मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण ४ बुधबार ०७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोकिराखेको स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ४ बुधबार ०७:१३:००

गुल्मीको मुसिकोटमा एम्बुलेन्समा आगजनी  भएको छ । मुसिकोट नगरपालिका– ४ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको हो । अज्ञात पक्षले लु.२च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगो  लगाइदिएको  एम्बुलेन्सचालक शंकर बगालेले जानकारी दिए । एम्बुलेन्स भारतीय भूतपूर्व सैनिकको सहयोगमा स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको थियो । मुसिकोट– ४ डाँडाथोकस्थित घरअगाडि रोकेर राखेको एम्बुलेन्समा एक्कासि आगजनी  भएको बगालेले बताए ।

आगजनी भएको केही बेरमा स्थानीयले आगो निभाएका थिए ।आगजनीबाट एम्बुलेन्सको अगाडिको भाग पूरै जलेको छ । विगत तीन वर्षदेखि एम्बुलेन्स चलाएका बगालेले कोही कसैसँग रिसइबी नभएको र कसले आगो लगाए भन्ने विषयमा अनभिज्ञ भएको बताए । वामी प्रहरीचौकी इन्चार्ज प्रहरी नायव निरीक्षक जनक थापाले केही बेरमा घटनास्थल जाने बताएका छन् ।

आफूलाई राति नै सूचना प्राप्त भए पनि स्थानीयले आगो नियन्त्रणमा लिइसकेकाले अब केहीबेरमा घटनास्थल पुग्ने थापाले जानकारी दिए । संयुक्त एम्बुलेन्स सञ्चालन संघका सचिव युवराज बस्नेतले पछिल्लो समय एम्बुलेन्सचालकहरू असुरक्षित हुँदै गएको बताए । उनले चालक कुटिनेदेखि एम्बुलेन्समा आगलागी हुने स्थिति आएकाले सरकारले आफूहरूको सुरक्षामा हेलचेक्र्याइँ गरे कडा प्रतिवाद गर्ने चेतावनी दिए । घटनाको सत्यतथ्य बाहिर ल्याएर संंलग्नलाई कडा कारबाहीको माग बस्नेतले गरे ।