१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव
२०७५ पौष ६ शुक्रबार ११:१६:००
Read Time : > 1 मिनेट
प्रदेश

कलिला बालबालिका चिसोको मारमा

डेस्क–बेन्च अभावमा बालबालिका भुइँमै बसेर पढ्न बाध्य

Read Time : > 1 मिनेट
तिवारी यादव
२०७५ पौष ६ शुक्रबार ११:१६:००

केही दिनदेखि बढेको चिसो र शीतलहरले यहाँका बालबालिका प्रभावित भएका छन् । ग्रामीण क्षेत्रका दर्जनौँ प्राथमिक विद्यालयमा डेस्क–बेन्चसमेत नहुँदा कलिला बालबालिका चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।

अधिकांश विद्यालयमा विद्यार्थी घाम लागे चौरमा र नलागे कक्षाकोठाभित्रै बोरा ओछ्याएर पढ्दै आएको खेश्रहाका अभिभावक रामअयोध्याप्रसाद चौहानले बताए । उनले भने, ‘सरकारी निकाय तथा स्थानीय तहका जनप्रतिनिधिको बेवास्ताले सामुदायिक विद्यालयको भौतिक संरचना नाजुक छ । जसका कारण कलिला बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य भइरहेका छन् ।’ 

सावधानी अपनाउन चिकित्सकको सल्लाह
चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । कतिपयमा विभिन्न स्वास्थ्य समस्यासमेत देखिन थालेको छ । त्यसैले चिकित्सकहरूले सावधानी अपनाउन सल्लाह दिएका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले चिसोका कारण बालबालिकामा श्वास–प्रश्वास, रुघाखोकी, दम तथा ज्वरोलगायत समस्या बढेको बताए । ‘चिसो सुरु भएकाले भुइँमा बसेर पढ्ने विद्यार्थीले विशेष सावधानी अपनाउनुपर्छ,’ डा. हकले भने, ‘त्यसो हुन सकेन भने चिसोले बालबालिकालाई बढी नै असर गर्छ । त्यसैले बालबालिकालाई न्यानो कपडा लगाएर मात्र विद्यालय पठाउनुपर्छ ।’

दर्जनभन्दा बढी विद्यालयमा छैन डेस्क–बेन्च
पर्साको कालिकामाई गाउँपालिकाको भेडिहारी, मुडली, हरिहरपुर, पकहामैनपुरको श्यामपुर भेलहा, धोबियाटोला, मैनपुर, लहावरथकरी, जगरनाथपुर गाउँपालिकाको लक्ष्मीपुर, धोबिनी गाउँपालिकाको भिखमपुर, बखरीलगायत दर्जनभन्दा बढी प्राथमिक विद्यालयमा डेक्स–बेन्च छैन । त्यसैले कठ्यांग्रिने चिसोमा पनि यहाँका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । 

विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकामा बारम्बार जानकारी गराउँदासमेत सुनुवाइ नभएको श्यामपुर भेलहा प्राथमिक विद्यालयकी प्रधानाध्यापक अनिता साहले गुनासो गरिन् । ‘शीतलहरसँगै चिसो बढेको छ । चिसो भुइँमै बसेर पढ्नुपर्दा बालबालिकामा चिसोको असर देखिन थालेको छ,’ साहले भनिन्, ‘तैपनि जनप्रतिनिधिले खासै चासो देखाएका छैनन् ।’

कठ्यांग्रिएर दुईजनाको मृत्यु
जाडोले महोत्तरीमा दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर छन् । 

जाडोले बेहोस भएका ठाकुरको बिहीबार उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । कापरको भने बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताए । जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्रले उनको परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरेका छन् । जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावा चल्ने गरेकाले जाडो निकै बढेको छ ।