मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैँडा मृत्यु प्रकरण : सरकारले गठन गर्‍यो पाँच सदस्यीय छानबिन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार १६:१६:००

सडक विस्तारका क्रममा खनेर छाडिएको खाल्डोमा परेर गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले छानबिन समिति गठन गरेको छ । वनमन्त्री  रामसहायप्रसाद यादवले वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । 

समितिमा वन मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल छन् । समितिलाई घटनाको स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनको समयसीमा दिइएको छ  । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालामा फसेर गत आइतबार १२ वर्षको भाले गैँडा मरेको थियो । सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नुपर्छ । तर, सो सडकको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भए–नभएको र गैँडाको मृत्यु हुने गरी भएको लापरबाहीको जिम्मेवार पनि खुलाउन छानबिन समितिलाई भनिएको छ । 

छानबिन समितिका संयोजक केसीले बुधबारबाट घटनाको छानबिन सुरु हुने बताए । ‘प्रारम्भिक विवरण काठमाडौंबाटै लिन्छौँ, पर्सिसम्म चितवन जाने कार्यक्रम छ,’ उनले भने ।