मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक भट्ट
२०७५ फाल्गुण २४ शुक्रबार ०६:३९:००
Read Time : > 1 मिनेट
समाचार

अलैँचीले बजार  नपाएपछि किसान मारमा

Read Time : > 1 मिनेट
दीपक भट्ट
२०७५ फाल्गुण २४ शुक्रबार ०६:३९:००

रामेछापको उच्च लेकाली भूभागका किसानले लगाएको अलैँचीले यस वर्ष भाउ नपाउँदा किसानले गुन्द्रुकको भाउँमा अलैँची बिक्री वितरण गर्नुपरेको गुनासो गरे । विगत वर्षमा प्रतिकेजी २ हजार ६ सय रुपैयाँसम्म गाउँमै बिक्री गरेका किसानले यस वर्ष प्रतिकेजी ६ सय रुपैयाँमा पनि बिक्री नभएपछि अलैँची खेतीप्रति आकर्षित भएका किसान मारमा परेका हुन् । विशेष गरी अलैँची खेती रामेछापको उच्च भूभागअन्तर्गत उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ती, कुभुकास्थली, प्रीति, भुजी, गुप्तेश्वरलगायत स्थानमा बढी लगाइन्छ । 

गत वर्षको अनुपातमा यस वर्ष अलैँची उत्पादन पनि कम भएको छ । गत वर्ष केही समय खडेरी परेर बिरुवा सप्रन पाएपछि उत्पादन बढेको थियो भने यस वर्ष बढी झरी परेका कारण अलैँची उत्पादनमा कमी आएको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीका किसान बालकुमार कार्कीले बताए । 

उनले भने, ‘विगत वर्षभन्दा यस वर्ष उत्पादनमा धेरै कमी आयो ।’ उत्पान घटे पनि अहिले अलैँची कौडीको भाउँमा बिक्री गर्नुपर्ने अवस्था आएको छ । अलैँची अहिले प्रतिकेजी ६ सय रुपैयाँमा पनि बिक्री हुन छाडेपछि गाउँका धेरै किसान मारमा परेका छन् । घरमा अहिले १० टनभन्दा बढी अलैँची बिक्री नभई त्यतिकै बाँकी रहेको दुःखेसो किसान कार्कीले जानकारी दिए । 

रामेछापको उत्तरी क्षेत्रमा विशेष गरी ग्लोसाई, रामशाही र चिवेशाही गरी तीन प्रजातिका अलैँचीका बिरुवा लगाइन्छ । लेकाली भूभागमा वर्षामा बढी पानी पर्ने र हिउँदमा बढी हिमपातसहित तुषारो पर्ने गरेकाले पनि अलैँची खेती लगाउने किसानको आम्दानी मौसमअनुसार घटबड हुने गरेको कुबुस्काथलीका अर्का किसान भरतकुमार बस्नेतले जानकारी दिए । 

सुरुमा अलैँची उत्पादन गर्ने किसानको घरघरमै खरिद गर्न आउने व्यवसायी अहिले अलैँचीको मूल्य घटेसँगै खरिद गर्न आउन छाडेका छन् । पहिला त गाउँघरमै प्रतिकेजी २ हजार ६ सय रुपैयाँसम्म पनि बिक्री हुन्थ्यो । अलैँची छ भन्ने थाहा पाएपछि धेरै व्यवसायी आउँथे । तर, यस वर्ष अलैँची उत्पादन कमी हुँदा पनि गाउँमा बिक्री ठप्प हुँदा अलैँची किसान थप मारमा परेको उमाकुण्ड गाउँपालिका–२ बाम्तीका रोकट बस्नेतले जानकारी दिए । 

उनले भने, ‘पहिला अलैँची खरिद गर्न झापा, विराटनगर, वीरगन्ज र काठमाौंका विभिन्न व्यवसायी गाउँमै आउँथे । तर अहिले त्यस्तो छैन । गाउँकै केही व्यक्तिले गाउँका किसानको घरघरमा पुगेर संकलन गर्ने गरेका छन् तर त्यो पनि बिक्री हुन सकेको छैन ।’