मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण २४ शुक्रबार ११:३५:००
Read Time : > 1 मिनेट
अर्थ

अब कफीखेतीको पनि बिमा

बिमांक रकमको ५ प्रतिशत बिमा शुल्क, किसानको पनि २ लाखको दुर्घटना बिमा

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण २४ शुक्रबार ११:३५:००

अब कृषकहरूले कफीखेतीको बिमा गर्न पाउने भएका छन् । बिमा समितिले गत साता बिमालेख सार्वजनिक गरेको हो । सोअनुसार कफीखेतीको साथमा दुर्घटनाबाट हुने किसानको मृत्यको २ लाखसम्मको बिमा पनि हुनेछ । आगलागी चट्याङ, भूकम्प, अधिक वर्षा, बाढी, डुबान, खडेरीका कारण कफीखेतीमा नोक्सानी भएमा कम्पनीले बिमांक रकमको ९० प्रतिशत रकम भुक्तानी गर्छ । कफी खेती बिमा योजनामा कृषकहरूले कफीको बोट, चेरी वा बोट र चेरीको संयुक्त रूपमा बिमा गर्न सकिने बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । ‘यो बिमालेख नेपालका लागि नयाँ हो । यसमा बोट, चेरी र दुवैको पनि बिमा गर्न सकिनेछ,’ उनले भने । 

कृषकको आफ्नै कारण क्षति भएमा दाबी नलाग्ने
योजनाअनुसार यदि कृषक वा कृषकको परिवारले जानाजान वा रिसइबीपूर्ण व्यवहारका कारणबाट कफीखेतीको क्षति भएमा कम्पनीले दाबी भुक्तानी नगर्न सक्छ । त्यस्तै, कानुनी निकायको आदेशमा बिमा गरिएको कफीखेती नष्ट गर्नुपर्ने भएमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारबाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सैनिक विद्रोहका कारणले खेती हानि–नोक्सानी भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । 

कफी रोपेकै वर्षबाट बिमा गर्न सकिने
कृषकहरूले कफी रोपेकै वर्षबाट बिमा गर्न सक्नेछन् । तर, बिमालेखमा उल्लेख भएबमोजिमको प्राविधिक प्रक्रिया पूरा गरी कफीखेती गरेको हुनुपर्नेछ । योजनाअनुसार कफी रोप्दा रोपण गरिने बिरुवा पोलीब्यागमा रोपेको कम्तीमा १ फिट अग्लो, सिसाकलम जत्रो मोटो, ६ जोडी पात भएको, १४ देखि १८ महिनाको, रोग/किरा नलागेको स्वस्थ बेर्ना हुनुपर्नेछ । त्यस्तै, बिरुवा लगाउनुभन्दा कम्तीमा एक महिना पहिलादेखि रेखांकन गरी ३५ सेमी गहिरो र चौडा खाडल खनेको हुनुपर्नेछ । वर्षा सुरु भएपछि असारदेखि साउनसम्म बिरुवा रोपिसक्नुपर्छ  । सिँचाइको सुविधा भएको ठाउँमा फागुन, चैत्रमा पनि रोपण गर्न सकिनेछ । 

आंशिक बिमा गर्न नपाइने
एउटा कृषकले आंशिक रूपमा कफीखेतीको बिमा गर्न पाउने छैनन् । समितिले जारी गरेको कफीखेती बिमा योजनाअनुसार कृषकले एकपटकमा आफ्नो पूरै खेतीको बिमा गर्नुपर्नेछ । त्यस्तै, कफीखेतीको बिमा गर्न एउटै ब्लक वा क्लस्टरमा थोरैमा ५ सय बोट हुनुपर्नेछ । बिमकले आफ्नो कफीखेती बिक्री गरेमा बिमालेख नामसारी गरी बिमालाई निरन्तरता दिन सकिनेछ । 

सात दिनभित्र दाबी गर्नुपर्ने
बिमा गरिएको कफी खेतीमा हानि–नोक्सानी भएमा कृषकले ७ दिनभित्रमा बिमा कम्पनीमा खबर गर्नुपर्नेछ । कृषकले सक्कल बिमालेख, पूर्ण रूपले भरिएको दाबी फारम, स्थानीय निकायको कृषि सेवा शाखा वा कृषि ज्ञान केन्द्रबाट अनिवार्य रूपमा प्रमाणित प्रमाण–पत्र, बिमितले राखेको कफीखेतीसम्बन्धी अद्यावधिक अभिलेखको प्रतिसहित बिमा कम्पनीमा दाबी गर्नुपर्नेछ । त्यस्तै, नगरपालिका, गाउँपालिका, वडा कार्यालय वा सबभन्दा नजिकको दुईजना छिमेकीको सर्जमिन मुचुल्का पनि दाबी फारमका साथ संलग्न गराउनुपर्नेछ ।

५ प्रतिशतभन्दा बढी क्षति भए मात्र दाबी लाग्नेछ
बिमा अवधिभित्रमा बिमा गरिएको कफीखेती कुल बिमांक रकमको ५ प्रतिशतभन्दा बढी क्षति भएमा मात्र बिमा दाबी लाग्नेछ । त्यस्तै, बिमा गरिएको कफीखेती ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षतिअनुसार दाबी भुक्तानी गरिनेछ । बिमा अवधिभित्र बिमा दाबी परेको क्षेत्रफललाई पुन : बिमामा समावेश गर्न पाइनेछैन । 

बिमाशुल्क बिमांकको ५ प्रतिशत लाग्ने
कृषकहरूले कफीखेतीको बिमांक रकमको ५ प्रतिशत भुक्तानी गरी बिमा गर्न सक्नेछन् । बिमांक कायम गर्दा कफीको बोटको वर्ष, उत्पादन दर, बोटको मूल्य, उत्पादनको मूल्य आधारमा निर्धारण गरिनेछ । व्यक्तिगत, साना किसान वा किसान समूहले यस्तो खालको बिमालेख खरिद गर्न सक्नेछन् । कृषकले बिमांकको शून्य दशमलव ५० प्रतिशत बिमाशुल्क भुक्तानी गरी दुर्घटना बिमा गर्न सक्नेछ । बिमांक रकम कायम गर्दा सम्बन्धित जिल्लाको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय वा अन्य सरकारी निकायको कृषिसँग सम्बन्धित कार्यालयबाट प्रमाणित गराउनुपर्नेछ ।