हामी प्रेम गरौँ । अनि चिठी बन्द । भनिन्छ– त्यसपछि वैरागी काइँलाको एकोहोरो प्रेमको दुःखद अवसान भयो । 

 बिपीको निर्वाचित सरकारलाई राजा महेन्द्रले बर्खास्त गरेको पनि एकाध वर्ष भइसकेको थियो । विसं ०१८ सालमा हतियार उठाएपछि भूविक्रम भूमिगत थिए । कृष्णविक्रम नेम्बाङ जेलमा थिए । अमर नेम्बाङले भने पञ्चायतलाई प्रयोग गर्दै संगठन विस्तार गर्ने नीति लिए । फलस्वरूप तात्कालीन चिलिङदेन गाउँको प्रधानपञ्च भए । त्यसपछि निरन्तर पौवा–सारताप गाउँको प्रधानपञ्च भए । पछिल्लो समय संघीय ढाँचामा निर्मित फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । लामो समय गाउँ र गाउँलेको सेवामा लागेर होला आफ्नो गाउँप्रति उनीमा अगाध स्नेह थियो । उक्त स्नेह उनको संस्मरण निबन्ध ‘सम्झनाका तरेलीहरू’मा प्रचुर अभिव्यक्त भएको छ । 

नेपाली साहित्यमा ढिलो अभ्युदय भएर पनि छिप्पिएको भाषा लिएर आउने लेखक हुन् अमर नेम्बाङ । उनको ‘सम्झनाका तरेलीहरू’ इको राइटिङको मानक कृति हो । एउटा समुदाय, त्यसको संस्कृति र जीवनपद्धतिमाथि पनि केन्द्रित छ यो पुस्तक । डा. सञ्जीव उप्रेतीले अस्ति विर्तामोडमा भन्दै थिए, ‘अहिलेको लेखनमा मानिस केन्द्रमा छैन । बरू पर्यावरण र अन्य जीव लेखनीको केन्द्रमा आइरहेछ ।’ यस्तो लेखनी अमर नेम्बाङले चालिसको दशकमै लेख्न थालेका थिए, कि त उनलाई पहिल्यै थाहा थियो– प्रविधि आविष्कार, विज्ञानको चरम विकासपछि मानिस प्रकृतिमै फर्किन्छ । अहिलेको जल्दोबल्दो समस्या ग्लोबल वार्मिङ, कार्बन उत्सर्जनप्रति उनलाई उहिल्यै बोध भएछ । र त पर्यावरण र प्रकृति प्रेममा मनग्ये शब्द खर्चिए । 

जब अमर नेम्बाङको निबन्धकृति ‘सम्झनाका तरेलीहरू’ प्रकाशित भयो, तब धेरै पाठक चकित भए । त्यसमध्ये म पनि पर्छु । धेरै लेखकलाई यसरी पनि लेख्न सकिँदोरहेछ जस्तो लागेको होला । त्यसताका निबन्धमा ठूला कुरा र ठूला विषयमाथि मात्र लेखिँदै गरेको सन्दर्भमा स्रष्टा अमर नेम्बाङले हाम्रै पेरिफेरिका मसिना, तर गम्भीर विषय आफ्नो लेखनीमा भित्र्याए । हाम्रै पेरिफेरिका बोटबिरुवा, चरा–चुरुंगीमाथि उनले मनग्ये लेखे । लेखक शक्तिशाली मानिसको पिछलग्गु भइरहेको समयमा उनले आफ्नै गाउँले दाजुभाइका दुःखसुखका कथा लेखे । यसले उनको लेखनीलाई नवीनता दियो ।  यतिबेला थकथक लागेर आउँछ, नजिकै रहेर पनि भरपुर गफ किन गरिनँ ? उनी पश्चिमा साहित्यको स्रोतव्यक्तिझैँ थिए । उताको लेखनमाथि मैले मनग्ये जानकारी लिन सक्थेँ ।

साहित्यिक कार्यक्रममा क्षणिक भेटमा मनपेट भरुन्जेल गफिन नपाइने । हाम्रो अलि लामो संगत करिब ६२–६३ सालताका काठमाडौंमा भएको थियो । सम्झिन्छु– चन्द्रवीर, स्वप्निल, देवी क्षेत्री दुलाल र अन्य मित्रहरू । हामीले सातदोबाटोस्थित उनको कोठामा पाँचथर स्रष्टा मञ्च गठन गरेका थियौँ । उनी हाम्रा अभिभावक थिए ।  अभिभावक त उनी सम्पूर्ण फाल्गुनन्द गाउँपालिकाका नागरिक थिए । उनको मलामीमा एक वृद्ध भावविह्वल भएर पटक–पटक बर्बराइरहेको सम्झिरहेछु– ए, हामेरकोे सरकार पेरो (गयो) । 

 फेदेन नगरपालिकाले पान्थरे स्रष्टालाई निराश तुल्याइरहेको अवस्थामा फाल्गुनन्द गाउँपालिकाले धेरै आँटभरोसा दिएको थियो । मनग्ये रकम छु्ट्याएर कलासाहित्यको श्रीवृद्धिमा गाउँपालिकाको उल्लेखनीय योगदान जारी थियो । यसको पछाडि उनै अमर नेम्बाङ थिए । यस मानेमा पान्थरे स्रष्टाले आफ्नो अभिभावक गुमाएको यथार्थ हो । 
एलेन गिन्सवर्गको विद्रोही कविता मन पराउने कवि अमर नेम्बाङ नेपाली समकालीन कवितामा पछिल्लो छिमल आइरहेको प्रतिरोधी चेतनासँग भने उतिसारो सहमत थिएनन् । कि त उनी अध्ययन र अनुभूतिले यी तमाम वैचारिक मतभेदबाट माथि उठिसकेका थिए । कवितामा उनलाई कलाको प्रचुरता मनपथ्र्यो ।

भाव गहनता मन पथ्र्यो । दर्शन मन पथ्र्याे । फेरि लामो समय गाउँको सत्तामा विराजमान भएर उनले विभेदको शृंखला देखेनन् । कवितामा भुइँमान्छेको कथा लेखेनन् । आरोप लगाउने ठाउँ त छ । तर, यसो गम्छु– कवितामा आउने आक्रोश उनलाई प्रिय भएनछ । कवितामा आउने कोमलता नै उनलाई प्रिय भएछ । हुन पनि कविताका अनेक रस छन् । छनोटमा कवि पाठक स्वतन्त्र छ होला भन्छु ।  कविता के हो ? परिभाषाभन्दा अनुभूत गरौँ भन्ने क्रिस्टोफर लोगको भनाइसँग नजिक थिए उनी ।

अझ कवितालाई व्यख्या गर्दा कविताको हत्या हुन्छ भन्ने एलिजाबेथ विशपको भनाइसँग सहमत थिए उनी । ‘एउटा साँझको अवसान’ कविता कृतिभित्रका कविताहरूले पनि व्यख्या खोज्दैन । केवल अनुभूत गरेपुग्छ । जस्तोकि, गाउँले निर्दोष मानिसका अनुहारलाई कसरी व्यख्या गर्नु ? कविको कोमल अनुभूतिलाई कसरी व्यख्या गर्नु ? निबुखोलाको हरदम बगिरहने कञ्चन पानीलाई कसरी व्याख्या गर्नु ? बुकीफूलको सुगन्ध, सिलौटीमा बहने बतास र हिउँदमा झर्ने हिउँ, मालिंगोको कोमल मुनामा परेको शीतको कसरी व्यख्या गर्नु ? अर्थ खोज्दा कविताको निर्मम हत्या हुन्छ कि ? अमर नेम्बाङको कविता यस्तै छ, मात्र अनुभूत गर्न सकिने । पाठकमा यसरी बिछट्टैको अनुभूति र तरंग उत्पन्न गराउन सक्नु पनि एउटा कविको सफलता हो ।

 जीवनको उर्वर समय गाउँलेलाई दिएर, आफ्नो उत्तरार्धको केही समय साहित्यलाई दिएर अमर नेम्बाङले आफ्नो भौतिक शरीरलाई बिसाएका छन् । साहित्यमा थोरै गरे, तर उम्दा गरे । उनी आफैँले अंगे्रजीमा अनुवाद गरेका छन् सम्झनाका तरेलीहरू । यो चाँडै प्रकाशन हुन्छ भन्ने सुनेको छु । स्याङ्बो र निबुखोलाको दोभानमा उनको पार्थिव देहलाई आगोले निलिरहँदा मैले भने उनको निबन्धसंग्रह सम्झनाका तरेलीहरूभित्रको उनको भनाइ सम्झिरहेँ। लाग्यो, प्रियजनको मृत्युको पीडा भुल्न पुस्तक अथवा कसैको विचार पनि सहायकसिद्ध हुँदोरहेछ ।

पुस्तकमा उनले हेनरी डेभिड थोरोको उदाहरण दिदैँ एउटा वाक्य लेखेका छन्– ‘प्रकृतिको प्रत्येक अंगले सिकाउँछ कि एउटा जीवनको अन्त्य हुनु नै अर्को जीवनका लागि ठाउँ दिनु हो ।’ अमर नेम्बाङले जीवनभर दिई नै रहे । गाउँलेहरूलाई सहयोग र सेवा दिए । परिवार र प्रकृतिलाई प्रेम दिए । मरेर पनि नयाँ जीवनलाई ठाउँ दिएर गए ।