१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ माघ १३ बिहीबार ०८:२१:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाको तेस्रो लहर : संक्रमितको अस्पताल बसाइ पनि कम

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ माघ १३ बिहीबार ०८:२१:००

चिकित्सकहरू भन्छन्– ओमिक्रोन संक्रमितमा लक्षण देखिन छाडे पनि दुई–तीन सातासम्म रिपोर्ट भने पजिटिभ नै देखिन्छ

उच्च ज्वरो र छाती दुखाइपछि २८ वर्षीया सविना थापा ३ माघमा त्रिवि शिक्षण अस्पताल भर्ना भइन् । संक्रमणपछि लगातारको सुक्खा खोकी तथा घाँटी र टाउको दुखाइका कारण उनी अस्पताल पुगेकी थिइन् । दोस्रो लहरका वेला कोरोनाकै कारण निमोनिया भएर आइसियूमा राखिएकी उनलाई यसपालि पनि चिकित्सकले भर्ना गरिदिए । त्यतिवेला १५ दिन अस्पताल बसेकी उनलाई यसपटक पाँच दिनमै लक्षणहरू हराएर निको भएपछि चिकित्सकले ७ माघमा डिस्चार्ज गरिदिए । 

डा. नीरज बम त्रिवि शिक्षण अस्पताल

विगतमा भर्ना हुने अधिकांश संक्रमितलाई कम्तीमा आठ दिनसम्म अस्पतालमा राख्नुपर्ने अवस्था थियो । अहिले दीर्घरोग भएकामा केही दिन बढी अस्पतालमा राख्नुपरे पनि अन्य बिरामी चारदेखि सात दिनभित्र निको भएका छन् । दैनिक संक्रमणको आधारमा अस्पताल भर्ना हुनेको चाप पनि तुलनात्मक रूपमा निकै कम छ ।

नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएपछि सुरु तेस्रो लहरमा दीर्घरोगीबाहेक संक्रमितको अस्पताल बसाइ विगतको तुलनामा कम रहेको त्रिवि शिक्षण अस्पतालका डा. नीरज बम बताउँछन् । ‘विगतमा भर्ना हुने अधिकांश संक्रमितलाई कम्तीमा आठ दिनसम्म अस्पतालमा राख्नुपर्ने अवस्था थियो । अहिले दीर्घरोग भएकामा केही दिन बढी अस्पतालमा राख्नुपरे पनि अन्य बिरामी चारदेखि सात दिनभित्र निको भएका छन् । दैनिक संक्रमणको आधारमा अस्पताल भर्ना हुनेको चाप पनि तुलनात्मक रूपमा निकै कम छ,’ उनले भने । सीमित नमुनामा गरेको जिन सिक्वेन्सिङका आधारमा सरकारले तेस्रो लहरमा संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोनबाट प्रभावित भएको बताएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९० हजार ६७ सक्रिय संक्रमित हुँदा अस्पतालमा एक हजार आठ सय १९ जना मात्र छन् । यो दर २.२ प्रतिशत मात्रै हो । लक्षणसहित संक्रमितहरूमा पनि कम समयमै संक्रमण निको भएकाले आइसोलेसन अवधिसमेत घटाइएको छ । सरकारले कर्मचारीका लागि सात दिन आइसोलेसन बिदा दिएको छ । स्वास्थ्यकर्मीहरू त पाँच दिनमै काममा फर्किरहेका छन् । 

विश्वमै यो ट्रेन्ड छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइसोलेसन अवधि पाँच दिन मात्रै तोकेको छ । विश्वभर बढ्दो ओमिक्रोनको प्रभुत्वपछि जारी गरेको कोभिड गाइडलाइनले लक्षण देखिरहेमा बढीमा सात दिनसम्म आइसोलेसनमा बस्ने सकिने जनाएको छ । ओमिक्रोन गम्भीर नभएकाले लक्षण निको भए संक्रमण पुष्टि भएको सात दिनपछि काममा फर्किन मिल्ने विश्व स्वास्थ्य संगठनले नै जनाएको छ । 

ओमिक्रोन संक्रमितमा लक्षण देखिन छाडे पनि दुई–तीन सातासम्म रिपोर्ट भने पजिटिभ नै देखिने गरेको छ । यसकै कारण नयाँ संक्रमितको तुलनामा निको हुने संख्या आधाभन्दा कम रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् । 

बुधबार नेपालमा संक्रमणदर ४१.४ प्रतिशत देखिएको छ । देशभर २० हजार तीन सय ५९ नमुना परीक्षण गर्दा आठ हजार चार सय ५४ मा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा पाँच संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार चार सय ३३ जना निको भएका छन् । 

लामो समयसम्म संक्रमणबारे अझै अन्योल 
डेल्टा भेरियन्टले ‘लङ कोभिड’ अर्थात् दुई महिनासम्म अस्पताल बस्नुपर्ने केसहरू बढाएको थियो । विश्व स्वास्थ्य संगठनले १० देखि ३० प्रतिशतमा संक्रमणको असर निकै लामो समयसम्म रहने देखाएको थियो । तर, ओमिक्रोन भेरियन्टमा अहिले नै ‘लङ कोभिड’बारे स्पष्ट भन्न नसकिने विज्ञहरूले बताएका छन् । अमेरिकी वरिष्ठ वैज्ञानिक डा. एन्थोनी फौसीले भनेका छन्, ‘सामान्य लक्षणहरू निको भए पनि कमजोरीपन लामो समयसम्म रहेको पाइएको छ । कतिपयमा लक्षण निको भएको दुई हप्तासम्म पजिटिभ नै रिपोर्ट आएको छ । त्यसैले ओमिक्रोन संक्रमणमा ‘लङ कोभिड’बारे तत्काल स्पष्ट धारणा बनाउन सकिँदैन ।’ 

ओमिक्रोनका लागि बेग्लै खोप ट्रायलको तयारी
संक्रमण दर उच्च रहेको ओमिक्रोन भेरियन्टका लागि बेग्लै खोपको ट्रायलको तयारी भएको फाइजर, मोडर्ना र एस्ट्राजेनेका खोप निर्माण कम्पनीले जनाएका छन् । फाइजर बायोटेक कम्पनीले अमेरिकामा १४ सय वयस्कमा ट्रायल गर्ने जनाएको छ । फाइजरका भ्याक्सिन अनुसन्धान र विकास प्रमुख डा. क्याथ्रिन यु जेन्सेनले भनेका छन्, ‘भाइरसविरुद्ध सतर्क रहन हामीले मानिसका लागि उच्च स्तरको सुरक्षा कायम गर्न नयाँ दृष्टिकोणहरू पहिचान गर्न आवश्यक छ र हामी विश्वास गर्छौँ कि यो लक्ष्यतर्फ हाम्रो प्रयासहरू सफल हुनेछन् ।’ यसबाहेक मोडर्ना र अक्सफोर्ड विश्वविद्यालयले समेत खोपमा अध्ययन तीव्र पारिएको जनाएका छन् । बुस्टर डोज सबैखाले भेरियन्टमा प्रभावकारी देखिए पनि संक्रमणदर भने बढ्दो छ ।