मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ १८ मंगलबार ०५:५४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२० मुलुकमा राजदूत नियुक्तिको तयारी

Read Time : > 1 मिनेट
२०७८ माघ १८ मंगलबार ०५:५४:००

यी हुन् राजदूत रिक्त रहेका २० देश
चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइन 

ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता गरेको ६ महिनापछि नियुक्तिको तयारी

केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका राजदूत फिर्ता गरेको ६ महिनापछि सरकारले २० मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि तयारी थालेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति सिफारिसबारे सोमबार बालुवाटारमा छलफल भएको हो ।

नेताहरूका अनुसार आ–आफ्नोतर्फबाट नाम दिन प्रधानमन्त्री देउवाले प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । राजनीतिक भागबन्डाका आधारमा १३ देखि १४ तथा परराष्ट्रबाट ६ देखि ७ जनाको सिफारिस हुनेछ । परराष्ट्र मन्त्रालयले भने कम्तीमा आठजना राजदूतका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत प्रधानमन्त्री देउवासँग दाबी गरेको सम्बद्ध स्रोतले बतायो । पराष्ट्र मन्त्रालयका सातजना सहसचिवहरूको नाम कात्तिक अन्तिम साता नै मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको स्रोतले बतायो । 

फिर्ता गरिएको तीन महिनापछि ११ कात्तिकमा सरकारले भारत, अमेरिका र बेलायतका लागि भने राजदूत सिफारिस गरिसकेको छ । बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् भने भारतका लागि सिफारिस डा. शंकर शर्मा र अमेरिकाका लागि सिफारिस श्रीधर खत्रीको एग्रिमो आउन बाँकी छ । सरकारले असोज पहिलो साता भारतबाट राजदूत नीलाम्बर आचार्य, अमेरिकाबाट डा. युवराज खतिवडा र बेलायतबाट लोकदर्शन  रेग्मीलाई फिर्ता बोलाएको थियो । 
कांग्रेसको कोटाबाट महत्वपूर्ण मुलुकहरू बेलायत, अमेरिका र भारतमा राजदूत सिफारिस भइसकेका कारण अब कांग्रेसले महत्वपूर्ण मुलुक पाउनेछैन । स्रोतका अनुसार चीन माओवादीको भागबन्डामा र जापान एकीकृत समाजवादीको भागबन्डामा पर्ने सम्भावना छ । जसपाले बंगलादेशका लागि राजदूत पाउने सम्भावना छ । स्रोतका अनुसार चीनका लागि माओवादी नेता लीलामणि पोखरेल, नेपाल–चीन सम्बन्धका अध्येता डा. रूपक सापकोटा तथा हालै माओवादीमा सक्रिय भएका चीनका लागि पूर्वराजदूत लीलामणि पौड्यालको नाम चर्चामा छ । माओवादी केन्द्रबाट सम्भावित राजदूतमा युवराज चौलागाईं, डा. ऋषि अधिकारीलगायत चर्चामा छन् । एकीकृत समाजवादीबाट डा. मिलनराज तुलाधर, प्रमेश हमाल, डा. केशव बस्याललगायतको नाम चर्चामा छ । 

परराष्ट्र मन्त्रालयबाट निर्मलराज काफ्ले, डोरनाथ अर्याल, हरिश्चन्द्र घिमिरे, भरतकुमार रेग्मी, कृष्णचन्द्र अर्याल, तीर्थराज वाग्ले र तेजबहादुर क्षेत्रीको नाम कात्तिक मसान्तमै प्रधानमन्त्री कार्यालयमा बुझाइएको स्रोतले बतायो । स्रोतका अनुसार बेलायतबाट फर्केका सहसचिव डा. दुर्गाबहादुर सुवेदी तथा बेल्जियमबाट फर्केका सहसचिव लोकबहादुर थापाले पनि परराष्ट्रमन्त्री डा. खड्कासँग पुनः राजदूतमा दाबी गरेका छन् । परराष्ट्रले मन्त्रालयमा बसेका, कूटनीतिक नियोगबाट फर्केर लामो समय मन्त्रालयमा काम गरेका तथा अवकाशको समेत आधार मानेर राजदूतहरूको नाम सिफारिस गरेको थियो । परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले राजदूतका लागि परराष्ट्रबाट नाम सिफारिस भइसकेको जानकारी दिइन् । ‘मन्त्रालयका तर्फबाट जिम्मेवारी पूरा गरिएको छ, राजनीतिक नेतृत्वबाट उपयुक्त समयमा निर्णय हुनेछ,’ लम्सालले भनिन् । 

विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । ३३ राजदूतमध्ये परराष्ट्र सेवाका १० जना कार्यरत छन् ।