मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण ५ बिहीबार १८:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पासाङल्हामु सडकखण्डका स्थानीयले फोहोरका कन्टेनर रोकेपछि उठ्न छाड्यो उपत्यकाको फोहोर

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण ५ बिहीबार १८:३६:००

पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै ककनी र तारकेश्वर क्षेत्रका स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। त्यससँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। चार दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन। फोहोर बोकेर सिसडाेलतर्फ गुडेका फोहोरका कन्टेनर स्थानीयले बाटोमै रोकिदिएका छन्। 

स्थानीयवासीले फोहोरका कन्टेनर रोकेपछि फोहोर व्यवस्थापन गर्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ। फोहोरका कन्टेनर ओहोरदोहोर गर्दा सडक आसपासमा अत्यधिक धुलो उड्ने भएपछि स्थानीय सडक नबनेसम्म फोहोरका गाडीलाई निषेध गरेका छन्। ‘फोहोरका कन्टेनर लाइन लागेर आउँछन्, फोहोर मात्रै गन्हाउँछ, धुलो उडेर घरबाहिर बस्न सकिन्न,’ नुवाकोटको मुड्खुका नवीन्द्र कार्कीले भने, ‘सडक नबनेसम्म हामीले सडकमा फोहोरका गाडी गुड्न दिन्नौँ।’ उनले अन्य गाडी भने नरोकेको जानकारी दिए। 

सडक कालोपत्रे नभएपछि मुड्खु र ठूलोखोला क्षेत्रका स्थानीय बढी प्रभावित छन्। त्यससँगै तारकेश्वर र ककनी क्षेत्रका स्थानीयले पनि सडक कालोपत्रेको माग राख्दै सडकमा ब्यानर झुन्ड्याएका छन्। उनीहरूले रूख तथा पोलमा ठेकेदारको फोटो टाँस्दै तुरुन्तै सडक कालोपत्रे गर्न माग राखेका छन्। 

कालोपत्रेको माग राख्दै सडक अवरुद्ध गरेपछि करिब चार हजार मेट्रिकटन फोहोर उपत्यकाका विभिन्न सडकमा थुप्रिएको छ। तर सडक नखुलेसम्म फोहोर नउठ्ने काठमाडौं महानगरपालिकाले जनाएको छ। ‘सडक बनाउने कार्य महानगरको होइन्, सडक विभागको हो, यसअघि पनि स्थानीयले अवरोध गरेपछि सहमति गरेर फोहोरका गाडी गुड्न दिएका थिए,’ महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले भनिन्, ‘तर ठेकेदारले समयमै काम नगरिदिएपछि फेरि सडक अवरुद्ध गरेका छन्।’ उनका अनुसार महानगरले सडक कालोपत्रेका लागि सडक विभागलाई जानकारी गराएको छ। तर सडक विभागले चासो नदिएको विभाग प्रमुख राईले बताइन्। उनले ठेकेदारलाई सडक मर्मत गर्न ताकेता गरे पनि ठेकेदारले पछिल्लो समय फोन नउठाएको बताइन्।

सिसडोल ल्यान्डफिल साइटमा फोहोर लैजाँदै कन्टेनर यही सडकखण्ड हुँदै गुड्छन्। तर सडकमा अवरोध पुर्‍याएपछि कन्टेनर रोकिएका छन्। ल्यान्डफिल्ड साइटतर्फको सडक अवरुद्ध गरेपछि महानगरले घरघरको फोहोर उठाएर सडकमा थुपार्न थालेको छ। चार दिनयता काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, लगनखेल, गौशाला, सुन्धारा, जावलाखेल, बागबजार, रत्नपार्क, थापाथली, बबरमहल, महाराजगन्ज, गोंगबु, कलंकीलगायत क्षेत्रका सडक किनारमा फोहोर थुपार्न थालिएको छ। त्यस्तै महानगरले कन्टेनर भरेर बागमती र धोबीखोला करिडोरमा पार्किङ गरेको छ। महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ठेकेदारलाई सडक कालोपत्रे गर्न निर्देशन दिएको बताए। उनले यसअघि पनि स्थानीयले अवरोध गर्दा ठेकेदारले सडक कालोपत्रे गरिदिने सम्झौता गरेको थियो, तर ठेकेदार कम्पनीले हालसम्म पनि सडक कालोपत्रे गरेको छैन । 

उनका अनुसार सो सडक शैलुङ कन्स्ट्रक्सनले ६ वर्षदेखि ठेक्का लिएको थियो। ठेकेदारले सडक नबनाउँदा फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेका हुन्। ‘स्थानीयको माग पनि जायज होला तर ठेकेदार कम्पनीले टारेपछि समस्या आएको हो,’ उनले भने, ‘जतिसक्दो छिटो सडक खुलाउने प्रयास गरेका छौँ।’ 

हाल उपत्यकामा दैनिक उत्पादित एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ। त्यसमध्ये काठमाडौं महानगरभित्र पाँच सय मेट्रिकटन उत्पादन हुने गरेको छ। उपत्यकाको फोहोर बन्चरेडाँडा ओसार्न काठमाडौं महानगरपालिकासँग ३० वटा मात्रै कन्टेनर छन्। उपत्यकाभित्र फोहोर व्यवस्थापन गर्ने कन्टेनर तीन सयभन्दा बढी छन्।