१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ माघ १९ बुधबार ०७:०८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोठीमा बेचिएको  १६ वर्षपछि फेसबुकबाट आफन्तसँग मिलन 

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ माघ १९ बुधबार ०७:०८:००

श्रीमती बेच्ने लक्ष्मण क्षेत्री र दिल्लीमा कोठी चलाउने पार्वती मगर पक्राउ

आफ्नै श्रीमान्बाट भारतको कोठीमा बेचिएकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरेका छन् । फेसबुकमार्फत परिवारसँग सम्पर्क भई म्याग्दीकी एक महिलाको गत कात्तिकमा उद्धार भएको हो । उनलाई कोठीमा बिक्री गर्ने श्रीमान्सहित दुईजनालाई हालै प्रहरीले पक्राउ गरेको छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनका श्रीमान् लक्ष्मण क्षेत्री र दिल्लीमा कोठी चलाउने पार्वती मगरलाई पक्राउ गरेको हो । ब्युरोका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ०६२ को पुसमा पीडित महिलालाई दिल्लीमा लगेर बिक्री गरिएको थियो । 

पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार उनका श्रीमान् लक्ष्मण पहिलेदेखि नै नयाँदिल्ली बस्दै आएका थिए । उनी गाउँमै बस्दै आएकी थिइन् । उनलाई नयाँदिल्ली बोलाउँदै श्रीमान्को नाममा चिठी र पैसा पठाइएको थियो । तर, उनलाई विश्वास लागेन । उनी गाउँबाट बेनीबजार पुगेर श्रीमान्लाई फोन गरिन् । श्रीमान्ले आफैँले बोलाएको बताएपछि खुसी हुँदै उनी दिल्ली गएकी थिइन् । दिल्ली पुगेको केही दिनमै उनको जीवनको नरक यात्रा सुरु भयो । श्रीमान्ले उनलाई जसबहादुर श्रीष मगर र उनकी श्रीमती पार्वती मगरलाई बुझाए ।

उनीहरूले पीडितलाई कोठीमा बन्धक बनाएर यौनधन्दामा लगाएका थिए । केही वर्षपछि आफूलाई अलिगडस्थित एक व्यक्तिको घरमा लगेर यौनशोषण गरिएको उनको उजुरीमा उल्लेख छ । अलिगडमा उनले तीन सन्तान जन्माइन् । पछि फेरि उनलाई दिल्लीमै लगेर बेचिएको थियो । एक ग्राहकको सहयोगमा फेसबुकमार्फत नेपालमा रहेका भाइसँग सम्पर्क गरी उनको उद्धार भएको हो । 

नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन् । उनका श्रीमान्लाई ४ माघमा तथा पार्वतीलाई ८ माघमा प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय उनका श्रीमान् वैदेशिक रोजगारीको क्रममा दुबईमा थिए । दुबईबाट फर्कंदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको एसएसपी राईले बताए । पार्वतीलाई भने प्रहरीले म्याग्दीबाट पक्राउ गरी नेपाल ल्याएको हो । पार्वतीका श्रीमान् जसबहादुर श्रीष मगर भने पक्राउ गरेर प्रहरी चौकी लैजाँदै गर्दा भागेका थिए । उनीहरू दिल्लीमै बस्ने भए पनि केही समयअघि नेपाल आएका थिए । 

कसरी भागे जसबहादुर ? 
जाहेरीका आधारमा अनुसन्धान गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले जसबहादुर र उनकी श्रीमतीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई पत्राचार ग¥यो । जिप्रका म्याग्दीले उनीहरूलाई पक्राउ गर्न दुईजना प्रहरी मोटरसाइकलमा पठायो । तर, मुख्य अभियुक्त जसबहादुर पक्राउ परेपछि हामफालेर नाटकीय ढंगले भागेर दिल्ली पुग्न सफल भएका छन् । 

गत ८ माघमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेर कार्यालयतर्फ लैजाने क्रममा उनी भागेका हुन् । भोलिपल्टै उनी दिल्ली पुगेको सूचना प्रहरीले पाएको छ । मिलेमतोमा भगाइएको आशंकामा प्रहरीमाथि छानबिन थालिएको छ । ‘२० वर्ष कैद सजाय हुने अपराधका अभियुक्तलाई पक्राउ गर्दा प्रहरीले जुन सतर्कता अपनाउनुपथ्र्याे त्यो देखिएन,’ ब्युरोका एक अधिकारी भन्छन्, ‘यसमा प्रहरीको गम्भीर लापरबाही देखिन्छ ।’ अभियुक्तलाई पक्राउ गर्न म्याग्दीका डिएसपी श्यामकुमार राईले दुईजना मात्र प्रहरी पठाएका थिए । जसकारण यसमा जिल्ला प्रहरी नेतृत्वकै कमजोरी देखिएको छ । 

डिएसपी राई भने यसमा प्रहरीको कुनै कमजोरी नभएको बताउँछन् । ‘सामान्य केसको मान्छे होला भनेर दुईजना मात्र प्रहरी पठाएका थियौँ,’ उनले भने, ‘पछि भागेपछि पो ठूलो केसको मान्छे रहेछ भन्ने थाहा भयो ।’ उनी पक्राउ परेको खबर पाएपछि लिनलाई गएको ब्युरोको टोली बाटोबाटै फर्किएको थियो । म्याग्दी प्रहरीले पार्वती र उनकी छोरीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाई उनीहरूलाई ब्युरोमा पठाएको छ । दिल्लीमा बस्दै आएकोमा नेपाल आएको वेला उनीहरूलाई पक्राउ गर्न प्रहरी गएको थियो । 

श्रीमती बेचेर सालीसँग बिहे 
१२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्री गरेको आरोपमा रुकुमका खगेन्द्र वली पनि पक्राउ परेका छन् । १२ वर्षअघि निद्रा लाग्ने औषधि खुवाएर बेहोस बनाई आफूलाई दाङ हुँदै दिल्ली लगिएको उनको भनाइ छ । पछि दिल्लीमै होटेल चलाउने एक नेपालीको सहयोगले आफू कोठीबाट बाहिर आएको उनले बताएकी छिन् । 

पक्राउ परेका वलीले भने आफूले श्रीमतीलाई बिक्री गरेको नभई उनी दिल्लीमा हराएको बताएका छन् । आफूले पटकपटक खोजी गरे पनि नभेटेको उनको दाबी छ । पछि उनले साली नाता पर्ने युवतीसँग बिहे गरेका थिए । एक गैरसरकारी संस्थामा कार्यरत उनले प्रेम गरेर पीडितसँग बिहे गरेकामा उनीहरूका दुई सन्तानसमेत छन् । 

बहराइन लगेर महिला बेच्ने २० वर्षपछि पक्राउ

चन्द्रबहादुर राई

काठमाडाैं/ बीस वर्षअघि खाडी मुलुक बहराइन लगेर महिला बिक्री गर्ने खोटाङ केपिलासगडी गाप–४ का ५२ वर्षीय चन्द्रबहादुर राई पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनलाई २१ पुसमा काठमाडौंबाट पक्राउ गरेको हो । उनले धरानकी सरिना राई (परिवर्तित नाम)लाई ११ माघ ०५८ मा बहराइनस्थित अल हुब्बेल म्यानपावरका सञ्चालक अब्बस एआर अल्वारीलाई आठ सय दिनारमा बेचेका थिए । अब्बसले उनलाई पाँच सय दिनारमा बहराइनकै एक महिलाकहाँ बेचेका थिए । नेपाल फर्कने क्रममा अब्बसले उनलाई पुनः पाँच सय दिनारमा अर्को महिलाकहाँ बेचेका थिए । 

ब्युरो प्रमुख एसएसपी टेकबहादुर राईले बहराइन लगेर महिला बिक्री गर्ने धन्दामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ परेको बताए । ‘आकर्षक रोजारमा लगाइदिने भन्दै चन्द्रबहादुरले महिलाई बहराइन पुर्‍याएर बिक्री गरेछ । बहराइनस्थित मेनपावरले महिलालाई पुनः अर्को ठाउँमा बिक्री गरेछ । २० वर्षपछि धन्दामा संलग्न चन्द्रबहादुरलाई हामीले पक्राउ गरेका छौँ,’ उनले भने ।

५ साउन ०५९ मा नेपाल फर्किएकी उनले लगत्तै तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी दिएकी थिइन् । जिउ मास्ने बेच्ने कसुरमा दिइएको उनको जाहेरी लामो अवधि पेन्डिङ रहेको थियो । वर्ष दिनअघि मात्रै उनको जाहेरी ब्युरोमा हस्तान्तरण भएको थियो । त्यसलगत्तै अनुसन्धानमा खटिएका ब्युरोका टोलीले घटनामा संलग्न चन्द्रबहादुरलाई २० वर्षपछि पक्राउ गरेको हो । ‘२० वर्षअघि एक महिला बहराइनमा पटकपटक बेचिएकी रहिछन् । नेपाल फर्किएलगत्तै उनले प्रहरीमा जाहेरी पनि दिएकी रहिछन् । सोही केसमा हामी अनुसन्धान गर्दै थियौँ । घटनामा संलग्न अभियुक्तलाई हामीले गत पुसमा पक्राउ गर्‍यौँ,’ ब्युरो प्रमुख एसएसपी राईले भने ।

मेनपावरमा काम गर्दागर्दै मानव तस्करीमा
ब्युरोका अनुसार चन्द्रबहादुर बीस वर्षअघि नेपालस्थित मिडल इस्ट मेनपावरमा काम गर्थे । सोही क्रममा उनले सरिनालाई धरानमा भेटेका थिए । सरिना त्यसबेला धरानमै किनार पसल चलाउँथिन् । अस्पतालमा आकर्षक जागिर लगाइदिने भन्दै उनले सरिनालाई फकाएका थिए । सरिनाले गहना बेचेर बहराइन जाने खर्च जुटाएकी थिइन् । ११ माघ ०५८ मा त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलबाट बहराइन पुगेकी उनलाई अब्बसले बहराइनस्थित विमानस्थलबाट रिसिभ गरेका थिए । सँगै लिएर गएका अब्बसले सरिनालाई घरमा काम गर्न भन्दै बहराइनकै एक महिलाकहाँ पाँच सय दिनारमा बेचेका थिए ।

तर, उनलाई नेपालबाट अस्तालमा काम गर्न भन्दै बहराइन लगिएको थियो । भनेअनुसारको काम नपाएपछि सरिनाले घरेलु मजदुर बन्न इन्कार गरेकी थिइन् । त्यसक्रममा उनीमाथि कुटपिट र यौन शोषणका घटना भएका थिए । यातना सहन नसकेपछि सरिना पुनः अब्बसकहाँ पुगेकी थिइन् । तर, अब्बसले उनलाई उद्धार गर्नको सट्टा पाँच सय दिनारमा अर्को घरमा बेचेका थिए । 

अनुसन्धानमा संलग्न ब्युरोका प्रवक्ता एसपी राजेन्द्र धमलाले भने, ‘महिलालाई अस्पतालको काम दिने भनेर नेपालबाट लगिएको रहेछ । कमाइ पनि राम्रो हुने भनिएको रहेछ । तर, बहराइन पुग्दा उनलाई घरमा काम गर्न राखियो । महिलाले विरोध गरिन् । यसक्रममा यातना दिइयो । अब्बसकहाँ पुगेकी उनलाई पुनः अर्को ठाउँ बेचियो ।’ ब्युरोका अनुसार सरिना एक विदेशीको सहयोगमा नेपाल फर्कन सफल भएकी थिइन् । अब्बसबाट उद्धार नहुने देखिएपछि सरिनाले बहराइनस्थित एक विदेशीलाई पीडा सुनाएकी थिइन् । तिनै विदेशीले उनको पीडा साउदी अरबस्थित नेपाली दूतावासमा भनेका थिए । दूतावासले उनलाई कूटनीतिक पहलका आधारमा उद्धार गरी नेपाल पठाएको थियो ।