मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आहुति
२०७५ फाल्गुण २५ शनिबार ०९:५४:००
Read Time : > 3 मिनेट
ब्लग

‘पार्टीभित्रै छुवाछुत भोगेँ’

दलन

Read Time : > 3 मिनेट
आहुति
२०७५ फाल्गुण २५ शनिबार ०९:५४:००

काठमाडौं नैकापमा जन्मिएँ । तीन–चार वर्षको उमेरदेखि नै विभेदको अनुभव गर्न थालेँ । पानी पधेँरामा, पसलमा, कसैको घर–आँगनमा, जात्रामा जाँदा, मन्दिर वा मेलामा जाँदा आफूलाई विभेद गरेको महसुस गरेँ । परिवारका अग्रजले ‘त्यहाँ छुनुहुन्न, त्यहाँ टेक्नुहुन्न’ भन्नुहुन्थ्यो । 

६ कक्षामा प्रथम भएर एकैपल्ट ८ मा भर्ना भएँ । तर, स्कुल पढून्जेल कहिल्यै पनि मैले स्कुलको पानी पिइनँ । पानी घैँटामा हुन्थ्यो । विद्यार्थीले सीधै गएर खान पाउँदैनथे । त्यहाँ पालेले मात्रै पानी दिन्थे । त्यसवेला घरबाट पानी लैजाने चलन थिएन । त्यहीँको भाँडोमा पानी पिउन दिँदैनथे । छोइयो भनेर हकार्थे । वरपरको पसलवालाले पनि पानी दिँदैनथे । त्यसैले स्कुल जाँदा मैले कहिल्यै पानी पिइनँ । प्यास लागिहाल्यो भने स्कुलभन्दा निकै पर ढुंगेधारा थियो । त्यहीँ गएर पानी पिउँथेँ । 

बाल्यकालमा हामीमाथि भएको विभेद बुझ्दिनथेँ । बुझ्दै गएपछि आफूमाथि अन्याय भएको थाहा पाएँ । पानी पिउन नदिने त्यो घैँटालाई मैले १० कक्षा पढ्दा फुटाइदिएँ । त्यो मेरो विद्रोह थियो । नौ वर्षसम्म पानी पिउन नपाएको आक्रोश थियो । विद्रोह थियो । म कक्षा १० को फस्र्टब्याच थिएँ । घैैँटो फुटाएकोमा कसैले गाली गर्ने आँट गरेन । 

बाल्यकालमा आफू उमेरका गैरदलित साथीबाट पनि विभेदको महसुस भोगेँ । उनीहरूको घरमा जाँदा, सांस्कृतिक अनुष्ठानमा जाँदा, चियापसल र रेस्टुरेन्टमा जाँदा धेरै अपमान भोगेँ । अपवादबाहेक मैले सबै साथीको घरमा विभेद भोगेँ । विभेदका तरिका फरक–फरक हुन्थे । 

स्कुल जाँदा मैले कहिल्यै पानी पिइनँ । प्यास लागिहाल्यो भने स्कुलभन्दा निकै पर ढुंगेधारा थियो, त्यहीँ गएर पानी पिउँथेँ ।

बाल्यकाल र विद्रोह
राजनीतिक रूपमा सचेत भएपछि विभेदविरुद्ध विद्रोह गरेँ । मैले बुझेअनुसार प्रत्येक उत्पीडनमा परेको मान्छेले प्रत्यक्ष–अप्रत्यक्ष वा मौन रूपमा उत्पीडनको प्रतिरोध गर्ने प्रयास गरिरहेको हुन्छ । एकपटक गाउँमा मञ्चन भएको नाटकमा दलित व्यक्तिलाई नायकको भूमिकामा खेलाइयो । त्यो नाटक निकै राम्रो मानियो । त्यसपछि अर्को मान्छेलाई नायक बनाएर त्यो नाटक देखाइयो । त्यो घटनाले मलाई निकै दुःखी बनायो । प्रतिभा भएर पछि दलितलाई नायक स्वीकार नगरिएको घटनाले मेरो कलिलो मनस्थितिमा ठूलो प्रहार भयो । त्यो क्षण मेरा लागि निकै डरलाग्दो थियो । 

१४ वर्षको हुँदा नाटक लेखेँ । साथीहरू मिलेर नाटक रिहर्सल पनि ग-यौँ । नाटकमार्फत सामाजिक मुद्दा उठायौँ । बिस्तारै हामी नाटक लेख्ने र बनाउन सक्ने समूहमा स्थापित भयौँ । नाटक बनाउँदा धेरै अप्ठ्यारो व्यहोर्नुप-यो । गाउँमा परम्परागत नाटक महिनौँ रिहर्सल गरेर अन्तिम दिन देवतालाई पूजा गरेर भोज खाने चलन थियो । म त्यसको निर्देशक र लेखक मात्रै होइन, लिडर नै थिएँ । तर, त्यो भोजमा म आफैँ बस्न पाउँदिनथेँ । 

मैले सानैदेखि मौन विद्रोह नै गरेँ । जहाँ विभेद हुन्छ, त्यहाँ जाँदैनथेँ । झुकेर, गलेर, निहुरिएर म कहीँ पनि गइनँ । त्यो मेरो स्वभाव थियो । चिया पसलमा विभेद हुन्थ्यो, म त्यहाँ चिया पिउँदिनथेँ । साथीहरूसँग भोज खान जाँदा ससम्मान जान पाइने ज्ञारेन्टी भएपछि मात्रै जान्थेँ । 

कम्युनिस्ट पार्टीभित्रै विभेद
म ०३७ सालको आन्दोलनदेखि राजनीतिक आन्दोलनको सम्पर्कमा पुगेँ । जनमतसंग्रहमा बहुदलको पक्षमा हिँडेँ । ०४० सालदेखि कम्युनिस्ट आन्दोलनमा जोडिएँ । ०४३ देखि पूर्णकालीन कार्यकर्ता भएँ । कम्युनिस्ट पार्टीको कार्यकर्ता भएपछि जातीय विभेद भोग्नुपर्दैन होला भन्ठानेको थिएँ, तर भोगेँ । एकपटक होइन, पटक–पटक । 

काठमाडौंमा पार्टीको बैठक नेवारको घरमा हुन्थ्यो । त्यसवेला अरू सबै भित्र बस्थे, मचाहिँ छिँडीमै बस्थेँ । क्षेत्री–बाहुनको घरमा बैठक बस्दा गोठमा बसिन्थ्यो । गैरदलितको घरमा बस्दा खाना खाने वेलामा बाहिर बस्नु पर्दथ्यो । पानी पनि छुट्टै पिउनुपथ्र्यो । सँगै हिँडेको साथीले परिवारलाई मेरो परिचय गराउँदा अर्को जातको मान्छे भनेर चिनाउँथे । कम्युनिस्ट पार्टीमा साथीहरूसँगै जब एउटै थालमा केही खानेकुरा खानुपथ्र्यो, त्यसवेला नेताहरू नै एकैठाउँमा नखाई उठेर हिँड्थे । उनीचाहिँ आफ्नो भान्सामा गएर खान्थे । यस्तो घटना एकपटक होइन, अनगिन्तीपटक व्यहोरेको छु । 

दलित समुदायको व्यक्ति उच्च तहमा पुगेपछि नेतृत्व स्विकार्न गाह्रो मान्छन् । त्यहाँ नयाँ तरिकाले भेदभाव देखिन्छ । उसलाई जिम्मेवारीका निम्ति लायक देखासिकी सकारात्मक वाक्यांश वा सम्बोधन देखासिकी प्रयोग गरेर उल्टै उत्पीडन गरिन्छ ।

दलित समुदायको व्यक्ति उच्च तहमा पुगेपछि नेतृत्व स्विकार्न गाह्रो मान्छन् । त्यहाँ नयाँ तरिकाले भेदभाव देखिन्छ । उसलाई जिम्मेवारीका निम्ति लायक देखासिकी सकारात्मक वाक्यांश वा सम्बोधन देखासिकी प्रयोग गरेर उल्टै उत्पीडन गरिन्छ । ‘तपार्इं त्यस्तो ठाउँमा आइपुग्नुभयो । ठूलो प्रगति गर्नुभयो’ भनिन्छ, तर नेतृत्व मान्नचाहिँ तयार हुँदैनन् । देखावटी रूपमा प्रशंसा गरिन्छ, अन्तर्यमा चाहिँ तल्लोस्तरमै राखिन्छ । यो अपमान र उच्चस्तरको उत्पीडन हो । 

कानुनमा बन्देज भए पनि दोहोरिरहन्छ
राज्यसँग छुवाछुत उन्मूलनका निम्ति कुनै कार्यक्रम छैन । यो राज्यले विभेदको अन्त्य गर्ने कुनै काम गर्दैन । यो राज्य भनेको दलाल पुँजीपति वर्र्गले शासन गरेको राज्य हो । यस्तै, व्यवस्था भारतमा लागू भएको ७० वर्ष भयो । १० प्रतिशत गरिबलाई मध्यमवर्गमा उकाल्यो । ती मध्यमवर्गमा पुगेका दलितमाथि सांस्कृतिक उत्पीडन जारी छ । तर, ९० प्रतिशत दलित समाजको तल्लोस्तरमा छन् । सबै प्रकारको उत्पीडन भोग्न बाध्य छन् । एउटा राजनीतिक व्यवस्थाले ७० वर्ष लगाएर पनि सबैभन्दा तल्लो तहको समाजको १० प्रतिशत उत्पीडितलाई पनि विभेदबाट माथि लान सक्दैन भने त्यो व्यवस्था पूरै असफल भयो । त्यही पुँजीवाद अब यहाँ सुरु हुन लागेको छ । यो व्यवस्थाले दलितको मुक्ति गर्दैन । 

कुराकानीमा आधारित