गिन्सवर्गको पाइला टेक्दै

२०७५ फाल्गुण २५ शनिबार १०:५६:०० | काठमाडौं

सत्र वर्षको उमेरमा हिप्पी बनेका एलेन गिन्सवर्गले उडस्टकमा स्थापना गरेको ‘राइटर्स रिट्रिट’मा गएर बस्ने शिवले निधो गरे । उडस्टक त्यसवेला नितान्त निर्जन ठाउँ थियो । यति विकट कि हुलाक कार्यालयले आफ्नो एक मात्र शाखा बन्द गर्ने निर्णय गरेको तथ्य उनी सम्झन्छन् ।

साठीको दशकप्रति समर्पित एउटा हिप रेस्टुरेन्टमा शिव उपनाम गरेका एक अमेरिकी कविसँग म चिया पिइरहेको छु । हिप्पीहरूको स्वर्ग मानिने न्युयोर्क राज्यलाई । त्यही रमणीय ‘उडस्टक’को मुख्य बजारको मूल सडकमा बसेर हामी अतीतका पाना पल्टाइरहेका छौँ । शिव आफ्ना यौवनकालमा गरेका निर्णयको चर्चा गरिरहेका छन् ।  सत्र वर्षको उमेरमा हिप्पी बनेका एलेन गिन्सवर्गले उडस्टकमा स्थापना गरेको ‘राइटर्स रिट्रिट’मा गएर बस्ने शिवले निधो गरे । उडस्टक त्यसवेला नितान्त निर्जन ठाउँ थियो । यति विकट कि हुलाक कार्यालयले आफ्ना एक मात्र शाखा बन्द गर्ने निर्णय गरेको तथ्य उनी सम्झन्छन् । त्यस क्षेत्रमा गिन्सवर्गको आगमनपछि हुलाक विभागले थप निर्णय गर्न बाध्य भए । किनकि गिन्सवर्ग आएपछि यति धेरै चिठी हुलाक शाखामा आउन थाले कि त्यो शाखाको विस्तार नै गर्नुप-यो । 

मैले विश्व भ्रमण सुरु गरेदेखि नै यस्ता अनौठा र अद्भूत कथाहरू सुन्ने मौका पाइरहेको छु । यहाँसम्म कि कहिलेकाहीँ त मलाई यी लेखकमध्ये केहीले त कुनै सेतो ख्याकझैँ पछ्याएको जस्तो भान हुन्छ । ती लेखकमध्ये गिन्सवर्ग, फ्रेडरिक गार्सिया लोर्का र रवीन्द्रनाथ टैगोरहरू विभिन्न महाद्वीपहरूमा पुगेका कथाहरू सुन्दा म निरन्तर तिनीहरूले बनाएका अदृश्य रोडम्यापमा हिँडिरहेको जस्तो अनुभूति हुन्छ । मैले मेरा विश्व भ्रमणहरूको सिलसिलामा आफू कुनै पनि ठाउँमा पुग्नुअगाडि नै तिनीहरू पुगिसकेको देख्दा म छक्क परेको छु । स्नेलमेलको जगजगी र इन्टरनेट आउनुअघिको संसारमा पनि कसरी तिनले आफ्ना भ्रमणतालिका बनाउन सकेका होलान् ?

रोमानियाको सानो गाउँमा होस् वा नेदरल्यान्ड्सको पुरातन हारलमका फराकिला चोकहरूमा, अर्जेन्टिनाको होटेल ग्रान्डे होस् वा स्लोभेनियाको सानो रेलवे स्टेसनमा, यी साहित्यिक दिग्गजहरू मलाई सधैँ पछ्याइरहेका हुन्छन् । साँच्ची भनूँ भने उराठलाग्दो विकराल महाद्वीपहरूका अँध्याराहरूलाई चिरेर बनेको आकाशे रोडम्यापहरूमा एउटा आज्ञाकारी चेलाझैँ म हिँडिरहेको जस्तो अनुभूति पाइरहेको हुन्छु ।

अञ्जान महानगरहरूमा एक्लै भौँतारिएका वेला म अचम्मित हुन्छु कि तिनीहरू कसरी हिँडेका होलान् विभिन्न विकट गन्तव्यमा, नौलो कवितास्थलहरूको निर्माण गर्दै विश्वस्तरमा यायावर कविहरूको एउटा कुटुम्ब बनाउँदै । कसरी तिनीहरू नौलो संस्कृति, विभिन्न मानिस र समाजको गन्धमा भिजेका होलान् ? कसरी तिनीहरूले यस प्रक्रियामा टाढाटाढा रहेका महाद्वीपहरूको सांस्कृतिक धरोहर बनाएर त्यहाँका पाठकको कल्पना संसारमा प्रवेश गरेका होलान् ? खासगरी म गिन्सवर्गको घुमन्ते प्रवृत्तिबाट निकै प्रभावित भएको छु । कसरी उनले आफ्ना बिट परम्पराका सहयोगीहरूसित मिली आधुनिक यायाबर स्रष्टाहरूको परम्परालाई नौलो आयाम दिएर विश्वभरि अटुट मित्रताको माला बुने ? वाल्ट ह्विटम्यानका शब्दमा भन्दा ‘मित्रताहरू सल्लाको काण्डजत्तिकै मोटा र बलिष्ठ हुन्छन् ।’

हाइडलवर्ग नजिकै एउटा गाउँमा कविता पढ्नुअघि मैले मेरो आतिथ्य संयोजक जर्मनेली लेखक एवं सम्पादक बर्नर पाइपरलाई ‘म बिफ खान्न’ भन्नेबित्तिकै उनले गिन्सवर्गले पनि हाइडलवर्ग आउँदा एउटा हिन्दू सन्तझैँ कविता पाठ गरेको र त्यसपछि ‘म बिफ खान्न, हिन्दू भइसकेँ’ भन्ने उद्गार दिएको कुरा मलाई सुनाएका थिए । अर्काे कुरा, नेदरल्यान्ड्सको सानो पुरातन सहर हार्लेमको सानो बार (जहाँ मेरो कविता वाचन कार्यक्रम राखिएको थियो)मा मानिसहरूले गिन्सवर्गले हार्माेनियम बजाएर ‘हरेराम हरेकृष्ण’ शैलीमा आफ्नो प्रसिद्ध कविता ‘हाउल’ वाचन गरेको पनि मैले थाहा पाएँ ।

मैले सोही मदिरा पसलमा कविता पाठ गर्नेबित्तिकै आफूले बोकेको हिमाली सांस्कृतिक धरोहरको परिचय ती बिट आइकनहरूले जमानामै गरिसकेकाले मलाई सुरुका दिनहरूमा राखिएको वाचन कार्यक्रममा मैले धेरै प्रोत्साहन पाएँ । श्रोतामा मेरो प्रभाव जमाउन सजिलो भयो। त्यसैगरी एमस्ट्रर्डमको कुनामा रहेको कलाकारहरूको गाउँ रायखोटमा डच कवि हान्स पल्म्पले घन्टौँ गिन्सवर्गको डचसँगको सम्बन्धका कुरा गरेका थिए । पहिलो भेटमा नै उनले गिन्सवर्गले निकालेको प्रतिनिधि डच कविहरूको संग्रह मलाई देखाएका थिए । त्यसमा सिमोन भेन्केनोजलगायत हान्सका कविताहरू पनि राखिएका थिए ।

मैले केही समय रायखोटमा बिताउने क्रममा हान्सले मलाई गिन्सवर्गले पछि कोलोराडोमा नारोपा इन्स्टिच्युट खोलेको र त्यसमा उनले लगेका बौद्धिक भिक्षु चोग्याम टुङ्पा रिम्पोछेका अनेकौँ प्रसंग सुनाए । महान बौद्धसन्त चोग्याम आफ्नो जीवनको अन्तिम खण्डमा बौलाहा र जँड्याहा भएका थिए । त्यहाँका युवा चेलीहरूलाई सार्वजनिकस्थलमा प्रताडन गर्न थालेको कुरा हान्सले मलाई सुनाएका थिए । हान्सका अनुसार गिन्सवर्गले रिम्पोछेको त्यो ‘अलौकिक उत्तेजना’को थरीथरीका स्पष्टीकरण दिँदै उनको यौन उत्पीडन दिने व्यवहारको बचाउ गरेका थिए । 

त्यसैगरी न्युयोर्कमा पस्नेबित्तिकै मैले धेरै मानिसले गिन्सवर्गलाई भेटेको र गिन्सवर्गले तिनीहरूलाई शारीरिक सम्बन्धका प्रस्तावहरू राखेका कथाहरू सुनेको थिएँ । समलिंगी स्वभावका उनले राम्रा पुरुषहरूलाई आफ्नो कोठामा बोलाएर उत्तेजित गर्ने गरेका हल्लाहरू प्रायः सुन्न सकिन्थ्यो । एक पुरुष कविमित्रलाई बोलाउँदा कोठामा उनी कपालै कपाल भएको नांगो रूपमा देखेको पनि मैले सुनेँ । हाल रिलिज भएको पुरस्कृत फिल्म ‘वोहोमियान रैपसोडी’मा त्यस कालखण्डको उत्तेजनालाई छाम्न सकिन्छ । गिन्सवर्गका डिलन थोमस, अन्य बेलायती कवि र संगीतकारहरूसितको साझेदारी जगजाहेर नै छ । विशेष रूपले लन्डनका कविहरू आज पनि उनको बेस्ट बुक्स र एलवर्ट हलमा गरेका कविता वाचनका कथाहरू सुनाउने गर्छन् । त्यसैगरी गिन्सवर्गको चीन भ्रमण र त्यहाँ उनले दिएको भाषणको चर्चा निकै समय साहित्यिक जगत्मा चल्योे । त्यसमाथि छुट्टै एउटा लेख नै लेख्न सकिन्छ ।

भारतमा गिन्सवर्गको बंगाली कवि मलायराय चौधरीसितको साझेदारी, सहकार्य र हंग्री जमातको कुरा यदाकदा नेपाली साहित्यिक जगत्मा पनि सुनिन्छ । बंगाली सम्बन्धका अत्यधिक रोचक कथाहरू मलाई संयुक्त राज्य अमेरिकामा बसेका कवि ज्योर्तिमा दत्तले सुनाएका थिए । दत्त न्युयोर्कको न्यू स्कुलमा भइरहेको मेरो कविता पाठ सुन्न आएका थिए । उनकी श्रीमतीले आफ्नी बुहारी नेपाली नागरिक भएको बताइन् र न्युजर्सीस्थित घरमा आई केहीदिन बस्न अनुरोधसमेत गरिन् । आफ्नी नेपाली बुहारीलाई खुसी पार्नका नेपाली कविलाई सम्मान गरिएको मेरा लागि यो पहिलो अवसर थियो ।

श्रीमती दत्तले पहिलो पल्ट गिन्सवर्गलाई कोलकातामा भेटेकी थिइन् । उनलाई अचम्मित पार्नका लागि उनका समलिंगी मित्र पिटर ओर्लाेभ्स्कीलाई गिन्सबर्गले ‘मेरी श्रीमतीज्यू’ भनी परिचय गराएका थिए । त्यसपछि केहीबेर श्रीमती दत्तको अनुहारमा यस्तो नौलो सम्बोधनको प्रभाव हेर्न उनी प्रतीक्षारत भएको कुरा उनले रमाइलो गरी मलाई सुनाएकी थिइन् । दत्त पछि कोलकाताबाट अमेरिका सरेपछि गिन्सवर्ग प्रायःजसो उनीहरूको न्युजर्सीस्थित निवासमा जान्थे । त्यस समय गिन्सवर्ग निकै चर्चित र लोकप्रिय भइसकेका थिए । बेलुका गिन्सवर्ग दत्त परिवारसहित टाइम्स स्क्वायरतिर डुल्दा तिनको सानो छोरा गोगो (हाल स्वर्गीय)लाई काँधमा राखी घुम्न जान्थे । उनी यति नाम चलेका व्यक्ति थिए कि टाइम्स क्स्वायरमा मानिसहरूले उनलाई चिनेर अटोग्राफको अनुरोध गर्न थालेका थिए ।

यस्ता प्रसंग र कथाहरू संयुक्त राज्य अमेरिकामा मात्र होइन, विश्वको साहित्यिक र सहरी लोकसंस्कृतिको अभिन्न अंग भइसकेको छ । यो कुनै आश्चर्यको कुरा होइन कि वर्तमान दशकमा साठीको दशकको कला, संगीत र साहित्यको पुनर्जागरण भइरहेको छ । यस्तो फराकिला मानसिकता, बौद्धिक विस्तार र आत्मा प्रस्फुटन गर्न सक्ने शक्ति र ऊर्जा भएकाले आज विश्वमा बिट साहित्यको जगजगी छ । प्रायःजसो अधिकांश अमेरिकी पसलमा गिन्सवर्गको ‘हाउल’ र जैक कैरुयकको ‘अन द रोड’ पुस्तकका प्रतिहरू सदाबहार साहित्यिक कृतिका रूपमा राखिरहेको देखिन्छ । आजका युवापुस्तामा यी लेखकको प्रभाव निकै प्रबल छ । 

मेरो सुरुको युरोप भ्रमणका वेलाको लेखनमा ‘स्पेसकेक एम्स्टर्डम’ र न्युयोर्कमाथि केन्द्रित ‘अ ब्लिजार्ड इन माई बोनज’ कृति ती कालजयी दिग्गजहरूको गोरेटामा टेक्दै कोरिएका छन् । युरोप र अमेरिकाका प्रायःजसो सहरमा गिन्सवर्ग र अन्य बिट लेखकहरू जस्तै विलियम एस वोरोज र ज्याक कैरयुकका पुस्तकहरू सदाबहार बेस्ट सेलरका रूपमा आज पनि देख्न सकिन्छ । यी लेखकहरूले आफ्नो आत्मासित गरेका वार्तालाप र अन्वेषणहरू आजको विश्व वाङमयको अजर तथा अमर धरोहर बनेका छन् ।

yuyutsurd@gmail.com

प्रतिकृया दिनुहोस