मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १६ आइतबार १४:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणहिटी दरबार संग्रहालयभित्र महायज्ञ !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १६ आइतबार १४:५८:००

नारायणहिटी दरबारको पूजाघरभित्र महायज्ञ लगाउने तयारी गरिएको छ। तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’ गरेको दिन माघ १९ गतेदेखि महायज्ञ सुरु गर्न लागिएको हो।

महायज्ञ सञ्चालका लागि गत पुस २ गते आयोजक नमस्ते परोपकारी अभियान र सती श्राप मोक्ष धामले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएका थिए।मन्त्रालयका सविच महेश्वर न्यौपानेसहितको बैठकले महायक्ष सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोहीअनुसार महायज्ञका लागि ठाउँ उपलब्ध गराइएको नारायणहिटी दरबार संग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले जानकारी दिए।

‘मन्त्रालयको पत्रअनुसार हामीले महायज्ञ सञ्चालनका लागि अनुमति दिएका छौँ। आयोजकले ठाउँ उपलब्ध गराउन भन्दै हामीलाई पनि पत्र पठाएको थियो,’ प्रवक्ता गुरुङले भने। उनका अनुसार अमनचयन, सुव्यवस्था र देशलाई विभिन्न संकटबाट मुक्ति दिलाउन महायज्ञ आयोजना गर्न लागिएको आयोजकले बताएको छ।

महायज्ञका लागि सम्पूर्ण तयारी पूरा भइसकेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार देशलाई सतीले सरापेको भनिएकाले उक्त श्रापबाट मुक्ति दिलाउन पनि  ‘सती श्राप मुक्ति शिवशक्ति श्री महायज्ञ’ गर्न थालिएको हो। त्यस्तै दरबार हत्याकाण्डपछि दरबारमा पूजाआजा नभएकाले पनि महायज्ञ गर्न थालिएको जनाइएको छ।

‘हिजोको राजनीतिक इतिहाससँग माघ १९ जोडिएको छ, यो महत्वपूर्ण पनि छ। महायज्ञ गर्दा राष्ट्रकै भलो हुन्छ र हिजोको पाप पखालिन्छ भन्ने हामीले आशा लिएका छौँ,’ संयोजक कुँवरले भने। उनका अनुसार २९ गतेसम्म चल्ने महायज्ञमा २१ जना पुरोहितले होम गर्ने र देशमा शान्ति स्थापनका लागि आह्वान गर्नेछन्।